आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

चितवनमा अन्तरराष्ट्रिय ‘डेरी एक्स्पो’ माघ २५देखि २९ गतेसम्म


  • आक्रमण न्युज
  • २०८२ माघ २२, बिहिबार मा प्रकाशित ६ महिना अघि
  • ८२ पाठक संख्या
  • चितवन । चितवनमा माघ २५ गतेदेखि अन्तरराष्ट्रिय ‘डेरी एक्स्पो’ आयोजना हुने भएको छ । ‘डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि’ भन्ने मूल नाराका साथ सुरु हुन लागेको उक्त एक्स्पो माघ २९ गतेसम्म सञ्चालन हुनेछ ।

    एक्स्पोको मुख्य आकर्षणका रूपमा उन्नत जातका गाईको प्रदर्शनी गरिने भएको छ । व्यावसायिक रुपमा राम्रो नश्लका गाई कहाँ उपलब्ध छन् र तिनबाट किसानले कसरी बढी फाइदा लिन सक्छन् भन्ने विषयमा जानकारी दिन गाई प्रदर्शनी आयोजना गर्न लागिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार चितवनसहित विभिन्न जिल्लामा पालिएका उत्कृष्ट नश्लका गाईहरू एक्स्पोमा प्रदर्शनी गरिनेछ भने तिनको उत्पादन क्षमता, हेरचाह तथा आर्थिक लाभका विषयमा समेत किसानलाई जानकारी गराइनेछ ।

    डेरी एक्स्पोका अन्य आकर्षणमा मानव स्वास्थ्यमा दुग्धजन्य पदार्थको आवश्यकता र महत्व विषयक वक्तृत्वकला प्रतियोगिता, दूध उत्पादनको वर्तमान अवस्था, बजारमा देखिएका समस्या र समाधानका उपायसम्बन्धी अन्तरक्रिया कार्यक्रम समावेश छन् । साथै पशुपालनमा देखिने रोग र उपचार विधि, दूधको गुणस्तरीय उत्पादन, उत्पादकत्व वृद्धि गर्न प्रविधिको प्रयोग, दुग्ध क्षेत्रको अवस्था, चुनौती र नीतिगत व्यवस्थाबारे विस्तृत छलफल गरिने जनाइएको छ ।

    आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै अध्यक्ष बगालेले एक्स्पोमा नेपाल र भारतका गरी १२० दुग्ध उत्पादक तथा प्रविधि कम्पनीको सहभागिता रहने बताउनुभयो । चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा आयोजना हुने यस एक्स्पोले डेरी उत्पादन, प्रक्रिया र वितरणमा प्रयोग भइरहेका नवीनतम प्रविधि र अभ्यासलाई प्रवर्द्धन गर्दै साना किसान, उद्योगी र व्यापारीलाई व्यावसायिक सञ्जालमा जोड्ने विश्वास लिइएको छ ।

    आयोजकका अनुसार एक्स्पो अवधिभर करिब ५० हजार दर्शकले अवलोकन गर्ने र रु पाँचदेखि सात करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको छ । चितवन जिल्लामा हाल दैनिक करिब तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ, जसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्ला बाहिर आपूर्ति हुँदै आएको छ । जिल्लामा रहेका ११५ दुग्ध उत्पादक सहकारीमार्फत ४० हजारभन्दा बढी किसान आबद्ध रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट