काठमाडौँ। यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पूर्वअध्यक्ष एवम् वरिष्ठ यातायात व्यवसायी हिरा उदासको निधन भएको छ ।
महासङ्घका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले आज शोक विज्ञप्ति जारी गरी पूर्वअध्यक्ष उदासको उपचारका क्रममा आज विराट मेडिकल शिक्षण अस्पताल विराटनगरमा निधन भएको जानकारी दिनुभयो । उदास विसं २०६१ वैशाख २१ देखि २३ गतेसम्म धरानमा सम्पन्न महासङ्घको महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभएको थियो ।
उहाँको निधनले महासङ्घले एक कुशल अभिभावक गुमाएको र सिङ्गो सार्वजनिक यातायात क्षेत्र स्तब्ध भएको महासङ्घले जनाएको छ । स्व उदासले सार्वजनिक यातायात क्षेत्रको बृहत् एकता, समुन्नत विकास र सुधारमा पुर्याउनु भएको अतुलनीय योगदानप्रति उच्च सम्मान गर्दै महासङ्घले यातायात क्षेत्रका धरोहर व्यक्तित्वको निधनले यातायात जगत्मा अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ ।
महासङ्घले उदासको योगदानको स्मरण गर्दै केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र महासङ्घका देशभरका सदस्य कम्पनीको कार्यालयमा तीन दिनसम्म झन्डा आधा झुकाउने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस