आज: २०८३ कार्तिक १३, शुक्रबार | Fri, 30, Oct, 2026

नेपालि काङ्ग्रेस चुनौति र प्राथमिकता


  • आक्रमण न्युज
  • २०८३ कार्तिक १३, शुक्रबार मा प्रकाशित २ घण्टा अघि
  • ३८ पाठक संख्या
  • नेपाली कांग्रेसको महाधिवेशनबाट नेतृत्वदायी जिम्मेवारी प्राप्त गर्नुभएका सबै साथीहरूलाई बधाई दिँन चाहन्छु ! अब तपाईँहरूको प्राथमिकता के हो? पद प्राप्तिको उत्सव मनाउनु, आफ्ना गुटका साथीहरूलाई विभिन्न तहमा स्थापित गर्नु र आगामी निर्वाचनका लागि शक्ति सञ्चय गर्नु, अथवा नेपाली कांग्रेसलाई आम जनताको आशा, भरोसा र परिवर्तनको आकाङ्क्षासँग पुनः जोड्नु? महाधिवेशनले नेतृत्व चयन गरेको छ, तर जनताको विश्वास स्वतः चयन हुँदैन। पार्टीभित्र पद प्राप्त गर्नु राजनीतिक यात्राको एउटा उपलब्धि हो; जनताको मन जित्नुचाहिँ निरन्तर सङ्घर्ष, इमानदार व्यवहार र परिणाममुखी कामबाट मात्र सम्भव हुन्छ।

    त्यसैले तपाईँहरूका लागि अब चुनौतीको पहाड नै छिचोल्नुपर्ने जिम्मेवारी आएको छ। नेपाली कांग्रेसको आजको प्रमुख चुनौती पार्टीभित्रको एकता मात्र होइन। त्योभन्दा गहिरो र निर्णायक चुनौती हो—जनतासँगको सम्बन्ध र विश्वास पुनस्र्थापित गर्नु। पार्टीभित्रका नेताहरू एकै ठाउँमा बसेर मुस्कुराउन सक्छन्, हात मिलाउन सक्छन् र एकताको सन्देश दिन सक्छन्। तर ती दृश्यले मात्र जनताको मनमा विश्वास जगाउँदैनन्। जनताले खोजेको एकता भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ; प्रतिबद्धतामा होइन, परिणाममा प्रमाणित हुनुपर्छ।

    नेपाली कांग्रेसको ऐतिहासिक योगदान, लोकतन्त्रप्रतिको प्रतिबद्धता र राजनीतिक परिवर्तनमा खेलेको भूमिकालाई अस्वीकार गर्न सकिँदैन। तर इतिहासको गौरवले वर्तमानको कमजोरी सधैँ ढाक्न सक्दैन। विगतमा के गरियो भन्ने प्रश्न जति महत्त्वपूर्ण छ, आज जनताका लागि के गरिँदै छ भन्ने प्रश्न त्योभन्दा कम महत्त्वपूर्ण छैन। पुरानो योगदानको सम्मान गर्दै नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न नसक्ने पार्टी समयको गतिसँगै कमजोर बन्दै जान्छ। महाधिवेशन नेतृत्व चयन गर्ने अवसर हो,पार्टीलाई गुटहरूको सङ्ग्रहालय बनाउने अनुमति होइन।

    अब जिल्ला, क्षेत्र, पालिका र वडा तहसम्म आफ्ना गुट चम्काउने, आफ्ना मानिसलाई मात्र अवसर दिने र फरक मत राख्ने साथीहरूलाई किनारामा धकेल्ने सोचबाट मुक्त हुनुपर्छ। नेतृत्वमा पुगेपछि आफूलाई सहयोग गर्नेहरूको मात्र प्रतिनिधि होइन, सम्पूर्ण पार्टीको अभिभावक बन्न सक्नुपर्छ। महाधिवेशनको प्रतिस्पर्धामा देखिएको होडबाजी, अव्यवस्था र कतिपय प्रतिनिधिको मत छनोटमा विवेकभन्दा व्यक्तिगत आग्रह वा गुटगत प्रभाव हाबी भएको अनुभूतिले गम्भीर समीक्षा माग गर्छ। मतदाताको स्वतन्त्र विवेकमाथि प्रश्न उठाउनु सहज छ, तर त्यसको समाधान व्यक्तिलाई दोष दिनु मात्र होइन। पार्टीले प्रतिनिधि छनोटदेखि नेतृत्व चयनसम्मको प्रक्रियालाई अझ पारदर्शी, विचारमुखी र जिम्मेवार बनाउनुपर्छ।अब यही शैली जिल्ला र प्रदेशका अधिवेशनमा दोहोरिनु हुँदैन।

    नेतृत्व चयनका नाममा शक्ति प्रदर्शन, व्यक्तिगत प्रतिष्ठाको प्रतिस्पर्धा र गुटगत ध्रुवीकरणलाई प्रोत्साहन गरियो भने पार्टीको आन्तरिक लोकतन्त्र कमजोर हुनेछ। लोकतन्त्रको अभ्यास गर्ने पार्टीले आफ्नै सङ्गठन भित्र लोकतान्त्रिक संस्कारको उदाहरण प्रस्तुत गर्न सक्नुपर्छ। त्यसैले जिल्ला, क्षेत्र, पालिका र वडा तहमा नेतृत्व चयन गर्दा व्यक्तिको निकटता होइन, क्षमता; गुटप्रतिको निष्ठा होइन, विचारप्रतिको प्रतिबद्धता; आर्थिक वा राजनीतिक प्रभाव होइन, जनतासँगको सम्बन्धलाई प्राथमिकता दिनुपर्छ।

    पार्टीको जिम्मेवारी पाउनु अवसर हो, निजी सम्पत्ति होइन। सङ्गठनमा स्थान पाउनु सेवाको दायित्व हो, अरूमाथि शासन गर्ने अधिकार होइन।नयाँ कांग्रेसको आधार यही संस्कार हुनुपर्छ ! सबैलाई सुन्ने, योग्यलाई अवसर दिने, फरक विचारको सम्मान गर्ने र सामूहिक निर्णयलाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने राजनीतिक संस्कृति को विकाश गर्नु अबको आवश्यकता हो !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑