
नेपालको पद्धति, निति, गतिविधि ठिक छैन, यहाँ बसेर केही हुदैन । श्रम, सिप, चेतना र ज्ञान भएका हाम्रा नागरिकहरुमा त्यस प्रकारको भाष्य चलिरहेको छ । यस्ता कुराले प्रजातन्त्रलाई शोभनिय बनाउँदैन । पछिल्लो समय नागरिक तहमा बढ्दै गएको निराशा प्रति चित्रण गर्नुपर्ने बेला भएको छ ।
प्रजातन्त्र आशा जगाउने प्रणाली हुनु पर्दछ, जनताको भरोशा बढाउने प्रणाली हुनुपर्छ । प्रजातन्त्र फल्दैफुल्दै जाँदा हामी सवैको भाग्य र भविष्य चम्कन्छ भन्ने भावना जागरुक हुनुपर्दछ । तर, तीन दशक यताको हाम्रो स्थिति यस्तो छैन । गणतन्त्रकालमा देशको इतिहाँस र अस्तित्व मेटिदै गएको, नेपाली जनशक्ति विदेश पलायन भएको, प्रत्येक नेपालीको थाप्लोमा एक लाख ऋणभार रहेको, औद्योगिक, शैक्षिक अवस्था सिर्जना हुनु प्रजातन्त्रका लागि शोभनिय विषय नभएको आरोप लगाउनु पर्ने हुन्छ । जनताको भलो होस् भनेर आफ्नो ओहदा र सुख सुविधा त्याग गर्नु महान कुरा हो, त्यागले कसैको कद सानो हुने होईन । त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नु हुँदैन र कतै कुनैपनि पक्ष विपक्ष नगरी सवैलाई समेटेर जाने अभिलाषा राख्नु त्यागको अर्थ र आशय हो ।
यसै परिप्रेक्षमा प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा राजा ज्ञानेन्द्र शाहले दिनुभएको शुभकामना सन्देशमा अव नेपालको उन्नतिका लागि आफुले के–के त्याग गर्नुपर्ने हो सो गर्न तयार रहेको बताउँदै राष्ट्र जोगाएर राष्ट्रियता कायम राख्न देशवासीका नाममा आह्वान गर्नुलाई स्वागत र समर्थन गर्नै पर्दछ । राजा ज्ञानेन्द्र शाहले ७५ औँ प्रजातन्त्र दिवसको अवसरमा जारी शुभकामना सन्देशलाई लिएर पक्ष विपक्षमा धेरै प्रतिक्रियाहरु आएका छन भने राजावादीहरु निकै उत्साहित देखिएका छन् । राजा ज्ञानेन्द्रको शुभकामना सन्देशलाई लिएर एकथरीले “दनक” को संज्ञा दिएका छन भने अर्को थरीले “आत्मरति” भनेका छन् । यहाँ बुझ्नुपर्ने कुरा के छ भने राजतन्त्र निरंकुश भएको भन्दै जन अन्दोलनको बलमा गणतन्त्र स्थापना भएको १६ बर्ष पुरा भईसकेको छ । नेपालको ईतिहासमा राजा ज्ञानेन्द्र शाह “अन्तिम राजा” का रुपमा अंकित भईसकेका छन । राजा ज्ञानेन्द्र शाहको वक्तव्यले प्रजातन्त्र कस्तो हुनु पर्दछ भन्ने बारे प्रवचन दिनुका साथै देशको समृद्धि र उन्नतिका निमित्त आफुलाई साथ दिन जनतालाई आह्वान गरेको देखिएको छ । राजा ज्ञानेन्द्रले राष्ट्र जोगाउने र राष्ट्रिय एकता कायम राख्ने हो भने अव समय आईसकेको भन्दै आफुलाई साथ दिन अपिल गर्नुभएको छ । राजा ज्ञानेन्द्रको शुभकामना सन्देशलाई लिएर राजतन्त्रको पक्षमा उभिदै आएको राष्ट्रिय शक्ति नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टिका नेता कार्यकर्ताहरु उत्साहित भएका छन् । गणतन्त्रवादी विश्लेषकहरुले भने राजा ज्ञानेन्द्रको अभिव्यक्ति कसैले राम्रोसँग लेखिदिएको निबन्ध भएको टिप्पणी गरेका छन् ।
अहिले जनतामा आक्रोश, वितृष्णा बन्नु आफ्नो ठाउँमा रहेपनि त्यसैका आधारमा राजा र राजतन्त्र फर्कन्छ वा फर्काइन्छ भनेर सोच्नुको अर्थ रहदैन । राजा ज्ञानेन्द्रको अभिव्यक्तिबाट केहि राजावादीहरु उत्साहित हुनु स्वाभाविक हो, किनभने राप्रपाको स्ट्रेन्थ एमालेका कारणले भएको हो । नेपालमा प्रजातन्त्रको मिरमिरे विहानी उदय भएको दिन फागुन ७ गते नै हो । यहि दिन जनता र राजा मिलेर प्रजातन्त्रलाई सवल बनाउन लागि परेको ईतिहास साक्षि छ । त्यसैले प्रजातन्त्र आजको युगको उत्तम शासन पद्धति पनि हो । आम जनताको मन, मगज र मतका आधारमा देशको विधि व्यवस्था तथा मान्यता अनुसार राज्य संचालन गर्ने सर्वमान्य आदर्श प्रजातन्त्र पनि हो । प्रजातन्त्रको कुरा गर्दा हामिले यसलाई वादविवाद, द्धन्द, विग्रह, विरोध, प्रतिरोधको अर्थले मात्र बुझ्नु हुदैन । प्रजातन्त्रलाई हामीले समाजमैत्री र जनहितैषीको रुपमा हेर्नुपर्दछ । सुन्दर शव्द, आकर्षक आर्दशले मात्र प्रजातन्त्र सार्थक हुने होईन । कर्म र व्यवहारमा प्रजातन्त्रलाई उतार्ने सेवाभाव र सहि प्रजातान्त्रिक आचरण, पहिचान र अस्तित्व सुरक्षित हुनुपर्दछ । निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन । पक्ष–विपक्षको अहंकार आ–आफ्नो खालको स्वार्थ तथा हठवादले प्रजातन्त्र गतिशिल बनाउन सक्दैन ।
नेपाल देशभक्त पुर्खाहरुले फलाएको फुलाएको सुन्दर राष्ट्र हो । यो राष्ट्रमा कुनै संकट नआओस भन्ने परिकल्पनालाई राष्ट्रको हितमा उदारताका साथ राख्दै आउनु आजको आवश्यकता पनि हो । त्यसैले राष्ट्र जोगाउने र राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त लाग्न हामि सवैलाई आह्वान गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस