आज: २०८३ श्रावण २४, आईतबार | Sun, 09, Aug, 2026

नेतृत्व र उद्यमशीलतामा विद्यार्थीलाई अब्बल बनाउँदै आरम्भ कलेजको ‘स्टुडेन्ट्स एक्सलेन्स समिट’ सम्पन्न


  • आक्रमण न्युज
  • २०८३ श्रावण २३, शनिबार मा प्रकाशित १ दिन अघि
  • ६ पाठक संख्या
  • चितवन । आरम्भ कलेज, भरतपुरले विद्यार्थीहरूको नेतृत्व क्षमता, आत्मविश्वास, व्यक्तित्व विकास तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको ‘आरम्भ स्टुडेन्ट्स एक्सलेन्स समिट’ सम्पन्न भएको छ।

    मौलाकालिकास्थित इला रिसोर्टमा शनिबार सम्पन्न समिटमा विद्यार्थीहरूलाई वित्तीय साक्षरता, व्यवस्थापन तथा योजना निर्माण, स्टार्टअप तथा उद्यमशीलता मनोविज्ञान, रणनीतिक व्यवस्थापन, आत्मविश्वास अभिवृद्धि र सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा बोल्ने कलालगायतका विषयमा व्यावहारिक प्रशिक्षण दिइएको थियो।

    पाठ्यपुस्तकमा सीमित ज्ञानभन्दा बाहिर गएर विद्यार्थीलाई वास्तविक जीवन, व्यवसाय र नेतृत्वका चुनौतीसँग परिचित गराउने उद्देश्यले समिट आयोजना गरिएको कलेजले जनाएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका अनुभवी तथा विज्ञ व्यक्तित्वहरूले विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गर्दै आफ्ना अनुभव, ज्ञान र व्यावसायिक यात्राका विषयमा जानकारी गराएका थिए।

    कार्यक्रममा नेपाली युवा उद्यमी मञ्च (NYEF) चितवन च्याप्टरकी उपाध्यक्ष सन्ध्या कँडेल, FCA निसान पौडेल र मनोज पन्तले प्रशिक्षण तथा प्रस्तुति दिएका थिए। उनीहरूले विद्यार्थीलाई उद्यमशील सोच, नेतृत्व क्षमता, वित्तीय व्यवस्थापन, रणनीतिक योजना, आत्मविश्वास तथा सार्वजनिक अभिव्यक्तिको महत्वबारे प्रशिक्षण दिएका थिए।

    समिटका क्रममा विद्यार्थीहरूले प्रशिक्षकहरूसँग विभिन्न विषयमा प्रत्यक्ष अन्तरक्रिया गर्दै आफ्ना जिज्ञासा राखेका थिए। सहभागी विद्यार्थीले नेतृत्व कसरी विकास गर्ने, व्यवसाय सुरु गर्दा अपनाउनुपर्ने रणनीति, वित्तीय व्यवस्थापन कसरी गर्ने, सार्वजनिक रूपमा आफ्ना विचार प्रभावकारी ढंगले कसरी प्रस्तुत गर्ने तथा बदलिँदो बजारमा नयाँ सम्भावनाको खोजी कसरी गर्ने भन्ने विषयमा व्यवहारिक ज्ञान हासिल गरेका थिए।

    कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले शिक्षालाई केवल कक्षाकोठाभित्रको सैद्धान्तिक ज्ञानमा सीमित नराखी विद्यार्थीलाई व्यवहारिक, सिर्जनशील र नेतृत्वदायी भूमिकाका लागि तयार पार्नु समिटको मुख्य उद्देश्य रहेको बताए।

    उनले भने, “आजका विद्यार्थी भोलिका नेतृत्वकर्ता, उद्यमी र पेशागत क्षेत्रमा प्रभाव पार्ने जनशक्ति हुन्। उनीहरूमा आत्मविश्वास, सिर्जनशील सोच, नेतृत्व क्षमता र व्यावसायिक दक्षता विकास गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्छ।”

    शिवाकोटीका अनुसार समिटले विद्यार्थीहरूमा नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, नवप्रवर्तनशील सोच र उद्यमशील संस्कार विकास गर्न थप प्रेरणा मिल्ने विश्वास कलेजले लिएको छ।

    कार्यक्रममा सहभागी विद्यार्थीहरूले समेत कलेजले कक्षाकोठाभन्दा बाहिर गएर व्यावहारिक ज्ञान र अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेको भन्दै समिट प्रभावकारी र उपयोगी भएको प्रतिक्रिया दिएका थिए।

    समिटको अन्त्यमा कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई सहभागिता प्रमाणपत्र समेत प्रदान गरिएको थियो।

    आरम्भ कलेजले पछिल्लो समय विद्यार्थीको शैक्षिक उपलब्धिसँगै नेतृत्व, व्यक्तित्व विकास, उद्यमशीलता र व्यावसायिक सीपलाई प्राथमिकता दिँदै विभिन्न अतिरिक्त क्रियाकलाप तथा प्रशिक्षणमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। कलेजका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीलाई उच्च शिक्षा तथा रोजगारीसँगै आफ्नै उद्यम सिर्जना गर्नसमेत प्रेरित गर्ने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट