आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

गिरिजा : मानव कित्तामा उभिएका धुन्धुकारी पात्र


  • आक्रमण न्युज
  • २०८१ माघ २३, बुधबार मा प्रकाशित १ साल अघि
  • ५६९ पाठक संख्या
  • माघ २३, २०८१

    एउटै ब्यक्ति संसार बदल्न पर्याप्त हुन्छन्, यद्यपि संसार बदल्ने ब्यक्तिको सङ्ख्या आज पनि हातका औंलामा गन्न सकिन्छ । सकारात्मक परिवर्तन ल्याउन एउटा योग्य ब्यक्ति पर्याप्त हुन सक्छन् र, बर्बाद गर्न पनि एउटै ब्यक्ति यथेष्ट हुन्छन् ! आजको समृद्ध चीन देङ सियाओ पिङ एक्लैको समर्पण र योगदानको परिणाम हो, अर्को छिमेकी मित्रराष्ट्र भारत पनि बदलिँदै छ र, त्यहाँ एउटै ब्यक्ति नरेन्द्र मोदीको सार्थक प्रयासले परिणाम हाशील गरिरहेको छ । भ्रष्टिकरणको खतरा बढ्न थालेका बेला एउटै सी जिन पिङ चीनलाई ट्र्याकमा राख्ने प्रमुख कारण बनेका छन् । लेनिनको चातुर्य सोभियत क्रान्तिको निर्णायक कारण बनेको थियो भने एउटा ब्यक्ति रासपुटिन विश्वसम्राट जारशाही अन्त्यको मुख्य कारण बनेका थिए । पार्क चुङ हीको एकल प्रयासमा दक्षिण कोरियाले आफ्नो रूप बदलेको हामी सबैलाई थाहा छ, एउटा ब्यक्ति ली क्वान यु र महाथीर मोहम्मद आ-आफ्नो देश (सिङ्गापुर र मलेशिया) बनाउन कसरी सफल भए त्यसको तथ्य विश्वइतिहासमा अङ्कित छ । र, एउटै ब्यक्तिका कारण देश बर्बाद भएका पनि अनेक दृष्टान्त छन् । रोबर्ट मुगाबे एक्लै जिम्बाबेको बर्बादीका कारण बनेका हुन्, युगाण्डाको बर्बादीमा एक्लो इदी अमिनको हात थियो । एक्लै मिखाइल गोर्बाचोभ सोभियत सङ्घ जस्तो शक्तिशाली देश विघटनको कारण बनेका थिए र, युक्रेनले यो समयमा जुन नियति भोग्दैछ त्यो पनि त्यही एउटा उरण्ठेउलो केटो जिलेन्स्कीकै अल्पबुद्धि, चरम महत्वाकाङ्क्षा र अपरिपक्वताका कारणबाट हो भन्नुपर्ने सहस्र प्रमाण छन् ।
    जवाहरलाल नेहरू र जिन्नाको ब्यक्तिगत महत्वाकाङ्क्षाका कारण भारत टुक्रिएर अन्ततः तीन मुलुक (पाकिस्तान, बङ्लादेश र भारत) बनेको यही शताब्दीभित्रै हो । एउटा ब्यक्ति मोहम्मद सरदार दाउदको महत्वाकाङ्क्षाको परिणामका रूपमा अफगानिस्तानले झण्डै आधा शताब्दीदेखि सास्ती ब्यहोर्दैछ । एउटै बिस्मार्क आजको जर्मनीको सानको उद्गम हुन् भने एक्लो नेपोलियन वर्तमान फ्रान्सका निर्माता हुन् । एउटा ब्यक्ति (पृथ्वीनारायण शाह)को इच्छा, योजना र प्रणको परिणाम आजको नेपाल हो र, दश वर्षमात्र समय पाउँदा एउटा ब्यक्तिले कतिसम्म गर्न सक्छन् भन्ने नेपाली इतिहासमा पुष्टि गर्ने एकमात्र राजा महेन्द्र नै हुन् । त्यसो त जङ्गबहादुर राणा र देवशमशेरले आफ्नो समयमा पुऱ्याएको राष्ट्रिय योगदानलाई पनि भुल्न सकिँदैन । र, एउटै ब्यक्तिको चरम महत्वाकाङ्क्षाको परिणामका रूपमा नेपालले वर्तमानमा बर्बादी ब्यहोरिरहेको महसूस हामीले गरिरहेका छौँ ।
    इन्दिराले गिरिजालाई प्रयोग गरेर भीषण षड्यन्त्र गर्दै गरेको चाल पाएपछि बीपीले बलजफ्ती गिरिजालाई लिएर २०३३ सालमा नेपाल फर्किएका थिए । यिनै गिरिजाले बीपीको अवसानपश्चात् सत्ताको निम्ति राजासँग गुप्त सम्झौता गर्ने अग्रसरता लिएका थिए भने आफ्नो सत्ता राजाका कारण सङ्कटमा परेपछि माओवादी नामको गम्भीर रहस्यमयी जत्थासँग खुसुक्क सम्झौता गरेर देशलाई आजको सङ्कटग्रस्त अवस्थामा पुऱ्याउने काम पनि यिनैले गरेका हुन् । राजा त्रिभुवन लुसुक्क भारततिर भागेपछि तिनले दिल्लीमा गर्नसक्ने अवान्छित सम्झौताको वैधतालाई रोक्न एक्ला मोहन शमशेरले बुद्धि नपुऱ्याएको भए नेपालको अस्तित्व विसर्जन हुन सम्भव थियो भन्ने धेरैको जानकारीमा नहुन सक्छ । कास्मिरका राजा हरि सिंहको झैँ नेपालका राजा त्रिभुवनको हस्ताक्षर चल्नसक्ने सम्भावनालाई दृष्टिगत गरी मोहन शमशेरले रातारात ज्ञानेन्द्रलाई राजा घोषित गरेर प्रमाणका निम्ति सिक्कासमेत जारी नगरेका भए दिल्लीसम्झौता प्रजातन्त्रका नाममा होइन राष्ट्रियताकै नाममा हुनसक्थ्यो भन्ने बुझ्न नेपालीलाई अझै समय लाग्न सक्छ ।
    नेपालीले आफ्नै नेतृत्वमा देश रचेको र सञ्चालन पनि आफैले गर्दै आएको हो । तत्कालीन बृटीष(भारत र चीन/तिब्बतसँग पटक-पटक युद्ध लडेर जितेको पनि आफ्नै क्षमतामा हो, तर त्रिभुवन समेत भएर दिल्लीमा भएको सम्झौतापश्चात् नेपालको मन्त्रिपरिषदमा सिधै विदेशी प्रतिनिधित्व हुने ब्यवस्था गरिनुले मोहन शमशेरको एक्लो प्रयास नेपालको अस्तित्व जोगाउन सफल रहेको मान्न सकिन्छ । नेपालको इतिहासकै सन्दर्भ केलाउने हो भने प्रताप सिंह जस्ता कमजोर, रणबहादुर जस्ता सन्काहा, राजेन्द्र र वीरेन्द्र जस्ता पत्नीदास, पृथ्वी वीरविक्रम जस्ता आवारा, सुरेन्द्रजस्ता विक्षिप्त, त्रिभुवन जस्ता लम्पट, ज्ञानेन्द्रजस्ता जडसूत्रवादी राजा नभइदिएका भए मुलुकले कस्तो दिशा र गति लिने थियो होला भन्ने जिज्ञासा हामी सबै नेपालीमा रहने नै भयो ।
    बीपी कोइराला प्रजातन्त्र र प्रजातान्त्रिक प्रणालीप्रति प्रतिबद्ध थिए, जबसम्म उनले प्रजातन्त्र मात्रलाई केन्द्रबिन्दुमा राखेका थिए तबसम्म बीपीबाट गल्ती हुँदै आएको देखिन्छ । जब बीपीले प्रजातन्त्र सङ्गै राष्ट्रियतालाई पनि हृदयङ्गम गर्न थाले त्यसपछि बीपीबाट हुने गल्तीमा न्यूनता आयो । सिक्किम बिलयपश्चात नेपाली राष्ट्रियताको चिन्ताले बीपी राष्ट्रिय मेलमिलापको नारासहित नेपाल फर्कन लाग्दा भारतमा उनले ब्यहोर्नुपरेको एउटा घटनाले पनि राजनीतिमा ब्यक्तिको भूमिकाले कति निर्णायक प्रभाव पार्नसक्छ भन्ने स्पष्ट गर्दछ । बीपी नेपाल फर्कन लागेको सूचना इन्दिरा गान्धीले पाएपछि उनले बीपीलाई आफ्नो च्याम्बरमा आमन्त्रण गरेर नेपाल नजान आग्रह गर्दै प्रजातन्त्रसहित नेपाल जाँदा मात्र राम्रो हुने सुझाव दिएकी थिइन् । इन्दिराको भनाइ थियो– ‘तपाईं नेपालको रक्षा र परराष्ट्र मामिला भारतले हेर्ने प्रस्तावमा सहमत भइदिनुहोस्, चार दिनमै पञ्चायत ढालेर प्रजातन्त्र स्थापना गरिदिनेछौँ ।’ इन्दिराको यस्तो प्रस्ताव सुन्नेबित्तिकै बीपी बसेको सोफाबाट जुरुक्कै उठे र बाहिर निस्कँदै जवाफ दिए( ‘बरु राजाकै हातबाट मरौँला, जेल यातना भोगौँला, तर तपाईंको प्रस्तावमा सहमत हुन सकिँदैन ।’
    यसरी बीपीले आफ्नो प्रस्ताव अस्वीकार गरेपछि इन्दिराले सोही प्रस्ताव गिरिजाप्रसाद कोइरालालाई सुटुक्क बोलाएर राखेकोमा गिरिजाप्रसादले खुशीसाथ स्वीकार गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑