संयोजक विश्वकर्मा–प्रतिवेदन पेस
काठमाडौँ, ४ जेठः शिक्षा, आइतबार सिंहदरबारमा बसेको स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा ‘विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन’ पेस गर्नुहुँदै उपसमितिका संयोजक छविलाल विश्वकर्मा। तस्बिरः गोपाल दाहाल÷रासस
आक्रमण न्युज
२०८२ जेष्ठ ४, आईतबार मा प्रकाशित १ साल अघि
३४० पाठक संख्या
काठमाडौँ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई विद्यालय शिक्षा विधेयक–२०८० का सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन बुझाएको छ । आज समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको उपस्थितिमा समिति सभापति अमरबहादुर खड्कालाई उपसमिति संयोजक छविलाल विश्वकर्माले प्रतिवेदन बुझाउनुभएको हो । उपसमिति संयोजक विश्वकर्माले प्रतिवेदनमा विद्यालय सुधारका विषय समेटिएको बताउनुभयो । “प्रतिवेदनमा प्रधानाध्याकलाई जिम्मेवार र जवाफदेही बनाउने हो भने विद्यालय सुधार गर्न सकिन्छ भन्ने कुरा समेटेका छौँ”, उहाँले भन्नुभयो, “चाँडै चाँडै गरिने सरुवालाई नियन्त्रणको व्यवस्था प्रतिवेदनमा समावेश गरिएको छ ।” उपसमिति संयोजक विश्वकर्माले प्रतिवेदनमा अपुरा रहेका कुरालाई समितिमा छलफल गरेर अगाडि बढ्नेसमेत बताउनुभयो । उहाँका अनुसार १६३ दफामा रहेको विधेयकमा उपसमितिले १७२ दफा बनाएको छ । यस्तै, १०१ वटा दफा संशोधन गरिएका छन् । १३ दफा थपिएका, चार वटा दफा हटाइएका र १३ दफा सट्टामा राखिएका छन् । समितिको गत चैत ८ गतेको बैठकले विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो । समितिका अन्य सदस्यमा डिगबहादुर लिम्बू, महेन्द्रकुमार राय, रेखा शर्मा, विना जैसवाल, देवेन्द्र पौडेल, रामप्रकाश चौधरी, विनिताकुमार सिंह, सरिता भुसाल, सुमना श्रेष्ठ र दशरथ धमला रहनुभएको थियो । उपसमितिले ३५ दिनमा ३९ वटा बैठक बसी विधेयकलाई दफावार छलफल गरेको थियो ।
प्रतिक्रिया दिनुहोस