
राजसंस्था फर्काउने उद्देश्यले जनआन्दोलन घोषणा गर्न भनेर १५ चैतमा तीनकुनेमा आयोजित सभा हिंसात्मक बनेपछि राजावादी आन्दोलन बिथोलिएको छ । पत्रकार सुरेश रजक सहित दुई जनाको ज्यान लिनेगरी भएको हिंसात्मक प्रदर्शनमा लुटपाट, तोडफोड र आगजनी जस्ता गतिविधि भएका छन् भने प्रहरीले अश्रुग्यास र गोली प्रहार गरेका थिए । उक्त हिंसात्मक घटनाका दोषीमाथि कार्बाही गर्ने प्रक्रिया अन्तर्गत राजावादी प्रदर्शनमा सामेल भएका र त्यसको नेतृत्व गरेकाहरू पक्राउ पर्ने क्रम चलिरहेको छ ।
पक्राउ पर्नेमा पूर्वपञ्चहरुको पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा समेत छन् । राजा फर्काउने जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्द गरिएको छ । सुवेदी नजरवन्दमा परेपछि प्रेस विज्ञप्ति जारी गरी जगमान गुरूङलाई संयुक्त आन्दोलन समितिका संयोजक तोकेका छन् । तर त्यसदिनको प्रदर्शनमा कमाण्डर तोकिएका दुर्गा प्रसाईं भने फरार छन् । आइतबार एक भिडियो सार्वजनिक गर्दै राजधानीको कुनै मन्दिरमा बसिरहेको जानकारी दिएका छन् । त्यसदिनको राजावादी आन्दोलन हिंसात्मक बन्नुमा तिनै प्रसाईंको मुख्य भूमिका देखिन्छ ।
पहिलेबाटै ‘बल प्रयोग, कब्जा र आक्रमण’ जस्ता कार्यबाट राजा फर्काउने सार्वजनिक अभिव्यक्ति दिने प्रसाईले त्यसदिन प्रहरीको घेरा तोडेर संसद् भवनतिर बढेका थिए । जबर्जस्ती गाडी अगाडि बढाएर प्रसाईंले उक्साएको भीडलाई राप्रपाका रवीन्द्र मिश्र र धवल राणाले साथ दिएका थिए । अहिले मिश्र र राणा पक्राउ पर्दा प्रसाईं फरार छन् । अनि पूर्वराजा ज्ञानेन्द्र शाहले भने तिनै प्रसाईंलाई बढी विश्वास गरेका छन् । रवीन्द्र मिश्र र धवल शमशेरहरुले आफ्नै अध्यक्ष राजेन्द्र लिङदेनलाई भन्दा बढी विश्वास दुर्गा प्रसाईंलाई गर्नुले पनि पूर्वराजा ज्ञानेन्द्रको संकेत अनुमान लगाउन सकिन्छ । अझ नवराज सुवेदी नजरबन्दमा राखिएपछि जगमान गुरुङ संयोजक बन्नुले पनि ज्ञानेन्द्र शाहले राप्रपालाई बढी महत्व नदिएकै थप पुष्टि हुन्छ ।
तर प्रसाईले नेतृत्व लिएको तीनकुने प्रदर्शनले पहिलो दिन नै राजावादी आन्दोलनलाई रक्षात्मक र बद्नाम बनाएको छ । राप्रपाका कतिपय नेताहरू नै पूर्वराजा ज्ञानेन्द्र शाहले दुर्गा प्रसाईप्रति विश्वास गरेर गल्ती भइरहेको निष्कर्षमा छन् । ‘यदि राजसंस्था फर्कन्छ भने राप्रपाकै संगठित प्रयत्न र जनताको साथबाट फर्कन्छ’ राप्रपाका एक नेता भन्छन्, ‘दुर्गा प्रसाईको हो–हल्ला र अराजक कुरामा केही मानिस सडकमा निस्किएला । अहिलेको प्रणाली बदल्ने तागत सिर्जना हुनेमा शंका छ ।’ आफ्नै नेताहरू समेत पक्राउ परेपछि शनिबार राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसेको थियो । उक्त बैठकले तिनकुने प्रदर्शन हिंसात्मक बन्नुमा सरकार जिम्मेवार रहेको निष्कर्ष निकालेको छ । आफ्ना नेताहरुलाई रिहा गर्न माग पनि राखेको छ । तर दुर्गा प्रसाईं नेतृत्वमा चलेको घटनाको पूर्ण अपनत्व भने नलिएर निष्पक्ष छानबिन आयोगको माग राप्रपाले गरेको छ ।
अर्थात् दुर्गा प्रसाईं नेतृत्वको तिनकुने प्रदर्शनप्रति राप्रपा संस्थागत रुपले सन्तुष्ट छैनन् । बरू राप्रपाभित्र रहेको अन्तरसंघर्ष तिनकुने प्रदर्शनले छताछुल्ल बन्न पुगेको छ । शनिबारको बैठकमा अध्यक्ष लिङदेनले तिनकुने प्रदर्शनपछिको अवस्था कसरी अगाडि बढ्छ भन्ने कुरा सरकारले लिने आगामी कदममै भर पर्ने बताएका छन् । ‘सरकारले सम्वाद र सहमतिको बाटो रोज्छ अथवा निषेधतिर जान्छ, त्यसैअनुसार भावी राजनीतिक कार्यदिशा तोकिन्छ भन्ने निष्कर्ष अध्यक्षले सुनाउनु भएको छ’, लिङदेन निकट एक नेता भन्छन् । राप्रपाले आफ्ना नेताको रिहाइलाई सर्त मानेको बुझिन्छ ।
तर दुर्गा प्रसाईंको हकमा राप्रपा अध्यक्ष लिङदेन उति धेरै सकारात्मक छैनन् । लिङदेन सकारात्मक नभएकैले रवीन्द्र मिश्र र धवल शमशेर राणाहरुले पार्टी भन्दा बाहिर बनेको संयन्त्रमा रहेर आन्दोलन चर्काउने बाटो रोजेको थिए । अर्थात् दुर्गा प्रसाईलाई ज्ञानेन्द्र शाहले विश्वास गर्दा राप्रपा समेत एकताबद्ध थिएन । प्रदर्शन हिंसात्मक बनेपछि त राजावादी झुकाव राख्ने पंक्तिमा समेत नैतिक संकट आइलागेको छ ।
बहुदलपछिका तीन दशकदेखि राजसंस्था भनिरहेको राप्रपाका नेताहरुलाई भन्दा बढी पूर्वराजा ज्ञानेन्द्रले विश्वास गरेका प्रसाईं राजावादी बनेको धेरै भएको छैन । उनी खुलेर राजावादी अभियानमा लागेको १ फागुन २०७९ बाट हो । प्रचण्ड नेतृत्व सरकारले जनयुद्ध दिवसको सार्वजनिक विदा दिएकै दिन प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र सहित पत्नी कोमल र छोरा पारसलाई झापा लगेर सार्वजनिक कार्यक्रम गरेका थिए । यही कार्यक्रमपछि प्रसाईंलाई एमालेले केन्द्रीय सदस्य र उद्योग विभागको उपप्रमुखबाट हटाउने निर्णय लियो ।
अर्थात ज्ञानेन्द्रलाई झापा नलगेसम्म प्रसाईं एमालेकै नेता थिए । उनी राजावादी राप्रपाको विरोध गर्थे । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनविरुद्ध चुनाव नै लड्ने तयारीमा थिए । सामाजिक सञ्जालहरुमा प्रसाई आफैले दिएको अभिव्यक्ति अनुसार चुनाव लड्न झापा–३ मा उनको गतिविधि केन्द्रीत थियो । भोट बटुल्न राम्रै लगानी पनि गरिसकेका थिए । तर प्रसाईँको अपेक्षा बमोजिम एमालेले निर्णय गरेन । प्रसाईंलाई टिकट नदिएर झापा–३, राजेन्द्र लिङदेनका निम्ति छोड्ने एमालेले निर्णय लियो । बदलामा राप्रपाले झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय गर्यो । आफूलाई पञ्छाएर लिङदेनसँगै ओलीले सहमति गरेपछि प्रसाईं भड्किए । अनि आफ्नै नेतृत्वमा राजा फर्काउने अभियान सुरू गरे । देशका विभिन्न भू–भागमा गतिविधि गर्दै हिडे ।
एमाले हुँदा प्रसाईंलाई केपी ओलीकै बलियो साथ थियो । प्रसाईंलाई पार्टी जिम्मेवारी दिने निर्णयमा एमालेका थुप्रै नेताहरुको चर्को असहमति थियो । विशेषगरी झापा एमालेका नेताहरुले प्रसाईंलाई रोक्न खोजेका थिए । कतिसम्म भने चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनमा प्रसाईंलाई केन्द्रीय सदस्य नबनाउन झापा एमालेका नेताहरुले पार्टी नेतृत्वसँग सामूहिक आग्रह नै गरेका थिए ।

प्रतिक्रिया दिनुहोस