
नेपालमा राजतन्त्र अन्त्य भएको डेढ दशक (२०६५–२०८१) बितिसक्दा समेत पूर्वराजाका गतिविधिले आमजनतामा तरंग सिर्जना गर्ने गरेको छ । पूर्वराजा र राजपरिवारका सदस्यका गतिविधि स्वदेश मात्र होइन, विदेशमा समेत चर्चाको विषय हुने गरेको छ । राजसंस्था र राजपरिवारप्रति आमजनताको चासो हुनुमा गणतन्त्र स्थापनाभन्दा ७ वर्ष पहिले भएको नारायणहिटी दरबार हत्याकाण्ड मुख्य कारण हो, जुन हत्याकाण्डको निष्पक्ष छानबिन होस् र वास्तविकता सार्वजनिक होस् भन्ने आममानिसको अपेक्षा अहिले पनि कायम छ ।



अहिले पनि सार्वजनिक यातायातका पछाडि पूर्वराजा वीरेन्द्रको परिवारका सदस्यहरूको तस्वीर राखेको देखिन्छ, न कि आन्दोलनले विस्थापित भएका ज्ञानेन्द्रको । पूर्वराजा ज्ञानेन्द्रले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा दिएको सन्देशपछि राजावादी एकाएक जुर्मुराए । राजतन्त्रलाई भजाएर आफ्नो राजनीतिक दुनो सोझ्याएकाहरूले ज्ञानेन्द्र काठमाडौं फर्किने दिनमा आफ्नो शक्ति परीक्षणको मेसो मिलाए । आइतबार एयरपोर्टबाहिर पूर्वराजाको स्वागतका नाममा भीड जम्मा भयो ।
राजतन्त्रका पक्षधरहरूको प्रचार यस्तो थियो, मानौं कि निर्वासनमा गएका पूर्वराजा स्वदेश फर्किंदै छन् र त्यसैको विषयमा उत्सव मनाइँदैछ । आइतबारको प्रदर्शनमा ‘मानव सागर’ उर्लेको भनेर राजावादीहरू हौसिएका छन् । विमानस्थलमा बाजागाजासहित स्वागत गर्नुपर्ने कुनै विशेष परिस्थिति बनेको थिएन, तैपनि पूर्वपञ्चहरूले आइतबार थोरै भएपनि आफ्नो बोसो घटाए । राजतन्त्र बिर्सन लागेको पुस्तालाई फेरि एकपटक सम्झाइदिए ।
ज्ञानेन्द्र शाह काठमाडौं फर्किने विषय पछिल्लो साता ‘टक अफ द टाउन’ भयो । विमानस्थलबाट घर (निर्मल निवास) जान लागेका शाह नारायणहिटी नै फर्किन लागेको जसरी प्रचार जो भएको थियो ।
आन्दोलनमा सहभागी भएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन हुन्, या कमल थापा, सबैले अहिले पनि गणतन्त्र भोग गरिरहेका छन् । गणतन्त्रको उद्घोष गर्ने पार्टीको नेतृत्व (प्रचण्ड)को सरकारमा सहभागी भएर दुवैजना गणतन्त्रका हिस्सेदार भइसकेका छन् । लिङ्देन, थापा या अराजक दुर्गा प्रसाईंको नेतृत्वमा हुने आन्दोलनले राजा फर्काउने कुरा स्वयं ज्ञानेन्द्र शाहलाई पनि पत्यार लाग्दैन होला । १० हजार आसपासको मासलाई देखाएर राजेन्द्र लिङ्देन– कमल थापाहरू व्यवस्था फेर्नुपर्ने दलिल गरिरहेका छन् । राजतन्त्र ढाल्न कुन स्केलको आन्दोलन भएको थियो भन्ने हेक्का जनआन्दोलन दबाउने पात्र समेत रहेका तत्कालीन गृहमन्त्री कमल थापालाई नभएको होइन ।
देशको अर्थतन्त्र कमजोर बनेका बेला बैंकको ऋण नतिर्न उक्साउने, शब्दैपिच्छे कटुवचन बोल्ने प्रसाईंले राजतन्त्र फर्काउँछु भन्दा ज्ञानेन्द्रलाई शंकोच लाग्नुपर्ने हो । कमल थापाको कुरा नगरौं, उनी राजतन्त्र र धर्मलाई बेचेर शक्ति आर्जन गर्ने व्यापारी हुन् । एमालेसँग तालमेल गरेर चुनाव लडेका थापा अनुकूल पर्दा माओवादीको चिह्नबाट चुनाव लड्न पनि पछि पर्दैनन् । १० हजार आसपासको मासलाई देखाएर राजेन्द्र लिङ्देन– कमल थापाहरू व्यवस्था फेर्नुपर्ने दलिल गरिरहेका छन् । राजतन्त्र ढाल्न कुन स्केलको आन्दोलन भएको थियो भन्ने हेक्का जनआन्दोलन दबाउने पात्र समेत रहेका तत्कालीन गृहमन्त्री कमल थापालाई नभएको होइन ।
राजतन्त्रलाई घुँडा टेकाउन विमानस्थलको गेट होइन, सिंगो रिङरोडमा मानव साङ्लो बनेको धेरै भएको छैन । आइतबार पूर्वराजाको स्वागतका लागि भएको कार्यक्रममा तीनथरि मनोविज्ञानको संयोजन भएको देखियो । विगतमा राजतन्त्रको पालामा कुनै न कुनै ढंगले लाभ लिएका र अझै पनि त्यसप्रति आस्था राख्ने व्यक्तिहरू, जो उमेरले ६० वर्षभन्दा माथिका छन् । दोस्रो– राजतन्त्रलाई देखाएर शक्ति आर्जन गर्न चाहने शक्तिहरू लिङ्देन, थापा र प्रसाईं र उनका आसेपासे । तेस्रो, रमितेहरू, जो रमाइलो हेर्न गएका थिए । निश्चय पनि आइतबारको प्रदर्शनमा राजावादीहरू हौसिनुको कारण सत्ताको नेतृत्व गरेका र गर्दैआएका राजनीतिक दलप्रतिको आक्रोश प्रमुख पक्ष हो । सामाजिक सञ्जाल र कहीँ कतै जवाफदेही हुनुनपर्ने सञ्चार माध्यम (युट्युब)ले फैलाएको अफवाहले जनतामा आक्रोश पैदा भएको छ ।
मानिसहरूले आफ्नो क्षेत्रमा भइरहेको विकास हेरेका छैनन्, सामाजिक सञ्जालको ‘अल्गोरिदम’का आधारमा राजनीतिक दलले देश चुसे, नेताले लुटे भन्ने भाष्य बनाइरहेका छन् । आफ्नो घर आँगनको डिलमा बनेको चिल्लो बाटो हेरेर होइन, सामाजिक सञ्जालमा सुरेन्द्र केसी, भीम उपाध्याय र पुण्य गौतमले बोलेको आधारमा समाजले धारणा बनाइरहेको छ । २ दशकअघिसम्म बदनाम कहलिएको राजसंस्था फर्किए देशका तमाम समस्या चुट्कीको भरमा समाधान हुन्छन्, भन्ने भाष्य सिर्जना गरिएको छ । आमजनताको दिमागमा नकारात्मक सोच भर्नुमा नयाँ भनिएका राजनीतिक दल र नेताको पनि योगदान छ ।
आजको दिनमा गणतन्त्रप्रति खतरा राजावादीबाट भन्दा जनताको दिमागमा भरिदिएको ‘अल्गोरिदम’बाट ज्यादा छ । ७७ जिल्ला र वडा तहमा आफ्नो संगठन भएका राजनीतिक दलहरूले देशमा भएको सकारात्मक परिवर्तनबारे जनतालाई बुझाउन सकेका छैनन् । बरु गणतन्त्रका लागि लडेका राजनीतिक दलहरू नै सत्तास्वार्थका लागि एकले अर्कोलाई बदनाम गर्न खोजिरहेका छन् । संसदबाटै एउटाले स्वीट्जरल्याण्डको बैंकमा थुपारिएको पैसा र कम्बोडियाको टेलिकममा गरिएको लगानीको हिसाब माग्छ । अर्कोले दुबईको बैंकमा जम्मा गरिएको पैसा र लसभेगासको जुवाघरमा गरिएको लगानीको हिसाब खोज्छ ।
आफूलाई परिवर्तन पक्षधर भन्नेहरू एकले अर्कोलाई बदनाम गराउने खेलमा लाग्दा राजावादीहरू हौसिएका छन् । सल्बलाउन थालेका छन् । यो अवस्थाको जिम्मेवार आलोपालो सरकारको नेतृत्वमा रहेका नेताहरू हुन् । जतिसुकै हौसिए पनि नेपालमा तत्काल राजतन्त्र फर्किने कुनै राजनीतिक, सामाजिक या अन्तर्राष्ट्रिय परिस्थिति बनेको छैन । गणतन्त्रलाई सहर्ष स्वीकार गरेर लोकतान्त्रिक बन्दै गएको सेनाको मनोविज्ञान फेरि राजा फर्काउने छैन । राजसंस्थाप्रति मोह भएका ‘रूक्माङ्गत कटवाल’ पुस्ता सेनाको नेतृत्वबाट बिदा भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस