
चितवन — चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार रेनु दाहाल ले आफू भाषणभन्दा कामलाई प्राथमिकता दिने नेतृ भएको बताएकी छन्। घरदैलो अभियानका क्रममा मतदातासँग संवाद गर्दै उनले भनिन्, “म बोलीसँगै काम गरेर देखाउने मान्छे हुँ। जनताले आशा र विश्वासका साथ दिएको मतको सम्मान गर्दै परिणाम दिनु मेरो जिम्मेवारी हो।”
दाहालले जनप्रतिनिधिको मूल दायित्व भनेको जनतासँग गरेका प्रतिबद्धतालाई व्यवहारमा उतार्नु भएको उल्लेख गरिन्। “इमान्दारीका साथ काम गर्ने र गरेका वाचालाई पूरा गर्ने नेतृ हुँ भन्ने कुरा भरतपुरवासीलाई नयाँ होइन,” उनले भनिन्।
आफू महानगर प्रमुखको नेतृत्वमा रहँदा पूर्वाधार विकास, सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन, सरसफाइ अभियान तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गर्दै उनले विकास कागजमा मात्र सीमित नभई व्यवहारमा देखिनु आवश्यक रहेको बताइन्। “जनताले परिवर्तन महसुस गर्न पाउनुपर्छ। त्यसका लागि म निरन्तर काम गरिरहेकी छु र अझै चितवनको समग्र विकासमा केन्द्रित रहनेछु,” उनले थपिन्।
राजनीतिक प्रतिस्पर्धालाई सकारात्मक रूपमा लिने बताउँदै दाहालले सबै पक्षसँग सहकार्य गरेर अघि बढ्न आफू तयार रहेको जनाइन्। दीर्घकालीन सोचसहित दिगो विकासको आधार तयार पार्न प्राथमिकता दिएको उल्लेख गर्दै उनले समावेशी र उत्तरदायी शासन प्रणालीमार्फत जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
उनले विकास निर्माण, सुशासन र पारदर्शितालाई आफ्नो नेतृत्वको मुख्य आधार बनाएको स्पष्ट पार्दै आलोचना र चुनौतीका बीच पनि परिणाममुखी काममार्फत विश्वास जित्नु नै आफ्नो लक्ष्य भएको बताइन्। “जनताले देखिने परिवर्तन चाहेका छन्, र त्यसका लागि म जिम्मेवारीपूर्वक अघि बढ्नेछु,” दाहालले भनिन्।

प्रतिक्रिया दिनुहोस