
शिक्षिका ‘बिराङगना’ को सशक्त जवाफ भाइरल”
कोहलपुर । सम्बन्ध बिच्छेद भइसकेपछि पनि सिन्दुर लगाएको कारण समाजका केही दृष्टिहरूबाट उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै एक शिक्षिका ‘बिराङगना’ ले सामाजिक सञ्जालमा लेखेको आत्ममूल्य र भावनात्मक विचार अहिले भाइरल बन्दै गएको छ।
दुई सन्तानकी आमा, पेशाले शिक्षिका र जीवन rसँग एक्लै संघर्ष गरिरहेकी ‘बिराङगना’ ले लेखेकी भनाइले हजारौंको मन छोएको छ। उनले लेखेकी छन्, “मेरो कपाल भित्रको रातो रङ्लाई लक्षित गरेर आएको हो । मेरो सिन्दुरलाई प्रश्न गर्न आएको हो ।”
उनको भनाइमा, सम्बन्ध बिच्छेदले एउटा कानुनी सम्बन्धको अन्त्य भए पनि, त्यो महिलाको अस्तित्व, मातृत्व वा धार्मिक आस्थामा कुनै असर पार्दैन। उनले जोड दिइन्, “डिभोर्स भएकी महिला विधवा होइनन्। उनीहरूले आफ्नै इच्छा अनुसार सिन्दुर लगाउन सक्छन् — यो स्वाभिमान, आस्था र व्यक्तित्वको अभिव्यक्ति हो।”
शिक्षिकाले हिन्दू संस्कृतिमा महिलाको साजसज्जा, विशेषगरी सिन्दुरको धार्मिक पक्षलाई समेत प्रस्ट्याउँदै भनिन्, “भगवतीको आराधना गर्न अनेक चेलीहरू रातो सिन्दुर लगाउँछन्, त्यसलाई पनि के पुनःविवाहको प्रमाण मान्ने?”
उनले समाजमा डिभोर्स महिलाप्रति हुने दृष्टिकोणलाई पनि गहिरो प्रश्न उठाउँदै लेखेकी छन्, “सम्बन्ध बिच्छेदले श्रीमान्–श्रीमतीको नाता टुंगिन्छ, तर आमा–सन्तानको नाता कहिल्यै टुंगिँदैन। एक आमा आफ्ना सन्तानप्रति आजीवन समर्पित रहन्छिन्, र त्यो सिन्दुर पनि त्यही मातृत्वको प्रतीक बन्न सक्छ।”
उनको यो अभिव्यक्ति नारी अस्तित्व, आत्मसम्मान, मातृत्व र धार्मिक स्वतन्त्रताको आवाज बनेर सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। धेरैले यसलाई ‘एक महिलाको संघर्षको दस्तावेज’ भन्दै समर्थन र सम्मान व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस