आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

प्राविधिक शिक्षामा लगानी बढाउन सभामुख घिमिरेको आग्रह


  • आक्रमण न्युज
  • २०८१ माघ १७, बिहिबार मा प्रकाशित १ साल अघि
  • ३८९ पाठक संख्या
  • माघ १७, २०८१
    झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भौतिक संरचनालाई मात्र विकास ठान्ने परिपाटीको अन्त्य गर्दै प्राविधिक शिक्षामा लगानी बढाउन स्थानीय सरकारलाई आग्रह गर्नुभएको छ ।
    विर्तामोड नगरपालिकाको दोस्रो नगरसभाको छैटौँ अधिवेशनको उद्घाटन गर्दै आज उहाँले सैद्धान्तिक शिक्षासँगै व्यावहारिक र प्राविधिक शिक्षा मुलुकको आवश्यकता रहेको बताउनुभयो ।
    “अब सैद्धान्तिक शिक्षाले मात्र दक्ष जनशक्ति उत्पादन गर्न सकिँदैन,” उहाँले भन्नुभयो, “प्रविधिको युग सुरु भएको छ, शिक्षालाई प्रभावकारी बनाउन स्थानीय तहले प्राविधिक शिक्षालयको स्थापना गर्न पहल गर्नुपर्छ ।”
    मुलुकमा सङ्घीय प्रणाली स्थापनापछि तीन तहको सरकार रहने व्यवस्था भएको उल्लेख गर्दै सभामुख घिमिरेले गुरुयोजना निर्माण गरेर मात्र विकास निर्माण अघि बढाउन सुझाव दिनुभयो ।
    उहाँले शिक्षाको विकासका लागि केन्द्रको मुख ताक्ने प्रवृत्ति रहेको चर्चा गर्दै स्थानीय सरकारले आफ्नै बजेट प्रयोग गरेर असल अभ्यासको नमुना प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।
    असल सिर्जना र श्रममा आधारित प्राविधिक शिक्षाको अभावमा मुलुकको ठूलो जनशक्ति नकारात्मक प्रवृत्तिको लहैलहैमा लागिरहेको जनाउँदै उहाँले अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने थलो मात्र बनिरहेको बताउनुभयो ।
    स्थानीय तहलाई आफ्नो क्षेत्रमा राम्रो प्राविधिक र सांस्कृतिक विद्यालय सञ्चालन गर्न संविधान र कानुनले नरोकेको उल्लेख गर्दै सभामुख घिमिरेले शिक्षालाई रोजगारमुखी, संस्कारयुक्त र देशका लागि चिन्तन गर्ने जनशक्ति उत्पादन गर्ने विकासको प्रमुख आधारशिलाको रुपमा ग्रहण गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट