
चितवन ।आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै चितवनका निर्वाचन क्षेत्र नम्बर २ र ३ का सबै मतदान केन्द्रमा आवश्यक निर्वाचन सामग्री सुरक्षित रूपमा पु¥याइएको छ ।
जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार मतपत्र, मतपेटिका, मतदान अधिकृतका लागि आवश्यक कागजात, मसी, स्ट्याम्पलगायतका सम्पूर्ण सामग्री सोमबार बिहानै सुरक्षा व्यवस्थासहित सम्बन्धित केन्द्रहरूमा ढुवानी गरिएको हो। सामग्री ढुवानीका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल को विशेष सुरक्षा व्यवस्था मिलाइएको थियो।
जिल्ला निर्वाचन कार्यालय चितवनका सूचना अधिकृत नेत्रराज श्रेष्ठले क्षेत्र नम्बर २ र ३ का सबै मतदान केन्द्रमा आवश्यक सामग्री समयमै पुगेको जानकारी दिँदै मतदान कार्यतालिका अनुसार सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएको बताए।
“मतदान प्रक्रिया स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन सबै पक्षसँग समन्वय गरिएको छ। सोमबार बिहान लगिएका मतदान सामग्री चितवन–२ र ३ का सबै मतदान केन्द्रमा पुगेको विवरण प्राप्त भएको छ,” उनले भने, “क्षेत्र नम्बर १ का मतदान केन्द्रमा पुगेको विवरण आउन बाँकी छ।”
यसैबीच, मतदान अधिकृत तथा कर्मचारीहरू पनि आ–आफ्ना केन्द्रमा खटिइसकेका छन्। कर्मचारीहरूले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट सामग्री बुझेर मतदान स्थलतर्फ प्रस्थान गरेका थिए। चितवन क्षेत्र नं. २ को हकमा अन्य निर्वाचन सामग्रीहरू जिल्ला निर्वाचन कार्यालयबाट वितरण गरिएको थियो भने मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट वितरण भइरहेको जिल्ला निर्वाचन अधिकृत भीमसेन कार्कीले जानकारी दिए।
मतदान निर्धारित मिति र समयमा सञ्चालन हुने निर्वाचन आयोगले जनाएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले मतदातालाई निर्धक्क र शान्तिपूर्वक मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।
चितवन जिल्लामा कुल ४ लाख ४२ हजार ८२ मतदाता रहेका छन्। त्यसमध्ये २ लाख २४ हजार ७६६ महिला, २ लाख १७ हजार ३१४ पुरुष तथा २ जना अन्य मतदाता रहेका छन्। साथै ३ हजार १ सय ८५ अस्थायी मतदाता रहेका छन्, जसमध्ये १ सय ६२ जना कारागारमा रहेका कैदिबन्दी हुन्। उनीहरूले समानुपातिक तर्फ मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ।
निर्वाचन सम्पन्न भएपछि मतगणनाको तयारी पनि तीव्र पारिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार मतगणना स्थलमा तारबारसहित सिसिक्यामेरा जडानको तयारी भइरहेको छ। चितवन क्षेत्र नम्बर १ को मतगणना भवानी शंकर कलेज, क्षेत्र नम्बर २ को उद्योग संघको प्रदर्शनी केन्द्र र क्षेत्र नम्बर ३ को कृषि तथा वन विज्ञान विश्वविद्यालय मा हुने जानकारी दिइएको छ।
चितवनमा हाल १ सय ६२ मतदान स्थल र ४ सय ९४ मतदान केन्द्र कायम गरिएको छ। जिल्लामा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सबै निकाय सक्रिय रूपमा जुटेका छन्।


प्रतिक्रिया दिनुहोस