
चितवन । भरतपुरस्थित बोस्टन इन्टरनेशनल कलेजले पहिलो पटक व्यापार, नवप्रवर्तन, सुशासन तथा दिगोपनाबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। कलेजले बुधबार पत्रकार सम्मेलन गरी आगामी मंसिर १२ र १३ गते कलेज परिसरमै हुने सम्मेलनका तयारीबारे जानकारी गराएको हो।



सम्मेलन सचिव तथा रिसर्च म्यानेजमेन्ट सेल प्रमुख डा. सुनिल पोखरेलका अनुसार सम्मेलनका आठ वटा टेक्निकल सेशनमार्फत ७६ वटा अनुसन्धान शोधसार प्रस्तुत गरिनेछ। तीमध्ये ४१ वटा शोधसार बोस्टन कलेजका विद्यार्थी तथा संकाय सदस्यद्वारा प्रस्तुत गरिने बताइएको छ।
उद्घाटन समारोह पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा बेदराज केसीले गर्नेछन्। साथै, पूर्वाञ्जल विश्वविद्यालयका उपकुलपति प्राडा बिजु कुमार थपलिया, त्रिभुवन विश्वविद्यालयका डिन प्राडा महानन्द चालिसे, पोखरा विश्वविद्यालयका डिन प्राडा ज्ञानेश्वर शर्मालगायतका विशिष्ट अतिथिहरू सहभागी हुनेछन्।
नेपालसहित मलेसिया, इटली, भारत, हङकङ र अष्ट्रेलियाका शैक्षिक तथा अनुसन्धान विज्ञहरूले की–नोट प्रस्तुति दिने कार्यक्रम रहेको पोखरेलले बताए। सम्मेलनमा दिगोपनालाई व्यापार, नवप्रवर्तन र सुशासनमार्फत कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा गहन बहस, अन्तरक्रिया तथा नेटवर्किङका अवसर उपलब्ध हुनेछ।
उनका अनुसार पाँचभन्दा बढी देशका करिब १५० जना शैक्षिक व्यक्तित्व सम्मेलनमा सहभागी हुने अपेक्षा छ। “नेपाल तथा विदेशका अनुसन्धानकर्ता, उद्योगी–व्यवसायी र नीति निर्माताहरुलाई एउटै मञ्चमा ल्याई दिगोपनालाई व्यवहारिक रूपमा अघि बढाउने उपायमा केन्द्रित छलफल हुने भएकाले सम्मेलन अत्यन्त उपयोगी प्लेटफर्म बन्नेछ,” पोखरेलले बताए।
बोस्टन इन्टरनेशनल कलेजले पहिलो पटक आयोजना गर्न लागेको यो सम्मेलन बहुविषयक अनुसन्धान, अन्तर्राष्ट्रिय सहकार्य र नवप्रवर्तन प्रवद्र्धनमा महत्वपूर्ण माइलस्टोन बन्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस