आज: २०८३ बैशाख ३०, बुधबार | Wed, 13, May, 2026

ओली तानाशाह विरुद्ध युवा विद्रोह


  • आक्रमण न्युज
  • २०८२ आश्विन ३, शुक्रबार मा प्रकाशित ७ महिना अघि
  • २३२ पाठक संख्या
  • ओली पात्र मात्र हैनन्, प्रवृत्ति हुन् । पात्रका रूपमा उनी एक दम्भी, हठी र अहंकारी एन्टोगोनिष्ट पात्र हुन्। अनि, प्रवृत्तिका रूपमा चाहिँ ‘मैँ खाऊँ, मै लाऊँ सुख, सयल मोज मै गरूँ’ भन्ने चरम स्वार्थी प्रवृत्ति। यही नै ओली पात्र र प्रवृत्तिको मूल चरित्र हो । ओली समाधान हैनन्, समस्या हुन् । उनी जहाँ हुन्छन्, त्यहाँ समस्या हुन्छ । उनीसँग केही कुराको पनि समाधान हुँदैन, जे कुराको पनि समस्या मात्रै हुन्छ । समाधान भैसकेका विषय पनि गिजोलेर ओलीले समस्या नै बनाउँछन् । ओली भष्मासुर हुन् । उनले आफूलाई त सक्छन् नै, एमाले र सिंगो वाम आन्दोलनलाई पनि खरानी बनाएरै छोड्छन् । ओली जहाँबाट उठे, त्यही पछारिन्छन् । धर्मप्रसादको टाउको काट्ने नरसंहारबाट सुरू भएको उनको यात्रा यस्तै रगतको आहालमा नखेली टुंगिदैन । अतिवादी ओलीका लागि अहिलेलाई यति मात्र भन्न सकिन्छ, पुनः मुसिक भवः ।

    ओलीका बारेमा मैले एकपटक हैन, अनेकपटक यस्तै यस्तै लेखेँ । मेरो लेखनको यो सोच र कोण यहाँहरूबाट कति पनि लुकेको छैन । धेरैपटक लेखेको देखेर तपाईंहरूमध्ये केहीलाई अलि बढी पनि लागेकै हो । अझ केहीले त मुखै खोलेर भन्न पनि भ्याउनु भयो, ‘तपाईँले लेख्ने भनेकै ओलीको विरोध त हो ।‘ तर, मलाई भने कहिल्यै त्यस्तो लागेन । न मैले ओलीको विरोध लेखेको थिएँ, न नचाहिँदो वा बढी नै । त्यसैले धेरैजसो स्तम्भको बिट मार्दै गर्दा लेख्ने गर्थे, ‘बाँकी त समयको ऐनामा हेरौला– त्यसका लागि बाँच्नु चाहिँ पर्छ । बाँचे देखिन्छ ।‘ नभन्दै भदौ २३ गते त्यो समय आयो । समयको ऐनामा एक रक्तपिपासु तानाशाहको रूपमा ओलीले आफ्नो पूरै कद देखाए । त्यही दिन उनले जेन जी आन्दोलन दबाउने क्रममा कलकलाउँदा १९ युवाहरूको ज्यान लिए । अर्को दिन प्रतिरोधमा देशका तमाम धरोहरहरू जले, अथाह सार्वजनिक सम्पत्ति भष्म भयो । त्यसयता ७२ जनाको ज्यान गैसकेको छ ।
    मूल कारण खोज्दै जाँदा भेटिने उही हो, ओली पात्र र प्रवृत्ति । ओली भष्मासुर नै भए, पुनः मुसिक भवः नै साबित भयो । एकजना धर्मप्रसादको रगतको आहालबाट सुरू भएको उनको राजनीतिक यात्रा ७२ जना निर्दोष नेपालीको खुन खाएर लगभग सकिएको छ । प्रकारान्तरमा यस्तो दिन आएको छ, दुई तिहाइको बहुमत बनाएर सरकार प्रमुख बनेका उनी भदौ २३ यता भूमिगत छन् । भदौ २४ गते राजीनामा दिएको र त्यसपछि सुरक्षाका लागि सेनाले लगेको भनिएको छ । तर, त्यसको कुनै आधिकारिकता पुष्टि भएको छैन । उनी कहाँ छन् ? कुनै आधिकारिक जानकारी छैन । एक किसिमले भूमिगत नै छन् । भूमिगत मालेबाट सुरू भएको उनको यात्रा भूमिगत ओमालेमा पुगेर टुंगिएको छ ।
    जेनजी आन्दोलनका क्रममा ओलीका तेह्रथुम, झापा र भक्तपुरका तीनवटै घर खरानी भएका छन् । उनी चाहेर पनि अब घरमा फर्कन सक्ने अवस्थामा छैनन् । यो भनेको उनको घरबारविहीन अवस्था हो । एक किसिमले भन्दा उनी अहिले साँच्चीकै सर्वहारा भएका छन् । यो पनि पुनः मुसिक भवः को अर्को आयाम हो । के पी ओली अहिले नेपालमा सर्वथा बदनाम र अलोकप्रिय नाम हो । त्यति मात्र हैन, यो नाम मस्ट वान्टेड र सबैभन्दा असुरक्षित नाम पनि हो । भदौ २३ सम्म दुई तिहाइ बहुमतको प्रधानमन्त्री र एमालेको सर्वशक्तिमान् अध्यक्ष रहेका ओलीको नाम लिन सक्ने अवस्था नै छैन । उनको किचन क्याविनेटका सकुनीहरू नै पनि उनको नाम लिन सक्दैनन् । हुँदाहुँदा अवस्था यति नाजुक छ कि ओलीको नाम लिनु भनेको आफ्नै असुरक्षा बढाउनु हो ।
    ओलीकै कारण खरानी भएको च्यासल पार्टी कार्यालयमा उनको तस्बिर बिनाको ‘हामी फेरि उठ्नेछौ’ ब्यानर टाँगिएको छ । यो भनेको अब ओली बिनाको एमाले मात्र सम्भव हुने स्पष्ट स्वीकारोक्ति हो । हुन पनि हो, अझै ओलीसहितको एमालेको लिढेढिपी गर्ने हो एमाले बिनाकै नेपाल पनि हुन सक्छ । त्यसको छनक पाएर पनि हुन सक्छ, एमालेको तर्फबाट अहिलेसम्म आएका धारणाहरूमा ओलीको नामोनिशाना छैन । जेनजी आन्दोलनले केपी ओली मात्र सकिएनन्, उनको देवत्वकरण गरेर फाइदा लुटिरहेका एमालेका दोस्रो पुस्ताका नेताहरूको राजनीतिक भविष्य पनि लगभग सकिएको छ । हिजो ओलीको पक्षमा बोलीको फालिम लगाउनेहरू अहिले लापत्ता छन् । केहीले आत्मसमीक्षा, पश्चाताप आदि–इत्यादि भन्दै ओली बिनाको एमाले ब्राण्डको ललिपपको मिडिया ट्रायल गरिरहेको देखिन्छ । तर, त्यो ललिपपले बजारमा कुनै तेजी ल्याएको छैन । अझ, ओलीलाई नै मालिक बनाएर ‘एमाले ललिपप’को बजारीकरण गर्ने हो भने त कम्पनी नै ब्यांकक्रप्सीमा जाने निश्चित छ ।
    ओलीले आफू र एमाले मात्रै सकेनन्, सत्ता साझेदार कांग्रेस सुप्रिमो शेरबहादुर देउवा र उनको कम्पनी नेपाली कांग्रेसको पनि बातो बसाइ दिए । भुटानी शरणार्थी प्रकरणमा जोडिएकी श्रीमती आरजु जोगाउन ओलीको पाउ परेका देउवा एक वर्षपछि छैटौपटक प्रधानमन्त्री हुने मुख मिठ्याउँदै थिए । अब त्यो ‘आकाशको फल आँखा तरी मर’ मात्र भएन, बाँकी जीवन नै कसरी सुरक्षित भएर बाँच्ने भन्ने स्थितिमा पुग्यो । स्मरणीय रहोस्, बूढानीलकण्ठमा ‘जेनजी– धुलाई’ भेटेका देउवा दम्पती अहिले उपचार गराइरहेको समाचार बाहिर आएको छ । धुलाई मात्र क्यामरामा कैद छ, उपचार कैद छैन । त्यसैले यसको स्वतन्त्र पुष्टि हुन भने सकेको छैन । जेनजी आन्दोलनले कांग्रेसलाई देउवामुक्त बनाउने लगभग निश्चित छ । यद्यपि, अझै पनि कांग्रेसमा देउवाको पक्षमा नेताहरूले बोल्न छोडेका छैनन् । उनका गुटका त बोलिरहेकै छन्, विपक्षी गुटका पनि उनीमाथि भएको रामधुलाईको निन्दा गर्दै स्वास्थ्यलाभको कामना गरिरहेका छन् । तर, युवा पुस्ता भने देउवाको लिगासी बोकेर जाने पक्षमा देखिदैन । युवापुस्ताको नेतृत्व गरिरहेका पार्टी महासचिवद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने आत्मसमीक्षा र ग्लानीको भाषामा क्षमायाचना गरिरहेका छन् ।
    सत्तारूढ दुई पुराना दलका सुप्रिमो देउवा र ओली त घानमा परका छन् नै, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका सुप्रिमो प्रचण्ड पनि यो घानबाट बाहिर हुने छाँट देखिँदैन । बितेका १० वर्षमा म्युजिकल चियरजस्तै सत्ताको खेल खेलिरहेका प्रचण्ड पनि जेन्जी आन्दोलनको निशानामै छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट