आज: २०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

एमाले चितवनको जिल्ला अधिवेशन जेठ १० गतेदेखि


  • आक्रमण न्युज
  • २०८१ बैशाख ४, मंगलबार मा प्रकाशित २ साल अघि
  • ६४४ पाठक संख्या
  • वैशाख ४, २०८१
    चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको ११ औँ जिल्ला अधिवेशन आगामी जेठ १० देखि गर्ने निर्णय भएको छ ।

    जिल्ला कमिटी बैठकले जेठको १०, ११ र १२ गते अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनको खुला सत्रमा पार्टी अध्यक्ष केपि शर्मा ओलीलाई सहभागी हुन अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ ।

    अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा ४ सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ । त्यसैगरी विभिन्न उपसमितिहरु समेत बनेका छन् ।

    मूल व्यवस्थापन समितिमा पार्टी जिल्ला कमिटी, पालिका कमिटी एवम् जन संगठनका जिल्ला कमिटी, नगर कमिटी पदाधिकारी र चितवन भूगोलमा कार्यक्षेत्र रहेका प्रदेश र केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरु समावेश गरी ४ सय ९९ जना बनाइएको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

    अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति समेत बनाइएको छ । त्यसैगरी उपाध्यक्ष कमलराज पाठकको संयोजकत्वमा आर्थिक प्रतिवेदन उपसमिति, सचिव प्रकाश खनाल ‘शैलेश’को संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन उपसमिति, उपसचिव प्रकाश ढुंगानाको नेतृत्वमा प्रचारप्रसार उपसमिति, कार्यालय सचिव श्याम विष्टको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, उपसचिव चन्द्रकान्त न्यौपानेको संयोजकत्वमा अग्रज सम्मान उपसमिति बनाइएको छ । यी लगायत अधिवेशन सम्पन्न गर्न विभिन्न विभागीय समितिहरु समेत बनाइएको छ ।

    २०८० सालसम्म नवीकरण भएका करिब १२ हजार संगठित सदस्यहरुबाट चयन गरेर करिव ७०० जनालाई जिल्ला अधिवेशन प्रतिनिधिका रुपमा सहभागी गराइने अध्यक्ष न्यौपानेले जानकारी दिए । एमालेले प्रत्येक ३र३ वर्षमा जिल्ला अधिवेशन गर्ने गर्दछ ।

    त्यसैगरी जिल्ला कमिटी बैठकले नेकपा एमाले चितवनले सुरु गरेको ‘जनतासँग एमाले अभियान’ लाई बैशाख १० गतेसम्म लम्बाएको छ । फागुन १५ बाट अभियान सुरु भएको थियो ।

    बिस्तारै अधिवेशनको माहोल तात्दै गएको चितवनमा पार्टीलाई सुदृढ गर्न र मिशन ८४ लाई सफल बनाउन मिलेर नेतृत्व चयन गर्नुपर्ने आम कार्यकर्ताले धारणा व्यक्त गरिरहेका छन् । कार्यकर्ताको धारणाभन्दा बाहिर जान नसकिने नेतृत्व तहले बताइरहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट