
चितवन । नारायणी नदी किनारमा जारी दोस्रो नारायणी महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता देखिएको छ । महोत्सवको दोस्रो दिनमै करिब १५ हजार दर्शक सहभागी भएको आयोजकले जनाएको छ । महोत्सव परिसरमा निर्माण गरिएको आकर्षक पिरामिड शैलीको प्रवेशद्वार तथा मनोरञ्जनात्मक गतिविधिले दर्शकको ध्यान खिचेको छ ।



नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा मंसिर ३ गतेदेखि सुरु भएको महोत्सव रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिको आयोजना तथा आदिवासी महासंघ जिल्ला समन्वय परिषद् चितवनको सहआयोजनामा सञ्चालन भइरहेको छ । महोत्सवको पहिलो दिन निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो भने दोस्रो दिनदेखि दर्शकको उल्लेख्य उपस्थिति देखिएको आयोजकले जनाएको छ । महोत्सव मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवको प्रवेशद्वारमा निर्माण गरिएको पिरामिड शैलीको गेट आगन्तुकका लागि विशेष आकर्षण बनेको छ । उक्त गेटमा फोटो तथा भिडियो खिच्ने दर्शकको बाक्लो उपस्थिति देखिएको छ । नारायणी नदी र आसपासको प्राकृतिक दृश्यलाई आकाशबाट नियाल्न सकिने हट एयर बेलुनको व्यवस्था पनि महोत्सवमा गरिएको छ ।
त्यस्तै, जिरो ग्र्याभिटी राइडसहित बालबालिका, युवा तथा परिवारलाई लक्षित विभिन्न मनोरञ्जनात्मक खेल, राइड तथा गतिविधि सञ्चालन भइरहेका छन् । महोत्सव परिसरमा व्यापारिक स्टल, प्रदर्शनी कक्ष, स्थानीय उत्पादन, हस्तकला, घरेलु तथा साना उद्योगका सामग्री, होटल तथा रेस्टुरेन्ट र विभिन्न स्वादका खानाका परिकार उपलब्ध छन् ।
नारायणी नदी किनारलाई पर्यटनसँग जोड्दै भरतपुर तथा समग्र चितवनको आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । आन्तरिक पर्यटक आकर्षित गर्ने, स्थानीय होटल तथा रेस्टुरेन्ट व्यवसायलाई प्रवर्द्धन गर्ने, कलाकार तथा सांस्कृतिक प्रतिभालाई अवसर प्रदान गर्ने, स्थानीय उत्पादनको बजारीकरण गर्ने र स्थानीय संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्य आयोजकले लिएको छ ।
महोत्सवलाई व्यवस्थित, सुरक्षित र सहज बनाउन सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय तथा ट्राफिक प्रहरीसँग समन्वय गरिएको आयोजकले जनाएको छ । सवारी व्यवस्थापन, पार्किङ, पैदल यात्रुको आवागमन, सरसफाइ, प्राथमिक उपचार तथा आपत्कालीन व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।
बाढीका कारण कुरूप र अस्तव्यस्त बनेको नारायणी नदी किनारलाई आयोजकले आफ्नै लगानीमा सम्याएर महोत्सव सञ्चालन गरेको जनाएको छ । महोत्सवलाई संस्थागत सफलताभन्दा पनि भरतपुरको पर्यटन, व्यापार, मनोरञ्जन तथा आर्थिक विकाससँग जोडिएको साझा उपलब्धिका रूपमा लिइएको आयोजकको भनाइ छ ।
महोत्सव प्रवेशका लागि साधारण टिकट रु. १०० र विद्यार्थी टिकट रु. ८० निर्धारण गरिएको छ । केही दिन साँझ ५ बजेदेखि ९ बजेसम्म विशेष कन्सर्ट सञ्चालन हुनेछ । कन्सर्ट जोनमा प्रवेश गर्न साधारणतर्फ रु. ३०० र भिआइपीतर्फ रु. ५०० टिकट शुल्क लाग्ने व्यवस्था गरिएको छ । कन्सर्टमा सहभागी नहुने दर्शकले भने साधारण टिकटमै महोत्सव अवलोकन गर्न सक्नेछन् ।
आयोजकले महोत्सवमा सहभागी भई पर्यटन, स्थानीय व्यापार तथा मनोरञ्जन प्रवर्द्धनको अभियानलाई सफल बनाउन दर्शक तथा सर्वसाधारणलाई आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस