आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

भगवान शिव उत्पत्ति भएको रात “महाशिवरात्री”


  • आक्रमण न्युज
  • २०८१ फागुन १४, बुधबार मा प्रकाशित १ साल अघि
  • ४२४ पाठक संख्या
  • महाशिवरात्री अथवा शिवरात्री हिन्दु धर्मावलम्बीहरूको चाड हो। भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्री मध्ये एक पवित्र पर्वका रूपमा विभिन्न पुराणहरूमा वर्णित छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष(छिटै खुसी हुने) भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ। व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरि व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र भगवानलाई चढाउने गर्दछन्।
    यस पर्वका दिन उपवास गरी ” ॐ नमः शिवाय” मन्त्र जप गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ। ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ। निर्जल व्रत, रात्री जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दूधको अभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन्। शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भन्ने मान्यता जनमानसमा रहेको छ। शिवरात्री पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ भने जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ। पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले स्नान गराइन्छ। फागुन कृष्ण चतुर्दशीमा मनाइने यस पर्वमा सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि कालमा भगवान् शङ्कर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए भन्ने धार्मिक विश्वास रहेको छ। प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्नेछन् भन्ने मान्यता पनि पुराणमा पाइन्छ। तीन सय वर्ष अघि माघ कृष्णपक्षको चतुर्दशीको मध्यरात महाशिवरात्रिको रूपमा मनाइएको बताइए पनि यकिनका साथ बताउन सकिन्न।
    यस दिन शिवभक्त, शिव मन्दिरहरूमा गएर शिवलिंगमा बेल-पत्र दूध, भाङ आदि चढाउने, पूजन गर्ने, उपवास बस्ने तथा राती जागरण गर्दछन्। शिव लिङ्गमा बेल-पत्र चढाउनु, उपवास तथा रात्री जागरण गर्नु जस्ता विशेष कर्मको सम्पादन यस पर्वमा हुने गर्दछ। यस दिन शिवको विवाह भएको थियो त्यसैले राती शिवजीको जन्ती निकालेर उत्सव गर्ने चलन पनि छ। वास्तवमा शिवरात्रिको परम पर्व स्वयं परमपितापरमात्माले सृष्टोलीा अवतरित भएको स्मृति पर्व हो। यहाँ रात्रि शब्दले अज्ञान एवं अन्धकारबाट हुने नैतिक पतनको द्योतन/सङ्केत गर्छ। परमात्मा नै ज्ञानको सागर हो, जसले मानव मात्रलाई सत्य ज्ञानद्वारा अन्धकारबाट प्रकाश तर्फ अथवा असत्यबाट सत्य तर्फ लैजान्छ। ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र, स्त्री-पुरुष, बालक, युवा र वृद्ध सबै यस व्रतको पालन गर्न योग्य मानिन्छन्। यस व्रतको विधानमा सवेरै स्नानादिबाट शुद्ध भएर उपवास गर्ने गरिन्छ।
    • यस दिन माटोको भाँडोमा पानी भरेर, त्यसमाथि बेलपत्र, आँक, धतूरोको फुल, चामल आदि हालेर ‘शिवलिङ्ग’मा अर्पण गरिन्छ। यदि नजिकमा शिवालय छैन भने, शुद्ध गिलो माटोबाटै शिवलिंग बनाएर त्यसलाई पूजा गर्ने विधान छ।
    • राती जागरण बसेर शिवपुराणको पाठ र कथा सुन्नु प्रत्येक व्रतालुको धर्म मानिन्छ।
    • व्रतको भोलिपल्ट बिहान सवेरै जौ, तिल, खीर र बेलपत्रको हवन गरेर व्रत समाप्त गरिन्छ।
    महाशिवरात्रि भगवान शङ्करका निमित्त सबैभन्दा पवित्र दिन हो। यो आफ्नो आत्मालाई पुनीत बनाउने महाव्रत हो। यो व्रतको पालना गरेर सबै पापहरूको नाश हुन्छ। हिंसक प्रवृत्तिमा परिवर्तन आउँछ। निरीह जीवहरू प्रति दयाभाव उब्जिन्छ। ईशान संहितामा यसको महत्ताको उल्लेख यसरी गरिएको छ-चतुर्दशी तिथिका स्वामी भगवान शिव हुन्। अत: ज्योतिषशास्त्रमा यस तिथिलाई परम् शुभफलदायी तिथि भनिएको छ। त्यसो त शिवरात्री प्रत्येक महिनाको चतुर्दशीका दिन पर्दछ। तर फागुन कृष्ण चतुर्दशीलाई सबै शिवरात्रि मध्ये विशेष भएकाले महाशिवरात्रि भनिएको हो। ज्योतिषीय गणना अनुसार सूर्यदेव पनि यस समयसम्म उत्तरायणमा आइसकेका हुन्छन् तथा ऋतु परिवर्तनको यो समय अत्यन्त शुभ मानिन्छ। शिवको अर्थ हो कल्याण। शिव सबैको कल्याण गर्ने देवता हुन्। अत: महाशिवरात्रिमा सरल उपाय गर्दा मात्र पनि इच्छित सुखको प्राप्ति हुन्छ।
    ज्योतिषीय गणितको अनुसार चतुर्दशी तिथिमा चन्द्रमा अफ्नो क्षीणस्थ अवस्थामा पुग्दछ। त्यस कारण बलहीन चन्द्रमा सृष्टिलाई ऊर्जा प्रदान गर्न असमर्थ हुन्छन्। चन्द्रमाको सीधा सम्बन्ध मनसग हुन्छ। अब मन: कमजोर हुदा भौतिक सन्तापले प्राणीलाई घेर्दछ तथा विषादको स्थिति उत्पन्न हुदछ। जसबाट कष्टहरूको सामना गर्नु पर्दछ। चन्द्रमा शिवको मस्तकमा सुशोभित छन्। अत: चन्द्रदेवको कृपा प्राप्त गर्न भगवान शिवको आश्रय किने गरिन्छ। महाशिवरात्रि शिवको प्रिय तिथि हो। अत: प्राय: ज्योतिषीहरू शिवरात्रिका दिन शिवको आराधना गरेर कष्टहरूबाट मुक्ति पाउन सुझाव दिन्छन्। शिव आदि-अनादि हुन्। सृष्टिको विनाश वा पुन:स्थापनको बीचको मुख्य कडी हो प्रलय अर्थात कष्ट, पुन:स्थापना अर्यात सुख। अत: ज्योतिषमा शिवलाई सुखको आधार मानेर महाशिवरात्रिमा अनेक किसिमका अनुष्ठान गर्ने महत्ता दर्शाइएको छ। महाशिवरात्रिको अवसरमा काठमाडौँको पशुपतिनाथ, झापाको अर्जुनधारा, सुनसरीको रामधुनी र पिण्डेश्वर, खोटङ्गको हलेसी, मोरङ्गको किराँतेश्वर, गुल्मीको गलेश्वर आदि विविध शिवालयमा भक्तजनको भीड लाग्दछ। यस अवसरमा भारत लगायत विश्वको विभिन्न स्थानहरूबाट जोगी, योगी एवं भक्तजन पशुपति मन्दिरमा आउँछन्।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट