
जनता रैका
कोहलपुर, बाँके | रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि कोहलपुरस्थित पी.बी.टी. वेस्ट इन्डस्ट्रिज प्रा.लि. ले रु. १ लाख ५१ हजार १५१ सहयोग गरेको छ।
कोहलपुर नगरपालिका–९, बाँकेमा रहेको कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। कम्पनीकी सञ्चालिका अन्जना पाण्डे ले विपद्को कठिन घडीमा पीडित परिवारलाई साथ दिनु सामाजिक उत्तरदायित्व भएको बताउँदै राहत तथा पुनर्स्थापनामा सानो भए पनि योगदान पुर्याउने उद्देश्यले सहयोग गरिएको जानकारी दिइन्।
सरकारी विवरणअनुसार २०८३ भदौ १० गते बिहान ८:४० बजे रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो। प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहतका कार्य जारी रहे पनि दीर्घकालीन पुनर्स्थापनाका लागि थप स्रोत आवश्यक रहेको सरकारले जनाएको छ।
नेपाल सरकारले स्वदेश तथा विदेशमा रहेका व्यक्ति, व्यवसायी, संघसंस्था र विभिन्न क्षेत्रलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्न आह्वान गरेसँगै निजी क्षेत्रबाट समेत सहयोग जुट्न थालेको छ।
पशुपन्छी पोषणसम्बन्धी उद्योगका रूपमा सञ्चालनमा रहेको पी.बी.टी. वेस्ट इन्डस्ट्रिजले विपद्प्रति मानवीय संवेदना प्रकट गर्दै प्रभावित नागरिकको राहत अभियानमा साथ दिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस