
मानिस सबैको मनमा उठ्ने प्रश्न हामी किन जन्मन्छौ अनि किन मर्छौ ? जन्मेको किन होला ? आफैँ जानी जानी जन्मेको त पक्कै होईन होला ? जन्मको प्रयोजन के होला ? यत्रो दुःख दिनु थियो भने किन जन्मेको ? के अर्थ छ यो सुख दुख भोग्नुमा ? कस्ले गराएको होला यस्तो ? हामि सबैको मनमा जिज्ञासा लाग्नु स्वभाविक नै छ । हामी यो दुनियाँलाई भोग्न जन्मिएका हौँ र सबैथोक भोग्न यहाँ मात्र पाईन्छ । नर्कको भोग गर्न पनि यहाँ पाईन्छ, स्वर्गको भोग गर्न पनि यहाँ पाईन्छ र बैकुण्ठको भोग गर्न पनि यहाँ पाईन्छ । मरेपछि पाईन्न, मरेपछि कुनै भोग नै हुँदैन । भोग्नको लागि शरीरको आवश्यकता पर्दछ ।



शरीर भन्दा अलग म किन भए, किन जन्मन्छु , किन मर्छु भन्ने हो भने‘ म न जन्मन्छु, न मर्छु । म जन्म मृत्यु भन्दा अलग छु र जीवन खेल जस्तै हो, यस्तो खेल हो थाहा पाईयो भने हार्दा पनि सुख जित्दा पनि सुख । यो खेल नभएर साँच्चै हो भनेर जीवनलाई भोग्यो भने जित्दाखेरी सुख हार्दाखेरी दुख । जसले यो जीवनलाई खेलको रुपमा बुझ्यो त्यो व्यक्ति दुखबाट मुक्त हुन्छ । उसले हर हमेसा सुखको अनुभव गर्दछ । हामी आनन्दबाट बनेका छौँ, सुखबाट बनेका छौँ । त्यसैले हामीलाई सुख प्यारो छ, सुख भोग्नका लागि हामी जन्मेका हौँ । प्रत्येक कुराको स्वाद थाहा पाउँन हामी जन्मेका हौँ ।
सफ्टवयरले काम गर्नको लागि हार्डवयर चाहिन्छ । हार्डवयर भएन भने जतिसुकै राम्रो सफ्टवयर पनि अर्थहिन हुन्छ । त्यसैले सबैकुरा भोग्नको लागि शरीर आवश्यक छ र हामी सबै लोकहरु भोग्नका लागि यहाँ आएका हौ । जिउँदो छदै बैकुण्ठको भोग पनि गर्न सकिन्छ, स्वर्गको पनि सकिन्छ र नर्कको पनि भोग गर्न सकिन्छ । मृत्यु पछाडि हाम्रो मन, हाम्रो संस्कार, हाम्रो स्वभाव सबै बीज बनेर बस्छ । हाम्रो चेतनाको कहि अन्तरमा हाम्रो मन बीज बनेर बसेको हुन्छ र फेरि अर्को शरीर लिएपछि बिस्तारै हाम्रो मन प्रस्फुटन हुन्छ । बीज फेरि बिरुवा बन्न थाल्छ र यहि बिरुवामा पूर्व जन्मको संस्कार, पुर्व जन्मको सुख दुख, पूर्वजन्मको कमाई उत्पन्न हुन्छ र यसैलाई हामी भाग्य भन्दछौ । भाग्यको भोग गर्नको लागि शरीर लिन आवश्यक छ । त्यहि भएर हामी जन्मन्छौ । हामी भोग्न चाहान्छौ, नयाँ कुरा थाहा पाउन चाहन्छौ । यसको लागि शरीर आवश्यक छ ।
अहिले एउटा जनवारलाई समातेर घाँटि रेटु । जनवारको घाटि रेट्दाखेरी यस्तो हुँदो रैछ भन्ने अनुभव चाहि छ ,यो अनुभव चाँहि हामीले पायौँ तर आफू जनवार बनेर अर्कोले घाँटि रेट्दा कस्तो हुन्छ हामीलाई त्यो अनुभव छैन, त्यसैले हामी अर्को जन्म त्यो अनुभव लिन जन्मन्छौँ । अर्काको घाँटि काट्दा कस्तो हुन्छ त्यो त थाहा पाईयो अब आफ्नो घाँटि अर्काले काट्दा कस्तो हुन्छ थाहा पाउनु पर्यो सबै कुरा थाहा पाउनु हाम्रो स्वभाव हो यहि थाहाँ पाउँन हामी जन्मेका हुन्छौँ । अहिले अरुप्रति जस्तो व्यवहार गर्छौ यस्तो व्यवहार गर्दाखेरि यस्तो अनुभव हुँदो रैछ थाहा पाईयो । अर्कोपल्ट मैले गरेकै जस्तो व्यवहार अरुले गर्दा मलाई कस्तो हुँदो रहेछ त्यो थाहा पाउन हामी जन्मन्छौँँ । त्यसकारण हाम्रा अग्रजहरु, हाम्रा ऋषिहरु भन्नुहुन्छ जे आफुलाई मन पर्दैन त्यस्तो कर्म कहिलै गर्नुहुँदैन हैन भने त्यहि तिमीले भोग्नुपर्छ । आफूलाई मन नपरेको कुरा भोग्नु पर्यो भने हामी दुख भन्छौँ, आफूलाई मन परेको कुरा भोग्नुपर्यो भने हामी सुख भन्छौँ । त्यसैले आज हामीले कस्तो कर्म गर्छौँ, मन पर्ने गर्छौँ या मन नपर्ने गर्छौँ, आफूलाई मन नपर्ने व्यवहार अहिले गर्यौ भने यहि व्यवहार आफूतिर फर्कन्छ । मैले अरुलाई जस्तो व्यवहार गरे त्यो व्यवहार गरेको अनुभवले अव अर्कोपटक अरुले त्यो व्यवहार आफूप्रति गरेको अनुभव हुनुपर्छ । हाम्रो भाग्य यसैले बनेको हुन्छ । यसैलाई हामीँ भाग्य भन्छौ तर बनाएको चाहिँ हामीले हो ।
हाम्रो चेतना रातलाई पनि थाहा पाउँन चाहन्छ दिनलाई पनि थाहा पाउँन चाहन्छ । आज दिनको उपभोग गर्यौ भने रातको उपभोग गर्न हाम्रो चेतना लालाहित रहन्छ । हाम्रो स्वभाव त्यस्तो छ विपरीतलाई हामी भोग्न चाहान्छौँ विपरीतलाई हामि थाहा पाउन चाहान्छौँ । नयाँ खोज्छ हाम्रो मनले, थाहा पाएको त थाहा पाइहाल्यो, थाहा नपाएको चाहिँ थाहा पाइहाल्यौँ भन्ने जिज्ञासा भित्र रहन्छ र यसैको पूर्तिको लागि अर्को जन्म लिन्छौँ । बारबार जन्म लिनुको अर्थ बारबार नयाँ ज्ञान पाउनु हो । एउटा पाटो यो जन्ममा पुरा भो अर्को पाटोको लागि अर्को जन्म लिनुपर्छ । राम्रो व्यवहार अरुलाई गर्दा फेरि मलाई कस्तो अनुभव भयो । यो त थाहा पाईयो अब अर्को जन्ममा फेरि अरुले आफूलाई राम्रो व्यवहार गर्दा कस्तो हुँदोरैछ थाहा पाउन हामी जन्मन्छौ । त्यसकारण यो जन्ममा सर्वकल्याणको कर्म गरेको छ, भने अर्को जन्ममा सबैले आफ्नो कल्याण गर्दछन् । दुइटै अनुभव लिनुपर्या, दुईटै कुरालाई भोग्नु पर्यो हामी यहि कुरालाई भोग्नलाई जन्मन्छौँ ।
यो पृथ्वी भोगको लागि हो त्यसैले भनिन्छ देवताहरु मानीसको जन्म लिनका लागि आतुर हुन्छन् किनभने मनुष्य भएर मात्र भोग भोग्न पाईन्छ र ईश्वर सदासदा भोगमा डुबेको हुन्छ । त्यसैले ईश्वर भोग गर्नका लागि आफैँ विभाजित भएका छन् । परमात्मा पहिला एउटै थियो भनिन्छ पछि गएर परमात्माले आफुलाई विभाजित गर्यो । यो सबै प्राणिहरु ईश्वरको विभाजित रुप हो । ईश्वरको स्वभाव आनन्दमय छ, सुखमय छ ,उ सुखको भोग गर्न चाहान्छ । भगवान सुखको स्वरुप हो, आनन्दको स्वरुप हो र आनन्द यहिँ मात्रै छ । शरीरलाई छोडिसकेपछि कुनै प्रकारको आनन्दको अनुभव गर्न सकिन्न । सुखको पनि अनुभव गर्न सकिन्न । जीवन उत्सव मनाउँनलाई हो, हर क्षण उत्सवमय हुनुपर्छ, हर क्षण आनन्दमय हुनुपर्छ । जीवन उत्सवमय छ ,आनन्दमय छ । दुख भोग्ने अभ्यासले मात्रै हाम्रो जीवनलाई नर्क बनाएको छ । हामी दुख भोग्नको लागि चाहिँ अभ्यास्त छौँ, दुख भोग्ने अभ्यास बारबार गरेका छौँ ।
हामीलाई सबैभन्दा मन पर्नेचाहिँ सुख तर ध्यान चाहि हामी दुखको गर्छौ । हामीले सुख खोजेको हो भने सुखमा ध्यान लगाउनु पर्दछ । हाम्रो ध्यान सदासदा दुखमा गएको छ ।

प्रतिक्रिया दिनुहोस