
चितवन । बेलायत लैजान्छु भन्दै रकम असुली ठगी गर्ने ‘बेस्ट ब्रेन एजुकेशन भिजा सर्भिसेस’ विरुद्ध भरतपुर–७ स्थित लाल्सा रेष्टुरेन्टमा आज पीडितहरुले आयोजना गरेको पत्रकार सम्मेलन अभूतपूर्व आक्रमणको घटना बनेको छ।
पीडितहरुले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पटक–पटक उजुरी दिंदा पनि सुनुवाइ नपाएको भन्दै आज पत्रकार सम्मेलनको आयोजना गरेका थिए। तर त्यसक्रममा भरतपुर–४ निवासी ३२ वर्षीया कमला सापकोटा, २३ वर्षीय सागर खरेल, काभ्रेका ३३ वर्षीय सविन थापालगायतका व्यक्तिहरू प्रहरी सहित पत्रकार सम्मेलन स्थलमै पुगेर गुण्डागर्दी शैलीमा पत्रकारमाथि आक्रमण गरेका थिए भने प्रहरी घट्ना भएको अगाडी खडा भई मौन बसेको थियो ।
उनीहरुले पत्रकारको क्यामेरा धकेल्ने, खिचिएको फोटो तथा भिडिओ डिलिट गर्न जबर्जस्ती गर्ने, कुटपिटसमेत गरेको पुष्टि भएको छ। सबैभन्दा आपत्तिजनक कुरा, प्रहरी भने घटनास्थलमा मुकदर्शक बनेर बसेको मात्र होइन, आक्रमणकारीहरूलाई संरक्षण गर्ने भूमिकामा देखिएको छ।
नेपाल पत्रकार महासंघ चितवन शाखासहित पत्रकार सम्बन्धित सबै संघ–संगठनले यस घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघले आक्रमणकारीहरूलाई संरक्षण गर्ने प्रहरीसमेत कारबाहीको दायरामा ल्याउन माग गरेको छ।
“पत्रकारमाथिको आक्रमण लोकतन्त्रमाथिको आक्रमण हो। राज्य संयन्त्रबाटै आक्रमणकारीको संरक्षण हुनु गम्भीर आपराधिक प्रवृत्ति हो,” महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा पत्रकारमाथिको दमनको यो घटनाले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको हनन गरेको भन्दै दोषी सबैलाई अविलम्ब पक्राउ गरी कानुनी दायरामा ल्याई कडा कारबाहीको माग गरिएको छ।
यस घटनाले प्रहरी प्रशासन र स्थानीय सुरक्षा संयन्त्रप्रति गम्भीर प्रश्न उठाएको छ। पत्रकारहरू सुरक्षित नभएको अवस्था लोकतन्त्रको लागि खतरनाक संकेत हो भन्नेमा सबै सरोकारवाला एकमत देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस