
चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० अन्तर्गत १६ टोल सुधार समितिबीच सम्पन्न प्रौढ रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि नमूना टोलले हात पारेको छ ।

फाल्गुण २० गतेदेखि भरतपुरको गेष्ट हाउस चौरमा सुरु भएको प्रतियोगिताको फाइनल खेल आज (फाल्गुण २८ गते) सम्पन्न भएको हो । उपाधि भिडन्तमा नमूना टोलले स्याउली बजार टोललाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रथम स्थान हासिल गर्यो ।
प्रतियोगितामा महाकालेश्वर टोल तेस्रो स्थानमा रह्यो । विजयी टोलहरूलाई नगदसहित ट्रफी प्रदान गरिएको थियो । प्रथम हुने नमूना टोललाई नगद ४० हजार रुपैयाँसहित शिल्ड प्रदान गरियो भने, दोस्रो स्थान हासिल गर्ने स्याउली बजार टोलले ३० हजार रुपैयाँसहित शिल्ड प्राप्त गरेका थिए। त्यस्तै, तेस्रो स्थानमा रहने महाकालेश्वर टोलले २० हजार रुपैयाँसहित शिल्ड प्राप्त गरेका थिए ।
वडा नम्बर १० कार्यालयको आयोजनामा हरेक वर्ष सञ्चालन हुँदै आएको उक्त प्रतियोगिता आगामी दिनमा पनि निरन्तर गरिने वडा नम्बर १० का वडा अध्यक्ष परमेश्वर खनालले जानकारी दिनुभयो ।

समापन समारोहका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारी रहनु भएको थियो ।
कार्यक्रममा १० नम्बर वडाका सचिवसहित सम्पूर्ण वडासदस्यहरूको उपस्थिति रहेको थियो । विजयी टोललाई प्रमाणपत्र वितरण गर्दै विजयी जुलुस सहित कार्यक्रम समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस