आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

“सूचनाको हक र प्रेस स्वतन्त्रता अनुभूतिमा मात्र सीमित”


  • आक्रमण न्युज
  • २०८२ जेष्ठ १३, मंगलबार मा प्रकाशित १ साल अघि
  • ४३८ पाठक संख्या
  • चितवन । चितवनका पत्रकारहरुले वर्तमान समयमा प्रेस स्वतन्त्रता र सूचनाको हक व्यवहारिक रुपमा कार्यान्वयनमा नआएको गुनासो गरेका छन्। जनपत्रकार सङ्गठन नेपाल बागमती प्रदेशले आयोजना गरेको अन्तर्क्रियात्मक कार्यक्रममा पत्रकारिता क्षेत्रमा क्रियाशील विभिन्न सङ्गठनका प्रतिनिधिहरुले प्रेस स्वतन्त्रता र सूचनाको हक केवल कागजमा सीमित भएको बताएका हुन्।

    कार्यक्रम जनपत्रकार सङ्गठनले दिवंगत पत्रकार तथा साहित्यकार कृष्णसेन इच्छुकको २३औँ स्मृति दिवसको अवसरमा आयोजना गरेको थियो।

    कार्यक्रमका प्रमुख वक्ता तथा नेकपा चितवन जिल्ला इन्चार्ज उत्सव सीले पूर्ण प्रेस स्वतन्त्रता र सूचनाको हकको प्रत्याभूति दिलाउन राज्य गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, “संविधानले सुनिश्चित गरेका अधिकार व्यवहारमा कार्यान्वयन नभएसम्म पत्रकार स्वतन्त्र हुन सक्दैनन्।”

    जनपत्रकार सङ्गठन बागमती प्रदेशका संयोजक सूर्य बरालले कानुनी रुपमा सुनिश्चित देखिए पनि व्यवहारमा पत्रकारहरुले अनेकौँ चुनौती भोगिरहेको बताए। उनले पत्रकारहरुको सुरक्षा र स्वतन्त्रता सुनिश्चित गर्न विशेष ऐन तथा संरचनाको निर्माण अपरिहार्य भएको धारणा राखे।

    नेपाल पत्रकार महासंघ चितवनकी उपाध्यक्ष शान्ता अधिकारीले प्रेस स्वतन्त्रता संकुचित बन्दै गएको अनुभव सुनाउँदै भनिन्, “सूचना माग्दा बहाना, ढिलासुस्ती र झन्झटको प्रवृत्ति बढेको छ।” प्रेसलाई निष्पक्षताका साथ सूचना सम्प्रेषण गर्न पाउनुपर्ने उनको माग थियो।

    प्रेस चौतारी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष नवराज ढकालले पनि संविधानमा उल्लेख भए तापनि व्यवहारमा पूर्ण प्रेस स्वतन्त्रताको अनुभूति हुन नसकेको बताए। उनले पत्रकारहरुले सुरक्षा जोखिमको सामना गर्दै काम गर्नुपर्ने अवस्थाले सरकारको असंवेदनशीलता उजागर गरेको बताए।

    प्रेस सेन्टर नेपालकी केन्द्रीय उपाध्यक्ष तथा मानवअधिकारकर्मी शान्ता अधिकारीले अझै पनि पत्रकारहरु सूचनाबाट वञ्चित भई जोखिममा काम गर्न विवश रहेको धारणा राखिन्। उनले भनिन्, “प्रेस स्वतन्त्रता कार्यान्वयन तहमा पुग्दा अझै पनि खुम्चिएको महसुस हुन्छ।”

    कार्यक्रममा प्रेस सेन्टर नेपाल चितवन अध्यक्ष राजेन्द्र आचार्य, नेपाल प्रेस युनियन चितवनका कोषाध्यक्ष राजु सापकोटा, क्रान्तिकारी पत्रकार सङ्घ चितवनका अध्यक्ष प्रेम कँडेल लगायतका वक्ताहरुले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति दिलाउन राज्य जिम्मेवार बन्नुपर्नेमा जोड दिए।

    चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालले भने शान्ति सुरक्षाको विषयलाई ध्यान दिनुपर्ने बाध्यता औंल्याउँदै, “कतिपय सूचनाको तत्काल प्रवाहले शान्ति सुरक्षामा असर पुर्‍याउन सक्छ” भने। उनले सूचनाको हक कार्यान्वयनमा कन्जुस्याइँ गर्नु नपर्ने स्पष्ट पारे।

    कार्यक्रममा नेकपा माओवादी केन्द्र चितवन जिल्ला इन्चार्ज आरसी अधिकारीले इच्छुकको स्मृतिसभा सबै पत्रकार संगठनहरुको साझा समारोह बन्नुपर्ने बताए। उनले प्रेस स्वतन्त्रता र सूचनाको हकबाट पत्रकार वञ्चित हुनु नहुनेमा जोड दिए।

    कार्यक्रमको सञ्चालन जनपत्रकार सङ्गठन चितवनका अध्यक्ष होमनाथ न्यौपानेले गरेका थिए। कार्यक्रममा वक्ताहरुले दिवंगत पत्रकार कृष्णसेन इच्छुकको योगदानको उच्च मूल्याङ्कन गरेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट