
बिहीबार काठमाडौं महानगरपालिका परिसर दिनभर तनावग्रस्त रह्यो । महानगरको निलम्बनमा परेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई १०३ दिनपछि कार्यालय पुगेका थिए । उनलाई नगरप्रहरीले रोक्ने प्रयास गरेपछि तनावको स्थिति सिर्जना भयो । नगरप्रहरीको अवरोधकाबीच गुरागाईंलाई उपप्रमुख सुनिता डंगोल, वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृतको ढोका फोडेरै कार्यकक्षमा छिराएका थिए । त्यसक्रममा नगरप्रहरी र वडाध्यक्ष तथा कर्मचारीबीच घम्साघम्सी भयो । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको सिसाको ढोका फुट्यो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई महानगरपालिकामै हाजिर गर्ने वातावरण मिलाउन भनेर एक महिनाअघि महानगरलाई पत्र पठाएको थियो । तर, मन्त्रालयको निर्णयबाट महानगरका मेयर बालेन शाह असन्तुष्ट थिए । सोही कारण उनकै निर्देशनका नगरप्रहरीले बिहीबार गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास ग¥यो । बालेनले नगर प्रहरी लगाएर रोक्ने मात्र होइन, कार्यकक्षमा तालाबन्दी समेत गरेका थिए ।
गेटमा नगरप्रहरी खटाएपछि आक्रोशित बनेका कर्मचारी र वडाध्यक्षहरूले मेयरविरुद्ध नाराबाजी गरेका थिए । लामो समयदेखि टसल देखिँदै आएको महानगरमा उपमेयर, वडाध्यक्ष र कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतलाई प्रवेश गराएपछि मेयर बालेन स्वयं ’धर्मसंकट’मा परेका छन् । काठमाडौं टावरको नक्सा पास गर्दा अनियमितता गरेको आरोप लगाउँदै गुरागाईंलाई बालेनले पुस ५ गते प्रमुख प्रशासकीय अधिकृतबाट हटाएका थिए । गुरागाईंलाई हटाएर नयाँ कार्यकारी अधिकृत पठाउन बालेन गरेको आग्रह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अस्वीकार गरेको थियो ।
त्यसपछि बालेन र संघीय सरकारबीच विवाद चर्केको थियो । विवाद चर्किँदै गएपछि लामो समय कर्मचारीले तलब पाएका थिएनन् । महानगरमा आर्थिक कारोबार ठप्प भएपछि बिहीबार केही जनप्रतिनिधि र कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतको स्वागतको तयारी गरेका थिए । बिहीबारको घटनापछि काठमाडौं महानगरमा बालेनविरुद्ध एकप्रकारको विद्रोह भएको छ । जनप्रतिनिधि, कर्मचारीदेखि सरसफाइ कर्मचारीहरू समेत गुरागाईंको पक्षमा उभिएका छन् । बिहीबार महानगरको कार्यालयमा तनाव उत्पन्न हुँदा मेयर बालेन भने कार्यकक्षमा थिएनन् । २०७९ वैशाखमा निर्वाचित भएदेखि नै स्वतन्त्र मेयर बालेन र राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिबीच टसल देखिएको थियो । प्रमुख प्रशासकीय अधिकृत हटाउने निर्णयले यो टसल उत्कर्षमा पुगेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यकक्षसम्म पुर्याउन उपमेयर डंगोलले अग्रसरता लिइन् । त्यति मात्रै होइन, बैठक राख्दै डंगोलले कोठामा बसेर आदेश दिनुको सट्टा अगाडि देखा पर्न चुनौती समेत दिइन् । उनले भनिन्– ‘मन्त्रालयले नै पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन आउनुभएको हो । उहाँ हाजिर हुन आउँदा महानगरमा झगडा हुनुपर्ने र कर्मचारी–कर्मचारीबीच लडाइँ हुनुपर्ने स्थिति आउनु कसैका लागि पनि राम्रो होइन, मेयरले एक ठाउँमा बसेर आदेश दिने अनि हामीले तमासा हेर्नुपर्ने हो ? उहाँको आदेश हो भने यसरी कोठामा बसेर गर्ने होइन, अगाडि आउनुपर्छ ।’
अहिलेसम्म प्रमुख प्रशासकीय अधिकृत गुरागाईं दोषी प्रमाणित नभएकाले काम गर्न दिनुपर्ने उनको तर्क छ । उपमेयर डंगोलले नगरप्रहरी प्रमुख राजु पाण्डेलाई ताला लगाएको विषयमा प्रश्न गरेकी थिइन् । जवाफमा पाण्डेले मेयरको मौखिक आदेश आएको बताएका थिए । महानगरका प्रवक्ता नवीन मानन्धरसहित सबै वडाध्यक्षले पनि मेयर बालेनको चर्को आलोचना गरेका थिए । नगरप्रहरीले बल प्रयोग गरेपछि कर्मचारीहरू पनि आक्रोशित बनेका थिए । एकातिर माघदेखि महानगरको आर्थिक कारोबार ठप्प छ । अर्कोतिर मेयर बालेन प्रमुख प्रशासकीय अधिकृतको विषयमा लचिलो हुने खोजिरहेका छैनन् । यस्तो अवस्थामा यो विवादको समाधान कसरी हुन्छ ? अहिले नै यसै भन्न सकिने अवस्था छैन ।
प्रतिक्रिया दिनुहोस