काठमाडौँ । राष्ट्रियसभा बैठकको आकस्मिक समयमा सांसदहरूले देशमा सामाजिक सद्भाव कायम गरी धार्मिक तथा जातीय एकतामा जोड दिन अपिल गर्नुभएको छ । सांसद आनन्दप्रसाद ढुङ्गानाले सुनसरीको घटनाले धार्मिक द्वन्द्वले समाजको सद्भाव बिथोल्ने हुँदा देश एकतामा सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।
उहाँले सरकारले तत्काल सुनसरीको घटनाको समाधान खोज्नसमेत आग्रह गर्नुभयो । सांसद पूजा चौधरीले देशमा हिन्दू, मस्लिम, सिख, बुद्ध, इसाईलगायत सबै धर्म आस्थाले एकबद्ध रहेको बताउनुभयो । नेपालमा सबै जात, समुदाय, धर्मको भाइचारा सम्बन्ध रहेको बताउँदै यो एकतालाई कायम राख्नुपर्नेमा जोड दिनुभयो । सांसद जयन्तीदेवी राईले साउन ११ गते आइतबार डिजेबाजा र धार्मिक झण्डाका विषयमा उठेको स्थानीयबीच विवादको उठान गर्नुभयो ।
उहाँले दङ्ग सुरु हुनपूर्व नै सरकारले समाधानको बाटो रोज्नुपर्थ्यो भन्नुभयो । सांसद रोश्नी मेचेले सरकारले संवेदनशील भएर सुनसरीको घटनाको समाधान बेलैमा गर्नुपर्ने बताउनुभयो । “यो देश निर्माण हामी सबै जातजाति मिलेर निर्माण गरेको हो”, उहाँले भन्नुभयो, “पीडित परिवारलाई पूर्ण न्याय र क्षतिपूर्तिको व्यवस्था गरिनुपर्छ ।”
सांसद तुलप्रसाद विश्वकर्माले सम्पूर्ण देशवासीलाई संयमित रहन, जातिय, धार्मिक हिंसा भड्काउने कुरामा सहभागी नहुन र देशलाई शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्न अपिल गर्नुभयो । सुनसरीबाट सुरु भएको साम्प्रदायिक द्वन्द्व फैलिन नदिन सरकारले बेलैमा कदम चाल्नुपर्ने सुझाव दिनुभयो ।
प्रतिक्रिया दिनुहोस