
माघ २९, २०८१
गण्डकी । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले पोखरास्थित सङ्घ सरकार मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा प्रसूति सेवा लिने महिलालाई पोसिलो खाना र खाजाका लागि सहायता प्रदान गर्दै आएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले नवजात शिशुका आमाहरूको स्वास्थ्य अवस्थालाई दृष्टिगत गरी यस वर्ष रू ४० लाख उपलब्ध गराइएको जानकारी दिनुभयो ।
“विशेष कार्यक्रमअन्तर्गत उक्त सहयोग उपलब्ध गराइएको हो, आगामी वर्षको बजेटमा पनि यसल प्राथमिकता पाउँछ”, उहाँले भन्नुभयो, “अनुगमनका गर्दा कार्यक्रम प्रभावकारी भएको पाइएको छ, सुत्केरी आमाहरू सन्तुष्ट हुनुहुन्छ ।” उहाँले स्वास्थ्य क्षेत्रका समस्या तीनै तहका सरकारको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो । सङ्घ सरकारअन्तर्गतको अस्पताल भए पनि प्रदेशवासीले लाभ लिने हुँदा त्यसमा लगानी गर्नु प्रदेश सरकारको पनि दायित्व हुने महानिर्देशक खड्काको भनाइ छ ।
नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा सङ्घ, प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्र भनेर कोही पनि खुम्चेर बस्न नहुने उहाँले बताउनुभयो । स्वास्थ्य मन्त्रालयले विगत तीन वर्षदेखि सुत्केरी आमाहरूका लागि पोषिलो खाना र खाजाका प्रबन्धका लागि उक्त सहयोग गर्दै आएको छ । “प्रदेशमै सबैभन्दा धेरै सुत्केरी हुने अस्पताल भएको र नवजात शिशुका आमाहरूलाई पोसिलो आहारको समस्या देखेपछि हामीले विशेष निर्णय गरेर उक्त सहयोग दिन सुरू गरेका हौँ”, महानिर्देशक खड्काले भन्नुभयो ।
मन्त्रालयका अनुसार वार्षिक झण्डै नौ हजार शिशुले उक्त अस्पतालमा जन्म लिने गर्छन् । गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरी मन्त्रालले अन्य कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । विद्युतीय प्रणालीबाट गर्भवती आमा र शिशुको स्वास्थ्य अनुगमन गर्ने गरिएको छ । स्थानीय तहको साझेदारीमा पूर्वप्रसूति र उत्तर प्रसूति सेवाका लागि घरघरमा स्वास्थ्यकर्मी सेवा कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।
जोखिममा परेका गर्भवती र सुत्केरी महिलाई हवाई उद्धारका लागि कार्यविधि बनाएर कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ । गर्भवती महिलाका लागि ग्रामिण अल्ट्रासाउण्ड सेवालाई स्थानीय तहको समन्वयमा थप विस्तार गरिएको छ । हालै बागलुङको गलकोट नगर अस्पतालमा आकस्मिक प्रसूति तथा नवजात शिशु सेवा सुरू गरिएको निर्देशनालयका महानिर्देशक खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस