
नेपालगन्ज जेठ २ – मंगोलियाको उलानबटोरमा आयोजना हुन गइरहेको आगामी एशियन च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै तेक्वान्दो पुम्से खेलाडीहरूको टोली त्यसतर्फ प्रस्थान गर्ने भएको छ । यही मे १९ र २०, २०२६ मा सञ्चालन हुने उक्त प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रको झण्डा फहराउन नेपाली टोली तयार भएको हो ।
यसपटकको प्रतियोगिता कोहलपुरबासीका लागि थप ऐतिहासिक र गौरवपूर्ण बनेको छ । प्रतियोगितामा भाग लिन जाने खेलाडीहरूमध्ये बाँके जिल्लाको कोहलपुर नगरपालिका ११ का स्थानीय बासिन्दा कमल राना पनि नेपाली टोलीको तर्फबाट रिङमा उत्रिँदै भएका छन् । कोहलपुरबाट आफ्नो खेल यात्रा सुरु गरी विभिन्न राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगिताहरूमा पदक जितेर आफ्नो प्रतिभा प्रमाणित गरिसकेका रानाले पछिल्लो समय नेपाल तेक्वान्दो संघको विशेष प्रशिक्षणमा रहेर तयारी गरिरहेका थिए । कमलको यो अन्तर्राष्ट्रिय यात्रालाई कोहलपुरको खेलकुद इतिहासमै अर्को एउटा महत्वपूर्ण र ऐतिहासिक पलका रूपमा हेरिएको छ ।
मंगोलियाको उलानबटोरमा हुने यस च्याम्पियनसिपमा मुख्य प्रशिक्षक कबिराज खड्कीको नेतृत्वमा खेलाडीहरू कमल राना, युवराज राना र स्वस्तिका तामाङले वैदेशिक भुमिमा नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् ।
उत्कृष्ट मिहिनेतका साथ नेपाली खेलकुदको साख बढाउन वैदेशिक यात्रामा निस्कन लागेको यस सम्पूर्ण नेपाली तेक्वान्दो टोली तथा विशेष गरी कोहलपुरका गौरव कमल रानालाई शानदार प्रदर्शन र ऐतिहासिक जितको हार्दिक शुभकामना व्यक्त समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस