
काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र विजयी भएका बालेन्द्र साह (बालेन)सँग घरदेखि परका शक्तिहरू चिढिँदै गएका छन्। २०७९ को स्थानीय तहको निर्वाचनमा मेयरमा विजयीका उनलाई छुट्टै नयाँ शक्तिका रुपमा हेरिन थालेको भए पनि उनीसँग चिढिनेहरूको ग्राफ बढ्दै गएको छ। गणतन्त्रवादी, राजावादी शक्ति बालेनसँग यसअघि नै रिसाएको थियो। प्रमुख प्रशासकीय अधिकृतको विषयले घरभित्र विवादको आगो बलेको छ। अहिले बालेनविरुद्ध महानगरकी सहयात्री उपमेयर सुनिता डङ्गोलसमेत उत्रिएकी छन्।
प्रमुख प्रशासकीय अधिकृतबाट हटाइएका सरोज गुरागाईं बिहीबार कार्यालयमा फिर्ती भएपछि बालेनलाई घरभित्रैकाले टक्कर दिएका छन्। बालेनको निषेधकाबीचमा बालेनलाई टक्कर दिँदै वडाध्यक्ष तथा महानगरका कर्मचारीले गुरागाईंलाई कार्यकक्षमा पुर्याएका थिए। मेयर बालेनको आदेशमा नगरप्रहरीले गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न दिएको थिएन। वडाध्यक्ष र कर्मचारीहरूलाई छेक्दै नगर प्रहरीले गुरागाईंलाई रोक लगाएको थियो। नगरप्रहरीले रोकलगाएपछि महानगरभित्र विवाद सिर्जना भएको थियो। त्यहीबीचमा उपप्रमुख सुनिता डङ्गोल आएर विवादलाई समाधान गरेकी थिइन्। उनले वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत गुरागाईंसँग छलफल गरेर गुरागाईंलाई कार्यकक्षमा प्रवेशको वातावरण बनाएकी थिइन्।
छलफलमा सुनिता बालेनमाथि रोष प्रकट गरिन्। उनले बालेनलाई कोठाभित्रबाट आदेश दिने नभएर समस्या भएको ठाउँमा आएर समाधान खोज्न भनेकी थिइन्। बालेनसँग वडाध्यक्ष यसअघि पनि पटक–पटक रुष्ट हुँदै आएको भए पनि उपमेयर डङ्गोलको बालेनलाई साथ रहेको देखिन्थ्यो। बालेनले पटक–पटक सामाजिक सञ्जालमार्फत अराजक अभिव्यक्ति दिँदासमेत एमालेबाट निर्वाचित भएको भए पनि उनी चुपलागेर बसिदिएकी थिइन्। बिहीबार भने उनले बालेनविरुद्ध मुख खोलेकी छिन्। बालेनसँग नेकपा एमाले त वारपारको अवस्थामा छ। बालेनसँग वारपारको अवस्थामा पुगेपछि सरकारमा रहेको समयमा शक्तिको प्रयोग गर्दै बालेनलाई एमालेले असहयोगसमेत गर्दै आइरहेको छ। नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्दैगर्दा बालेनले सिंहदरबार जलाउनेसम्मको अभिव्यक्ति दिएका थिए। त्यस समयमा सरकारले बालेनलाई पक्राउ गर्नेसम्मको योजना बनाएको कुरा पछि बाहिरिएको थियो।
भलै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेनलाई लोकतन्त्रको एउटा सुन्दर फूल भन्ने गरेका छन्। माओवादी, कांग्रेस वा अन्य दलको धेरै निसानामा नपरे पनि एमालेसँग भने पटक–पटक बालेन भिडिरहेका छन्। पछिल्लो पटक राजवादी शक्तिको निसानामा पनि उनी परेका छन्। चैत्र १५ गते राजसंस्था पक्षधरले तीनकुनेमा प्रदर्शन गर्दा फोहोर गरेको, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको भन्दै महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेका थिए। ज्ञानेन्द्रको सचिवालयले जरिवानाको पत्र बुझेको थिएन। तर पनि बालेनले हुलाकमार्फत उक्त जरिवाना पत्र पठाएका थिए। त्यसपछि राजावादी शक्तिको निसानामा उनी परेका हुन्।
राजसंस्थाको वकालत गर्दै आइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बालेनले जसलाई पत्र पठाउनुपर्ने हो त्यसलाई नपठाएर पूर्वराजालाई पठाएको भन्दै रोष प्रकट गरिरहेको छ। मेयरमा निर्वाचितपछि उनले अवैध बनेका संरचना हटाउन एक्सन लिएपछि थप चर्चामा थिए। त्यसपछि उनको पक्षमा ह्वात्तै जनलहर देखिएको थियो। उनलाई चिन्नेको ग्राफ बढेको पनि थियो। उनले विद्यालय सुधार, स्वास्थ्यमा ल्याएको सुधारदेखि फुटपाथ व्यवस्थापनलगायत थुप्रैकामले प्रशंसा बटुल्ने काम गरेका छन्। तर पनि राजनीतिक रुपमा उनलाई विभिन्न शक्तिबाट प्रहार हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस