कालीकोट। देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका बेला कालीकोटमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । पशु सेवा कार्यालय कालीकोटले बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह गरेको हो ।
जिल्लाभित्र कुखुरामा बर्डफ्लु फैलिन सक्ने भएकाले सतर्कताका साथ पूर्वतयारीमा रहन कुखुरापालक किसानलाई अनुरोध गरिएको छ । कुखुरा फार्म, मासु पसल तथा कुखुरापालक किसानलाई रोग नियन्त्रणका लागि पूर्वतयारीमा रहन अनुरोध गरिएको जिल्ला पशु कार्यालयका प्रमुख धनबहादुर महतले जानकारी दिनुभयो ।
“हालसम्म जिल्लामा बर्डफ्लुको कुनै शङ्कास्पद घटना वा सङ्क्रमण पुष्टि भएको छैन्,” उहाँले भन्नुभयो, “रोग नियन्त्रणका लागि आवश्यक सतर्कता अपनाई सचेतना फैलाउने काम भइरहेको छ ।” जिल्ला बाहिरबाट जीवित कुखुरा तथा चल्ला भित्र्याउँदा निगरानी बढाउने, फार्ममा जैविक सुरक्षाका मापदण्ड पालना गर्ने, अनावश्यक व्यक्तिलाई प्रवेश नदिने, दाना–पानी सफा राख्ने तथा कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर मात्र उपभोग गर्न आग्रह गरिएको प्रमुख महतले बताउनुभयो ।
उहाँका अनुसार कुखुरामा शङ्कास्पद लक्षण देखिएमा नजिकको पशु सेवा कार्यालयलाई जानकारी गराउन पनि अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस