आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

तामाङ भाषा, लिपि प्रवर्ध्दन गर्न घेदुङको अभियान सुरु


  • आक्रमण न्युज
  • २०८२ जेष्ठ १२, सोमबार मा प्रकाशित १ साल अघि
  • ३४६ पाठक संख्या
  • तामाङ समुदायलाई राजनीतितर्फ लाग्न प्रमुख अतिथिको सुझाव

    बविलाल तामाङ

    चितवन । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनको आयोजनामा भरतपुर–११ स्थित भोजाडको छेच्यु थर्पलिङ गुम्बामा तामाङ भाषा, लिपि प्रवर्ध्दन तथा सामुदायिक अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

    जिल्लाभरिका तामाङ समुदायलाई लक्षित गरी सोमबार सम्पन्न कार्यक्रममा तामाङ समुदायभित्र हराउँदै गएको भाषा, लिपि, धर्म, कला, भेषभूषा र संस्कृतिको संरक्षण र प्रवर्ध्दनमा जोड दिइएको थियो।

    घेदुङ चितवनका अध्यक्ष बाबुलाल थिङ तामाङका अनुसार पछिल्लो पुस्तामा तामाङ भाषा र संस्कृतिप्रतिको आकर्षण घट्दै गएपछि समुदायभित्र सचेतना ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। “तामाङ भेषभूषा, धर्म, कला, लिपि, संस्कार तथा संस्कृतिको प्रवद्र्धन र संरक्षण गरौं” भन्ने नाराका साथ कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए।

    नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि मोहन गोलेले उद्घाटन गर्दै तामाङ समुदायको अबको यात्रा राजनीतिक जागरणतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे। उनले भने, “राज्यले तामाङलगायत आदिवासी जनजातिलाई सदियौंदेखि दमन गर्दै आएको छ। अब हामीले आफ्ना हकअधिकारका लागि संगठित राजनीतिक चेतना विकास गर्नुपर्ने बेला आएको छ।”

    कार्यक्रममा डिजिटल माध्यमबाट तामाङ लिपि सिकाउने एपबारे जानकारी दिँदै वाङजु बाइवाले आफ्नो लामो समयको अध्ययन अनुसन्धानको निचोड प्रस्तुत गरे। उनले पछिल्लो पुस्तालाई लक्षित गरी लिपि र भाषा संरक्षणमा डिजिटल प्रविधिको प्रयोग अपरिहार्य रहेको बताए।

    कार्यक्रममा नेपाल तामाङ घेदुङका सचिव गोमनसिंह रुम्बा, बागमती प्रदेश सचिव दिलकुमारी थिङ, सचिवालय सदस्य श्रीप्रसाद तामाङ, भरतपुर तामाङ समाजका संस्थापक अध्यक्ष दिलमाया तामाङ, पूर्वअध्यक्ष गंगालाल लामा, निवर्तमान अध्यक्ष पासाङ तामाङ, छेच्यु थर्पलिङ गुम्बाका पञ्चबहादुर तामाङ, वडा नं. ११ का जनप्रतिनिधि अनिष लामा, दूधपोखरी तामाङ समाजकी कोषाध्यक्ष आइतीमाया तामाङ, पाख्रिन सेवा समाजका शम्भुलाल पाख्रिन लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रममा सहसचिव जीतबहादुर तामाङले स्वागत मन्तव्य दिएका थिए भने सञ्चालन सचिव सन्देश घलान तामाङले गरेका थिए।

    कार्यक्रम घेदुङ चितवनका अध्यक्ष बाबुलाल थिङ तामाङको सभापतित्वमा सम्पन्न भएको हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट