आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

चौध करोड लागतमा मनाङमा पुल बन्दै


  • आक्रमण न्युज
  • २०८१ माघ १२, शनिबार मा प्रकाशित १ साल अघि
  • १९८ पाठक संख्या
  • माघ १२, २०८१
    मनाङ । जिल्लाको माथिल्लो क्षेत्रमा पछिल्लो समय पूर्वाधार विकासले प्राथमिकता पाउन थालेको छ । ङिस्याङ गाउँपालिका–५ भ्राकास्थित धार्मिक एवं पर्यटकीय स्थान मिलेरेप्पा गुफासम्म जाने खण्डअन्तर्गत भ्राका नजिकै रहेको मर्स्याङ्दी नदीमाथि मोटरेबल पुल निर्माण गरिने भएको हो ।
    सहरी विकास मन्त्रालयले मोटरेबल पुल निमार्णका लागि रु १४ करोड ४९ लाख ४६ हजार बजेट विनियोजन गरेसँगै पुल निर्माण प्रक्रिया अघि बढ्ने सुनिश्चित भएको जिल्लास्थित पर्यटन व्यवसायी समितिका अध्यक्ष विनोद गुरुङले बताउनुभयो ।
    उहाँका अनुसार यसअघि सांसद टेकबहादुर गुरुङको समन्वयमा ङिस्याङ–५ को मुङजेबाट मिलेरेप्पा गुफासम्म जाने पाँच मिटर चौडाइ र करिब दुई हजार आठ सय मिटर लम्बाइको मोटर बाटोको ट्रयाक खोलिएको थियो ।
    ट्रयाक खोल्ने काम सम्पन्न भएपछि आवागमन सहज बनाउने उद्देश्यले मर्स्याङ्दी नदीमाथि मोटरेबल पुल आवश्यक भएको भन्दै उक्त स्थानमा ५० मिटर लम्बाइ र सात मिटर चौडाइको पुल निमार्णका लागि डिजाइन गरिएको जानकारी दिनुभयो ।
    चालु आर्थिक वर्षमा मुङजेबाट मिलेरेप्पा गुफासम्म जाने सडक स्तरोन्नतिसहित मोटरेबल पुल निमार्णका लागि सहरी विकास मन्त्रालयले बहुवर्षीय योजनामा समावेश गरी रु १४ करोड ४९ लाख ४६ हजार बजेट विनियोजन गरेको छ ।
    आर्थिक वर्ष २०८१र८२ का लागि रु दुई करोड ५० लाख, आव २०८२र८३ का लागि रु सात करोड २४ लाख ७३ हजार र आव २०८३र८४ का लागि रु चार करोड ७४ लाख ७३ हजार बजेट विनियोजन भएको ङिस्याङ गाउँपालिका कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विनियोजित बजेटअन्तर्गत सहरी विकास मन्त्रालयले पहिले तयार गरेको नक्सालाई परिमार्जन गरी निर्माण सुरु गरिने छ ।
    आगामी तीन वर्षभित्र पुल निर्माण सम्पन्न हुनेछ । यहाँ मोटरेबल पुल निर्माण भएपछि मिलेरेप्पा गुम्बासहित अन्य धार्मिक पर्यटकीयस्थलको प्रचारप्रसार हुनुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीयको विश्वास छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑