गणतन्त्र स्थापना भएपछि पहिलो पटक पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखा दरबार पुगेर गोरखनाथ र गोरखकालीको पूजा गर्नुको प्रतीकात्मक र राजनीतिक अर्थ रहेको उनका समर्थकहरूले बताएका छन्। करिब दुई साताअघि पोखराबाट फर्कने क्रममा राजधानीमा ठूलो सङ्ख्यामा मानिसहरूबाट स्वागत पाएका पूर्वराजा त्यसयता पहिलो पटक राजधानीबाहिरको कार्यक्रममा शुक्रवार गोरखाका लागि निस्किएका हुन्। यो भ्रमणअन्तर्गत उनी गोरखा दरबार पुग्ने र उनले गोरखनाथ, गोरखकाली र मनकामनाको दर्शन गर्ने पूर्वराजाका संवाद सचिव फणिराज पाठकले एउटा सूचनामार्फत् जनाएका छन्।
नेपालमा गणतन्त्र स्थापना भएको १७ वर्ष पुग्न लागेको छ र पछिल्ला वर्षमा देखिएको राजनीतिक अस्थिरताका माझ राजसंस्था पक्षधर शक्तिहरूले राजासहितको लोकतान्त्रिक व्यवस्था बहाल हुनुपर्ने माग गर्दै आन्दोलन अघि बढाउने घोषणा गरेका छन्। दुई पटक राजा हुने अवसर पाएका ज्ञानेन्द्र शाहको अहिले हुन लागेको धार्मिक भ्रमणलाई राजसंस्था पुनर्स्थापनाका लागि उनका समर्थकहरूले अघि बढाएको अभियानसँग जोडेर धेरैले हेरिरहेका छन्।
पूर्वराजाको पूजाअर्चनाको व्यवस्थापनको लागि गोरखा दरबार पुगेका संस्कृतिविद् जगमान गुरुङले गोरखा दरबार शाहवंशका राजाहरूको आफ्नो घर भएको भन्दै त्यहाँ पूर्वराजपरिवारका नाममा नित्यपूजा हुने गरेको बताए।तर राजपरिवारका सदस्यहरू स्वयं उपस्थित भएर यस पटक गर्न लागेको पूजाको विशेष अर्थ रहेको उनको भनाइ छ।
उनी भन्छन्, “राजपरिवारका सदस्यहरूले यहाँ आएर आफ्ना कुलगुरु गोरखनाथ र कुलदेवी गोरखकालीको दर्शन गर्नु नियमित प्रक्रिया हो। सशरीर नआए पनि उहाँहरूका नाममा यहाँ नित्यपूजा हुन्छ। तर कृष्णपक्षको चतुर्दशी वा अष्टमीमा कालीको पूजा गर्दा सफल होइन्छ भनेर शास्त्रले भन्छ। यस पटक चैत कृष्ण अष्टमी पनि शनिवार र शुक्ल अष्टमी वा चैते दशैँ पनि शनिवार भएकाले यो बेला आफ्नो दरबारभित्र छिरेर आफ्नो कुलदेवी गोरखकालीको पूजा गर्दा शक्ति प्राप्त हुन्छ।” शुक्रवार अपरान्ह काठमाण्डूबाट सडकमार्ग हुँदै बाहिरिएका पूर्वराजा ज्ञानेन्द्रले कुरिनटारमा रात बिताएका थिए।
राजतन्त्रका पक्षमा भएको प्रदर्शनपछि प्रधानमन्त्री ओली र प्रतिपक्षी दलका नेता प्रचण्डद्वारा प्रतिवाद गोरखनाथ र कालिका भगवतीको पूजा गरेपछि उनले गोरखा पुगेर आफूलाई खुसी लागेको प्रतिक्रिया दिए। “पुर्खाको थलो हो। यहाँका बासिन्दालाई भेट्दा पनि खुसी लागेको छ,” पूर्वाराजा शाहले एभिन्यूज खबरलाई प्रतिक्रिया दिँदै भने।
“अहिले देशमा शान्ति चाहिएको छ। कसैले पनि खराब नचिताओस् र भलो चिताओस् भन्ने मेरो कामना छ। देशमा विकास होस्। सबैलाई सुख र समृद्धि होस् भन्ने मेरो कामना छ।” गोरखकाली मन्दिरका पुजारी शारदा भट्टराईले विसं २०६२/२०६३ सालको आन्दोलनपछि पूर्व राजपरिवारबाट पूजा सामग्री मात्र आउने गरेको बताए।
“बेलाबेलामा राजपरिवारका अन्य सदस्यहरू आउनुहुन्थ्यो। यसपटक चाहिँ स्वयं राजा आउन आउनुभएको छ,” उनले भने। गोरखाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले पूर्वराजाले गोरखामा गर्न लागेको भ्रमण अनौपचारिक भएको भन्दै सरकारी संयन्त्रहरूले नियमित रूपले काम गरिरहेको प्रतिक्रिया दिए।
उनले भने, “हामीले सबै परिस्थितिहरूको आकलन गरेर बसिरहेका हुन्छौँ। सुरक्षा संयन्त्रले नियमित ढङ्गले नै काम गरिरहेको छ। एक महिना लामो पोखरा बसाइँपछि फाल्गुन २५ गते पूर्वराजा ज्ञानेन्द्र पोखराबाट राजधानी फर्कँदा ठूलो सङ्ख्यामा उनका समर्थकहरू स्वागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि त्यसले नेपालको राष्ट्रिय राजनीतिलाई नै तरङ्गित बनाइदिएको थियो।
उनको स्वागतमा देखिएको भिडलाई गणतन्त्र स्थापना भएयता राजसंस्थाको समर्थनमा देखिएको सबैभन्दा ठूलो उपस्थिति मान्ने गरिएको छ। कतिपय विश्लेषकले त्यो उपस्थितिले पूर्वराजाको बढ्दो लोकप्रियता दर्शाएको बताएका थिए भने अन्य कतिले पछिल्ला वर्षहरूमा मूलधारका राजनीतिक शक्तिहरूप्रति बढेको वितृष्णा उक्त भिडमा प्रकट भएको टिप्पणी गर्दै आएका छन्।
त्यसयता राजावादी शक्तिहरूले राजतन्त्र पुनर्स्थापनाको लागि संयुक्त आन्दोलन थाल्ने तयारी अघि बढाएको बताएका छन् भने गणतन्त्र पक्षधर दलहरूले पनि ‘परिवर्तन रक्षा’ का लागि कार्यक्रमहरू गर्ने बताउँदै आएका छन्। बिहीवार मात्रै सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्रको पक्षमा सचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।
यसबीचमा राजसंस्था पक्षधर विभिन्न दल र समूह सम्मिलित राजसंस्था पुनर्स्थापनाका लागि राष्ट्रिय पञ्यायतका पूर्व अध्यक्ष नवराज सुवेदीको संयोजकत्वमा एउटा संयुक्त जनआन्दोलन समिति गठन गरिएको छ।
तर सल्लाह नगरी आफ्नो नाम राखिएको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपाल अध्यक्ष कमल थापाले समितिमा नबस्ने बताएपछि उक्त समिति विवादमा परेको छ।
यस्तोमा उक्त समितिले पूर्वराजाको धार्मिक भ्रमणलाई लक्षित गरेर कुनै पनि कार्यक्रमहरू सार्वजनिक गरेको छैन। तर उक्त समितिका सदस्यसचिवसमेत रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पूर्वराजाको यसपटकको गोरखा भ्रमणको ‘प्रतीकात्मक’ अर्थ रहेको बताउँछन्। उनले बीबीसीसँग भने, “गोरखनाथको आशीर्वाद लिएरै पृथ्वीनारायण शाहले नेपालको एकीकरण यात्रा सुरु गरेका थिए। अहिले राजा ज्ञानेन्द्रले राजसंस्थाको पुनर्स्थापनाको यात्रा सुरु गर्नुअघि गोरखनाथकै आशीर्वाद लिनुको ठूलो प्रतीकात्मक अर्थ छ।”
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बिहीवारको संसद् बैठकमा पूर्वराजाले ‘संविधानविपरीत’ श्री ५ महाराजधिराज भन्दै सन्देश दिइरहेको र शाही निसाना प्रयोग गरिरहेको बताएका थिए। यस्तो काम बन्द गराउन उनले सरकारसँग माग गरेका थिए। तर राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र पूर्वराजाले संविधान नमिचेको बताउँछन्। उनले भने, “पूर्वराजा महेन्द्र, पूर्वराजा पृथ्वीनारायण शाह भनिदैँन। जसरी महारानी एलिजबेथ भनिन्छ, अरूहरूको पनि त्यसै गरी राजा महेन्द्र, राजा पृथ्वीनारायण शाह भन्छन ।
प्रतिक्रिया दिनुहोस