म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नम्बर वडामा पर्ने बरङ्जाका मगर समुदायमा आगोदेउ पर्वको रौनक छाएको छ । बरङ्जामा बसोबास गर्ने नौ थरका ५४ कुरिया मगरले हरेक वर्षको कुकुर तिहारदेखि तीन दिन आगोदेउ पर्व मनाउने गर्छन् । खेतीबाली राम्रो उब्जनी होस् र आगजनीजन्य विपद् नहोस् भन्ने कामनासहित प्रकृतिको पूजा गरेर यो पर्व मनाउने प्रचलन रहेको मङ्गला गाउँपालिका–४ का वडाध्यक्ष लालबहादुर रोकाले जानकारी दिनुभयो ।
“धार्मिक विधिअनुसार पूजाआजा गरी कुकुर तिहारको दिन सुरु हुने सो पर्वमा प्रकृतिको पूजा हुने गर्छ”, उहाँले भन्नुभयो, “परापूर्वकालदेखि नै उक्त पर्व मनाउने चलनलाई निरन्तरता दिएका छौँ ।” खेतीबाली उब्जनी हुन छाडेको बरञ्जाको खेतबारीमा देवी देवताको पूजाआजा गरेपछि पुनःउत्पादन हुन थालेपछि आगोदेउ पर्व मनाउने चलन सुरु भएको जानकारको भनाइ छ । आगोका कारण कुनै दुर्घटना, विपद् नहोस् भन्ने कामना गर्न यो पर्व मनाइने उहाँले बताउनुभयो ।
बरङ्जाको शिलाथुरस्थित थानमा मगर झाँक्रीले पूजाआजा गरेपछि पर्व सुरुआत भएको मानिन्छ । दोस्रो दिन साँझ सो ठाउँमा भेडाको साँढलाई पूजागरी बलि चढाइन्छ । यसैगरी, आगो बाल्ने र मार्ने गरिन्छ । तेस्रो दिन कमेरोले रङ्ग्याएको ढुङ्गालाई काट्ने र पूजाआजा गरेपछि पर्व सकिएको मानिन्छ । बरङजामा बसोबास गर्ने पुन, घर्ती, रोका, राम्जाली रोका, बझाङ्गे रोका, गाउँथोके घर्ती र बूढाथोकी थरका मगरले आगोदेउ पर्व मनाउँछन् ।
कात्तिकमा आगोदेउ र जेठमा धुले मेला बरङ्जाका मगरले धुमधामसँग मनाउने गर्छन् । जेठ महिनाको दोस्रो अथवा तेस्रो हप्ताको मङ्गलबारदेखि तीन दिनसम्म मनाइने धुले पर्वपछि थर्पु गाउँमा परम्परागत मेला लाग्ने गर्छ । हिउँदभरी खेतबारी सुकेर धुलैधुलो हुने र पानी परेपछि खेती गर्न योग्य हुनेहुनाले त्यसको खुसीयालीमा धुले पर्व मनाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस