
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत आज सुरु हुने भनिएको बन्द सत्र प्रतिनिधि परिचयपत्र (कार्ड) वितरण प्रक्रियामा भएको ढिलाइका कारण भोलि बिहानका लागि सारिएको छ।
महाधिवेशनस्थलमा प्रतिनिधिहरूको व्यवस्थापन तथा परिचयपत्र वितरणलाई व्यवस्थित बनाउन आवश्यक तयारी जारी रहेकाले बन्द सत्रको कार्यक्रम एक दिन पछाडि सारिएको पार्टी स्रोतले जनाएको छ।
रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसी का अनुसार हालसम्म करिब तीन हजार प्रतिनिधि परिचयपत्र छपाइ सम्पन्न भइसकेको छ। ती परिचयपत्रहरू आज साँझ ७ बजेदेखि प्रतिनिधिहरूलाई वितरण गर्न थालिएको उनले जानकारी दिए।
उनले बाँकी परिचयपत्रहरू भोलि बिहानसम्म वितरण गरिसक्ने तयारी रहेको उल्लेख गर्दै सम्पूर्ण प्रक्रिया पूरा भएपछि बन्द सत्र औपचारिक रूपमा सुरु हुने बताए।
“प्रतिनिधिहरूको परिचयपत्र वितरणलाई प्राथमिकतामा राखेर काम भइरहेको छ। भोलि बिहानबाट बन्द सत्र सुरु हुनेछ,” प्रमुख केसीले बताए।
रास्वपाको प्रथम महाधिवेशनलाई पार्टीको संगठनात्मक सुदृढीकरण, नीतिगत बहस तथा आगामी नेतृत्व चयनका दृष्टिले विशेष महत्वका साथ हेरिएको छ। चितवनमा जारी महाधिवेशनप्रति देशभरका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको विशेष चासो देखिएको छ।
महाधिवेशनको उद्घाटन सत्र भव्य रूपमा सम्पन्न भइसकेको छ भने अब बन्द सत्रमार्फत पार्टीको भावी दिशा, संगठन विस्तार तथा नीतिगत विषयमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ। प्रतिनिधिहरूको सक्रिय सहभागितासँगै महाधिवेशनले पार्टीको आगामी यात्राका लागि महत्वपूर्ण मार्गचित्र तय गर्ने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस