
चितवन । चितवनको भरतपुर हाइटमा अवस्थित चर्चित होटल ‘रोयल सेन्चुरी’ अबदेखि ‘ल्याण्डमार्क नारायणी’ नाममा नयाँ व्यवस्थापनसहित सञ्चालनमा आएको छ। ल्याण्डमार्क होटल्स एन्ड रिसोर्ट्सले सोमबार पत्रकार सम्मेलनमार्फत होटल तथा यसको अन्तर्गत पर्ने देवघाटस्थित फार्महाउसको व्यवस्थापन आफ्नो समूहले सम्हालेको जानकारी गराएको हो ।
कम्पनीका कर्पोरेट अपरेसन निर्देशक सम्राट पाण्डेका अनुसार, भरतपुर हाइटमा अवस्थित ७० कोठाको होटल र देवघाट गाउँपालिका–५, भुवनटारमा करिब ४ हेक्टर क्षेत्रफलमा फैलिएको फार्महाउस अब ल्याण्डमार्क समूहको व्यावसायिक संचालनमा रहनेछ । सम्पूर्ण सेवा परिष्कृत गर्दै ‘रोयल सेन्चुरी’ लाई ‘ल्याण्डमार्क नारायणी’ र फार्महाउसलाई ‘ल्याण्डमार्क फार्महाउस’ का रूपमा पुनः ब्राण्डिङ गरिएको जानकारी पाण्डेले दिनुभयो ।
ल्याण्डमार्क नारायणीमा ७० स्तरीय कोठासँगै, ६ वटा आधुनिक कन्फ्रेन्स हलहरू, व्यावसायिक मिटिङ र गोष्ठीका लागि विशेष व्यवस्था गरिएको छ। होटलमा विविध स्वादका रेष्टुरेन्ट, पेयपदार्थसहितको बार, कफी हाउस, र खुला आकाशमुनि रमाइलो गर्न मिल्ने ओपन टेरेस उपलब्ध छन् ।
महाप्रबन्धक बोधराज लम्सालका अनुसार, होटलमा चाँडै स्विमिङ पुल पनि थप गरिनेछ। व्यापारिक तथा पारिवारिक पाहुनालाई लक्षित गर्दै उत्कृष्ट सेवा प्रदान गर्न तयार रहेको होटलले सबैलाई सेवा लिन आमन्त्रण गरेको छ।
त्रिशूली नदीको किनारमा फैलिएको करिब डेढ विघाको ल्याण्डमार्क फार्महाउसमा १३ कोठा, आकर्षक कटेजहरू, ट्री हाउस, स्विमिङ पुल, पूल साइड पार्टी स्पेस, र बार रेस्टुरेन्टसहितका सुविधा उपलब्ध छन्। यहाँ फार्म टु टेवल डाइनिङ अनुभव अन्तर्गत ताजा र स्थानीय उत्पादनमा आधारित खानाको व्यवस्था गरिएको छ ।
निर्देशक राजु पाण्डेले प्राकृतिक सौन्दर्य, आराम र आधुनिकताको समिश्रणमार्फत पाहुनालाई विशेष अनुभव प्रदान गरिने बताउनु भयो । त्यस्तै अर्का निर्देशक रमेश पाण्डेका अनुसार, भरतपुर र देवघाट क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले ल्याण्डमार्कले सेवा विस्तार गरेको हो। काठमाडौं, पोखरा, सौराहा र भैरहवा जस्ता प्रमुख पर्यटकीय गन्तव्यहरूमा पूर्वदेखि नै सेवा दिँदै आएको ल्याण्डमार्क समूह अहिले भरतपुरमा पनि आफ्नो उपस्थिति थप सशक्त बनाउँदैछ ।

प्रतिक्रिया दिनुहोस