
चितवन | नेपाली नारीहरूको महान पर्व हरितालिका तीज–२०८३ को अवसरमा चितवनमा राष्ट्रिय चर्चित कलाकारहरूको सहभागितासहित भव्य सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ।
लक्की मिडिया हाउस चितवनको आयोजनामा तथा डल्फिन फनपार्क एण्ड रिसोर्टको व्यवस्थापनमा “लुलु लेडिज ब्यूटी पार्लर तीज विशेष कार्यक्रम” भदौ २५ गते बिहीबार साँझ ६ बजेदेखि भरतपुर–९, स्टेप बाइ स्टेप स्कुल अगाडि रहेको संगमटोलस्थित डल्फिन फनपार्क एण्ड रिसोर्टमा सञ्चालन हुनेछ।
कार्यक्रममा लोकदोहोरी क्षेत्रका वरिष्ठ तथा राष्ट्रिय चर्चित गायक राजु परियार र चर्चित गायिका शिला आले को विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। तीज पर्वको मौलिक संस्कृति, परम्परा र नेपाली लोकसंगीतलाई एकै थलोमा प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जनात्मक तथा सांस्कृतिक अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ।
लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक तथा कार्यक्रम संयोजक हरि कार्की ‘लक्की’ ले कार्यक्रमलाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको बताए। उनका अनुसार चितवनका तीजप्रेमी दर्शकका लागि यस वर्षको सबैभन्दा विशेष सांगीतिक उत्सव बनाउने उद्देश्यका साथ सम्पूर्ण व्यवस्थापन अघि बढाइएको छ।
डल्फिन फनपार्क एण्ड रिसोर्टका प्रबन्ध निर्देशक सन्तलाल गुरुङ ले सहभागी दर्शकलाई तीजको उल्लासपूर्ण वातावरण, उत्कृष्ट आतिथ्य र गुणस्तरीय मनोरञ्जन उपलब्ध गराउने गरी आवश्यक सम्पूर्ण तयारी पूरा हुने जानकारी दिए।
राष्ट्रियस्तरका चर्चित कलाकारहरूको प्रत्यक्ष प्रस्तुति रहने भएकाले “लुलु लेडिज ब्यूटी पार्लर तीज विशेष कार्यक्रम” यस वर्ष चितवनको तीज उत्सवको प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस