झापा। झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । समयमै मनसुन सक्रिय भई पर्याप्त वर्षा भएपछि यस वर्ष रोपाइँले अपेक्षाकृत गति लिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीका अनुसार सोमबारसम्म जिल्लाभर करिब ८८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको हो ।
उहाँका अनुसार दमक नगरपालिका र कमल गाउँपालिकामा सबैभन्दा बढी ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ भने गौरीगञ्ज गाउँपालिकामा सबैभन्दा कम ७५ प्रतिशत रोपाइँ भएको छ । जिल्लामा सामान्यतया असारको पहिलो सातादेखि धान रोपाइँ सुरु भई साउनको अन्तिमसम्म जारी रहने गर्छ ।
असार १५ देखि साउन १५ गतेसम्मको अवधिलाई मुख्य रोपाइँको समय मानिन्छ । यस वर्ष मनसुन समयमै सक्रिय हुँदा रोपाइँ गर्न सहज भएको हो। जिल्लामा करिब ७५ हजार ४५९ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस