काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले यसवर्ष स्वदेशी वस्तुको उत्पादन, वृद्धि र प्रयोगमा जोड दिइने बताउनुभएको छ । नेपाल हस्तकला महासङ्घको ४५औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै सचिव घिमिरेले व्यवसाय सहजीकरण गर्न कार्ययोजना बनाएको जानकारी दिनुभयो । उहाँले स्वदेशी उत्पादन वृद्धि गर्नसके मुलुकको दीर्घकालीन आर्थिक विकास हुनेहुँदा स्वदेशी उत्पादनमा जोड दिइने उल्लेख गर्नुभयो । “लजिस्टिक मास्टर प्लान पनि अन्तिम चरणमा पुगेको छ”, उहाँले भन्नुभयो, “वाणिज्य विभागमा स्वदेशी वस्तुको उत्पादन पोर्टल राख्ने तयारीमा छौँ ।” कार्यक्रममा महासङ्घका अध्यक्ष रविन्द्र शाक्यले हस्तकला व्यापार स्वदेशको आर्यआर्जनको मेरुदण्ड रहेको बताउँदै यसलाई संरक्षण र प्रवर्द्धन गर्न सरकारको ध्यानाकर्षण जरुरी रहेको बताउनुभयो । उहाँले हाल हस्तकला क्षेत्रको व्यापार वार्षिक रु २७ अर्बको निर्यात हुनु सुखद पक्ष रहेको सुनाउनुभयो । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद् विक्रम राणाले पछिल्लो समय हस्तकला सीपको पुस्तान्तरण चुनौती भएकाले सरकारले प्रवर्द्धनमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले युवापुस्तालाई हस्तकलामा उत्साहित गराउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उत्कृष्ट वस्तु निर्यात गर्ने व्यवसायीलाई पुरस्कृत र सम्मानसमेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस