
चितवन । नेपाल र लाओसबीच औद्योगिक, व्यापारिक, सांस्कृतिक तथा प्रविधिगत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित चितवन उद्योग संघ र लाओ नेशनल चेम्बर्स अफ कमर्श एण्ड इन्डष्ट्रिजबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर सम्पन्न भएको छ।
चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे तथा लाओ नेशनल चेम्बर्स अफ कमर्श एण्ड इन्डष्ट्रिजका कार्यकारी उपाध्यक्ष थानोङसिंह कनलयाबीच उक्त समझदारी पत्रमा हस्ताक्षर गरिएको हो। सम्झौताले नेपाल र लाओसबीचको आर्थिक तथा औद्योगिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।
सम्झौता अनुसार दुवै देशका उद्यम, संस्था, फर्म तथा उद्यमीहरूबीच प्रत्यक्ष सम्पर्क विस्तार गर्ने, अर्थतन्त्र, वैदेशिक व्यापार, व्यावसायिक गतिविधि, कानुनी व्यवस्था तथा बजार सञ्चालनसम्बन्धी जानकारी आदान–प्रदान गर्ने विषयमा सहकार्य गरिनेछ। साथै औद्योगिक विकास र लगानी प्रवर्द्धनका लागि सेमिनार, सम्मेलन तथा अन्तरक्रियात्मक कार्यक्रममार्फत व्यावसायिक क्षेत्रका प्रतिनिधिहरूबीच सम्बन्ध विस्तार गरिनेछ।
यस्तै नेपाल र लाओसमा आयोजना हुने औद्योगिक प्रदर्शनी, व्यापार मेला तथा अन्य प्रवर्द्धनात्मक कार्यक्रमहरूमा समेत संयुक्त सहकार्य गर्ने समझदारी भएको छ। यस सम्झौताले दुई देशबीच ‘भगिनी सम्बन्ध’ स्थापना गर्दै दीर्घकालीन आर्थिक साझेदारीको आधार तयार गरेको जनाइएको छ।
यसैबीच, चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेको नेतृत्वमा २०८३ जेठ १७ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय औद्योगिक अवलोकन भ्रमण अन्तर्गत लाओसका विभिन्न औद्योगिक क्षेत्र, खानी उद्योग, विद्युत् गृह, उत्पादनमूलक उद्योग तथा पर्यटकीय एवं धार्मिक स्थलहरूको अवलोकन गरिने कार्यक्रम रहेको छ।
भ्रमण टोलीमा संघका पूर्वअध्यक्ष राजु पौडेल, उपाध्यक्षहरू प्रमेश्वर भण्डारी र विशाल चापागाईं, कार्यसमिति सदस्यहरू खिलप्रसाद घिमिरे र अर्जुन सापकोटा तथा उद्योगीहरू विष्णुप्रसाद घिमिरे र पुष्कर पौडेलको सहभागिता रहेको छ।
चितवन उद्योग संघको वार्षिक कार्ययोजनाअनुसार सञ्चालन गरिएको सातदिने अन्तर्राष्ट्रिय औद्योगिक अवलोकन भ्रमणको संयोजन संघका उपाध्यक्ष तथा भ्रमण विभागका विभागीय संयोजक विशाल चापागाईंले गर्नुभएको छ।
उद्योग, व्यापार, प्रविधि र सांस्कृतिक आदान–प्रदानलाई एकसाथ जोड्ने यो समझदारीले नेपाल–लाओस सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै दुवै देशका निजी क्षेत्रबीच सहकार्यका नयाँ अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस