
नेपालमा दक्षिण देब्रे भएन भने अबको एक वर्ष नेपालले ओलीलाई प्रधानमन्त्रीका रूपमा ब्यहोर्नुपर्ने हुन्छ । उनको कार्यकालमा देशले पाउने भनेको गफ मात्र हो र उनले गफ दिँदा त्यसको क्रिया–प्रतिक्रिया पनि गफ नै हुने हो । यस्तो स्थितिमा नेपालमा हुने भनेको गफको प्रतिस्पर्धा मात्रै हो । राष्ट्रिय गफाडीहरू त यो गफ–प्रतिस्पर्धामा सहभागी हुने नै भए, गफ गर्न नजान्ने पनि सफलताको सूत्र यही पो रहेछ भन्ने भ्रममा त्यतैतिर तानिन सक्छन् । तर, नेपालमा हुने गफ प्रतियोगितामा ओली अजय छन्, उनलाई कसैले पनि जित्न सक्दैन । गफमा उनलाई टक्कर दिने भनेको अर्का गफाडी रवि लामिछानेले हो तर उनी विवादास्पद विगतको भारीले उठ्नै नसक्ने गरी पछारिएका छन् । अहिले जेलको बास गराउने सहकारी प्रकरण मात्रै पनि सही निष्कर्षमा पुग्यो भने उनको राजनीतिक जीवन बाँच्न सक्दैन ।
कहिले जिब्रो मात्र चलाउने ओलीको पालो सकिएला र आफ्नो पालो आउला भनेर नचल्ने जिब्रो मिठ्याउँदै बसेका छन् देउवा । दक्षिणले उनलाई ओलीले पालो देलान् भनेर भर नपर्न र तुरुन्तै पाइने प्रधानमन्त्री पदका लागि अर्को १५ महिना नपर्खन भनेकोले हुनसक्छ, केही समययता उनको सत्ता छटपटी एकाएक बढेको देखिन्छ । यही कारण हुनसक्छ, यसअघि सिंगापुरमा उपचार गराउँदै आएका उनी फलो–अपका लागि भन्दै एक्क्सी बैंककतिर लागेका छन् । संयोग पनि यस्तो मिलेको छ कि श्रीमती आरजु पनि एउटा सरकारी कार्यक्रम मिलाएर उतै लागेकी छन् । स्मरणीय छ, केही समययता बैंकक नै दक्षिणसँगको सत्ता सौदाबाजीको ‘मिटिङ पोइन्ट’ बन्दैआएको छ । ढिलो होस् वा चाँडो, जिब्रो मात्र चलाउन मात्र जान्ने ओली गएपछि पालो आउँने भनेको जिब्रो नै नचल्ने देउवाकै हो । उनलाई प्रधानमन्त्री बनाउन प्रमुख प्रतिपक्षी दल माओवादी सुप्रिमो प्रचण्ड पनि तयार नै छन् ।
ओली पनि लगभग दिनहुँजसो १५ महिनापछि उनैलाई पालो दिने भनिरहेका छन् । संसदको अंकगणित पनि सबैभन्दा ठूलो दल कांग्रेसका संसदीय दलका नेता उनलाई नै प्रधानमन्त्री बनाउन सहज छ । नेपालको सत्ताका लागि महत्त्वपूर्ण मानिने दक्षिण पनि तुलनात्मक रूपमा उनकै लागि दाहिना हुन्छ । देउवाभन्दा ओली घातक हुने अर्थमा राप्रपा र रास्वपाजस्ता दलको सहानुभूति पनि देउवातिरै हुनु अस्वाभाविक हैन । देउवालाई प्रधानमन्त्री हुनबाट रोक्ने एउटा झिनो सम्भावना भनेको अहिले नेतृत्वमा रहेका ओली, प्रचण्ड र नेपाल पछाडि बसेर एक सर्वसम्मत वाम युवा नेताको नेतृत्वमा वामपन्थी पार्टीहरूको एकता नै हो । एमाले, माओवादी र नेकपा एस मिलेमा नेपालमा वामपन्थी प्रधानमन्त्रीको सम्भावना सधैँ रहन्छ, यसपटक पनि छ । तर, ओली प्रचण्ड र नेपाल बाँचुन्जेल त्यस्तो सम्भावना लगभग छैन भने पनि हुन्छ ।
यही बीचमा विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा पुनः प्रवेश गरेर आशाको त्यान्द्रो बन्लिन् कि भन्ने झिनो सम्भावना देखिदैछ । यसै पनि राजनीतिमा असम्भव केही हुँदैन र अझ त्यसमाथि पनि नेपाली राजनीतिमा त रात रहे अग्राख पलाउन सक्छ । तर, त्यो सम्भावना लगभग छैन भने पनि हुन्छ । त्यसैले विद्यमान तमाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचकहरूलाई आधारमा अबको प्रधानमन्त्री देउवा नै हुन् भन्ने लगभग तय छ । यसपटक उनी पहिलो पटक हैन, छैँटौपटक प्रधानमन्त्री हुने हुन् ।
जतिपटक प्रधानमन्त्री भए पनि देउवाबाट केही राम्रो होला भन्ने अपेक्षा कसैले गर्दैनन् । अरूले त गर्दैनन् नै, स्वयं काँग्रेसीहरू पनि गर्दैनन् । उनीहरू त यति मात्र कामना गरिरहेका हुन्छन् कि राम्रो नगरे पनि नराम्रो नगरिदिए हुन्थ्यो । उनीहरूमा एउटा जबरजस्त डर पनि छ कतै पहिलाजस्तै ज्ञानेन्द्रलाई भित्राएर कांग्रेस नै सक्ने त हैनन् ? तर, सँगसँगै उनीहरूलाई एउटा आशा पनि छ कि यो उनको राजनीतिक बिदाइ हो । त्यसैले पनि उनले राम्रो राजनीतिक बिदाइ लिन सक्छन् । कांग्रेस पार्टीभित्र उनलाई मन पराउने र मन नपराउने दुवैथरि काँग्रेसीहरू उनको बिदाइ कार्यकाल राम्रै भए हुन्थ्यो भन्ने चाहन्छन् ।
देउवा नेपाली राजनीतिका एक आयाराम गयाराम पात्र नै हुन् । उनलाई कुनै राम्रो कामको लागि नेपाल र नेपालीले सम्झनुपर्ने कारण नै छैन । उनलाई सम्झने भनेको नेपाली राजनीतिमा विकृति भित्राउने र अझ त्योभन्दा पनि बढी ज्ञानेन्द्रलाई सत्ता बुझाउने एक नालायक प्रधानमन्त्रीका रूपमा मात्रै हो । महाकाली सन्धि, प्राडो–पजेरोलगायतका विकृतिहरूको लामो फेहरिस्त नै जोडिन्छ उनीसँग । उनलाई माध्यम बनाएर पत्नी आरजु नेपालकै एक नम्बर बिचौलिया बनिन् । आरजुलाई गणतन्त्रकी पम्फादेवी भन्नेहरूको कमी छैन । यो सबै देउवाकै कारण भएको हो र यसको मूल दोषी कोही हो भने त्यो देउवा मात्रै हुन् ।
देउवासँग नेपाल विद्यार्थी संघको टिके सभापति भए बाहेक कुनै राजनीतिक इतिहास पनि छैन । २०४६को होस् वा २०६२÷०६३को जनआन्दोलन, देशमा आमूल परिवर्तन ल्याउने यी दुवै आन्दोलनमा उनको निर्णायक भूमिका त के, सक्रिय सहभागिता पनि छैन । उनको सोच र कोण पनि अग्रगामी छैन । उनीसँग न कुनै सोच छ, न दृष्टिकोण । न केही गर्छु भन्ने चाहना नै देखिन्छ उनको अनुहारमा । तर, यी सबै भएर पनि देउवाले काँग्रेसमा कोइराला राजनीतिक वंशबादलाई चुनौति मात्र दिएनन्, एक किसिमले किनारा नै लगाइदिए । यसको पछाडिको मूल कारण कोइरालाहरूको पेलानमा परेका सबै काँग्रेसीहरू एक हुनु थियो । देउवा त त्यसको मोहरा मात्र थिए । उनको अतिरिक्त तागत चाहिँ सुदूर–पश्चिम भूगोलको प्रोक्सिमिटी हो । राजनीतिक दलको घेराभन्दा माथि उठ्ने सुदूर–पश्चिम आफैँमा एक गजबको प्रोक्सिमिटी हो ।
कांग्रेसको नेतृत्वमा देउवा पुग्नु नै कांग्रेस दुर्दशाको प्रमुख कारण हो । यसबाट कांग्रेस त पत्रु भयो नै, त्यसको ट्रिकल–डाउन असर अरू राजनीतिक दलमा पनि पर्यो । नेपाली राजनीतिको मूल्य, मान्यता र सिद्धान्त स्खलित हुनुको एक मुख्य कारण यो पनि हो । प्रकारान्तरमा नेपालका अरू मुख्य राजनीतिक दलहरूले पनि देउवाकै हैसियतका शीर्ष नेताहरू पाए । अहिले उनीसँगै उभिएका ओली र प्रचण्ड पनि उनीजस्तै नालायक हुन् ।




प्रतिक्रिया दिनुहोस