बागमती। मुलुकका विभिन्न जातजातिको मौलिकता संरक्षण गर्न हेटौँडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारकमा जातीय सङ्ग्रहालय निर्माण भएको छ । विश्व आदिवासी जनजाति दिवसका अवसरमा आज सहिद स्मारक विकास समितिका अध्यक्ष एवं बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले सङ्ग्रहालयको उद्घाटन गर्नुभयो ।
उहाँले सबै जातजातिका मौलिकताबारे जान्न जिज्ञासुहरूलाई सङ्ग्रहालयले योगदान गर्ने बताउनुभयो । सङ्ग्रहालयलाई अझ व्यवस्थित गरिने पनि उहाँले बताउनुभयो । आदिवासी जनजाति महासङ्घका अध्यक्ष जङ्गबहादुर गुरुङले सङ्ग्रहालयलाई सबै नेपालीको साझा गन्तव्य बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस अवसरमा जिल्ला समन्वय समितिका प्रमुख ललित घलान , हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना लामा, स्मारक विकास समितिका उपाध्यक्ष रामेश्वर राना, हेटौँडा उपमहानगरपालिका–११ का वडा अध्यक्ष जुना दाहाल, तामाङ घेदुङ सङ्घका अध्यक्ष आत्माराम तामाङलगायत वक्ताले आफ्नो मौलिक पहिचान जोगाउन आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा तामाङ र सुनुवार जातिका मौलिक नृत्य प्रस्तुत गरिएको थियो भने वनकरिया समुदायका तर्फबाट बाँसको मादल बजाइएको थियो ।
साथै, सङ्ग्रहालयको निर्माणमा सहयोग गरेका आदिवासी जनजाति संस्थालाई सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा दिइएको जानकारीअनुसार हाल सङ्ग्रहालयमा १४ जातजातिका मौलिक सामग्री राखिएका छन् भने भविष्यमा त्यहाँ २७ जातजातिका मौलिकता झल्किने मालसामान राख्ने तयारी छ । सङ्घ सरकार र सहिद स्मारकको संयुक्त लगानीमा रु चार करोडकोे लागतमा सङ्ग्रहालय निर्माण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस