काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले तिहार तथा छठ पर्वका समयमा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
कार्यालयमा आज आयोजित तिहार तथा छठपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले चाडपर्वका समयमा ट्राफिक व्यवस्थापनमा कुनै पनि कमी कमजोरी हुन नदिन उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभएको हो । उहाँले नागरिकले हर्षोल्लासका साथ चाडपर्व मनाउन पाउनु नै प्रहरीको खुसी भएको उल्लेख गर्दै नागरिकलाई सहज र सुरक्षित आवागमनको वातावरण सुनिश्चित हुनेगरी ड्युटीमा खटिन आग्रह गर्नुभयो ।
चाडपर्वका समयमा सवारी दुर्घटनाका घटना बढी हुने सम्भावना रहेकाले दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखेर सक्रिय रूपमा ट्राफिक व्यवस्थापन गर्न उहाँले मातहतका निकायलाई निर्देशन दिनुभयो । कार्यक्रममा सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका निकायका ट्राफिक प्रहरी अधिकृतलगायत कर्मचारीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस