भक्तपुर । एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ (विशेष आयुर्वेदि औषधि) खुवाउने अभियान सुरु गरिएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले मह, ब्राह्मी (घ्यू) र सुनको भष्मबाट बनेको थोपास्वरूप ‘स्वर्ण विन्दु प्राशन’ (विशेष आयुर्वेदि औषधि) खुवाएर आज अभियानको उद्घाटन गर्नुभयो । कार्यक्रममा मन्त्री थापाले प्रदेश सरकार आफैले सरकारले बिरामीलाई निःशुल्क प्रदान गर्ने २२ प्रकारका औषधि उत्पादन गर्न थालेको बताउँदै यसलाई बढाउँदै ३२ प्रकारको आर्युवेदिक औषधि उत्पादनको तयारी गरिरहेको बताउनुभयो । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा आम नागरिकको विश्वास बढेपछि बिरामीको चाप पनि बढेको भन्दै उहाँले बागमती प्रदेशमा कोही पनि नागरिककले स्वास्थ्य उपचार नपाएर ज्यान जानुपर्ने अवस्थाको अन्त्य गर्नेगरी मन्त्रालयले काम गरिरहेको बताउनुभयो । प्रदेशका दुर्गम जिल्ला एवं पालिकामासमेत प्रदेश स्वास्थ्य मन्त्रालय आफै पुगेर आवश्यक जनशक्ति, विभिन्न उपकरण, औषधि वितरण गरिरहेको, शिविरहरू सञ्चालन गरी निःशुल्क उपचारको व्यवस्था गरिएको र यसलाई १३ जिल्लामा अझै विस्तार गर्ने अभियान आगामी महिनादेखि सुरु गर्ने बताउनुभयो । भक्तपुरमा आज ९२ जना बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’को थोपा खुवाइएको र हरेक महिनाको एक पटक उक्त औषधि खुवाइने भएको छ । यो औषधिले अटिज्म देखिएका बालबालिका, मौसमी रुघा लाग्नेलगायत विभिन्न रोग लाग्नबाट रोक्ने छ । ‘स्वर्ण विन्दु प्राशन’ एकदेखि दुई वर्षका बालबालिकालाई दुई थोपा र तीनदेखि पाँच वर्ष मुनिका बालबालिकालाई चार थोपा खुवाउनुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस