Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

यस वर्षका चाडपर्वहरू र मेरो अनुभव


  • आक्रमण न्युज
  • २०८३ कार्तिक २७, शुक्रबार मा प्रकाशित २४ मिनेट अघि
  • २ पाठक संख्या
  • चाडपर्व नेपाली समाजको जीवनशैली, संस्कृति, परम्परा र सामाजिक सद्भावका अभिन्न अङ्ग हुन्। वर्षभरिका व्यस्तता र जिम्मेवारीबाट केही समय विश्राम लिँदै परिवार, आफन्त र इष्टमित्रसँग भेटघाट गर्ने, सुखदुःख साटासाट गर्ने तथा आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने अवसर पनि हुन् चाडपर्व। तर यस वर्षका चाडपर्वहरू मेरा लागि विगतका वर्षहरूभन्दा केही फरक अनुभूतिका साथ बिते। व्यक्तिगत पारिवारिक पीडा, देशले भोग्नुपरेका प्राकृतिक विपत्ति र बदलिँदो सामाजिक परिवेशले यस वर्षका चाडपर्वमा विगतको जस्तो उमङ्ग र उल्लास ल्याउन सकेनन्।

    परार साल आमाको निधन भयो। पुहोरको वर्ष हाम्रो परिवारमा चाडपर्व मनाउने अवस्था नै रहेन। हाम्रो सामाजिक तथा पारिवारिक परम्पराअनुसार परिवारको सदस्य गुमेको वर्ष चाडपर्व मनाउने चलन पनि हुँदैन। त्यसमाथि आमाको वियोग र उहाँसँग जोडिएका असङ्ख्य सम्झनाले मन त्यसै पनि शोकाकुल थियो। यस वर्ष चाडपर्व मनाउने अवस्था त बन्यो, तर आमाको अनुपस्थितिले हरेक पर्वमा एउटा गहिरो रिक्तता महसुस भइरह्यो। घरको दियो र परिवारको बलियो खम्बाका रूपमा रहनुभएकी आमाबिना चाडपर्वको खुसी पहिले जस्तो हुँदो रहेनछ। समयसँगै मानिसले पीडा र अभावलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने रहेछ, तर आमाको सम्झना भने चाडपर्वका बेला झन् बढी ताजा हुने रहेछ।

    यस वर्ष भदौ १९ गते हरितालिका तीज परेको थियो। आमाको अनुपस्थितिमा त्यसै पनि मनमा उत्साह कम थियो। त्यसमाथि भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले रसुवा–केरुङ नाका, बेत्रावती र त्रिशूली बजारलगायतका क्षेत्रमा ठूलो विनाश निम्त्यायो। सडक, पुल, विद्युत् संरचना र निजी सम्पत्तिमा व्यापक क्षति पुग्यो। धेरै मानिस विस्थापित भए भने कतिपयले आफन्त र सम्पत्तिसमेत गुमाउनुपर्‍यो। देशका विभिन्न क्षेत्रमा आएको विपत्तिले सिर्जना गरेको यस्तो दुःखद परिस्थितिमा चाडपर्वको उल्लास स्वाभाविक रूपमा खुम्चियो। विगतका वर्षहरूमा तीजका नाममा महिनौँअघिदेखि हुने भोजभतेर र दरका कार्यक्रम पनि यसपटक तुलनात्मक रूपमा कम देखिए। यसले चाडपर्वलाई भड्किलो बनाउने प्रवृत्तिमा केही कमी आउनु सकारात्मक पक्ष पनि रहेछ भन्ने अनुभूति गरायो।

    यस वर्ष जेठ महिनामा मलमास परेकाले दशैँलगायतका चाडपर्व केही ढिलो भए। असोजमा पर्ने दशैँ यसपटक कात्तिक ४ गते मनाइयो। भोटेकोशीको बाढीपछि कालीगण्डकी र बूढीगण्डकीलगायतका नदीमा आएका बाढी तथा भीषण वर्षाले देशका विभिन्न भागमा थप क्षति पुर्‍यायो। सडक, पुल, विद्युत् संरचना र जनधनको क्षतिले जनजीवन प्रभावित बन्यो। यस्तो राष्ट्रिय पीडाको अवस्थामा दशैँको उल्लास पनि पहिले जस्तो हुन सकेन।

    मेरो आफ्नै पारिवारिक अवस्था पनि त्यस्तै थियो। आमाको अभाव त छँदै थियो, दिदीबहिनीहरू पनि सबै एकै ठाउँमा भेला हुन सकेनन्। भाइ, बुहारी र छोराछोरीसमेत बाहिर रहेका कारण घरपरिवारको जमघट पहिलेको जस्तो भएन। तथापि नातागोता र इष्टमित्रसँग भेटघाट, टीका र आशीर्वाद आदानप्रदान गर्ने परम्परालाई निरन्तरता दिइयो। बुवा बर्दघाटमा रहनुभएकाले उहाँको हातबाट टीका लगाउन त्यहाँ पुगेँ। यसरी खुसी, सम्झना, पीडा र पारिवारिक अभावका मिश्रित अनुभूतिबीच यस वर्षको दशैँ बित्यो। चाडपर्वको मौलिकता र पारिवारिक आत्मीयता कायम राख्ने प्रयास भने निरन्तर रह्यो।

    कात्तिक २५ गते परेको तिहार पनि केही अपूर्ण अनुभूतिका साथ बित्यो। बाढीपहिरोबाट प्रभावित परिवारको पीडा र आमाको अनुपस्थितिले मनमा पहिलेदेखि नै गहिरो प्रभाव पारेको थियो। दिदी विदेशमा हुनुहुन्थ्यो भने माइली बहिनीको हातबाट भाइटीका लगाएँ।

    कान्छी बहिनी काठमाडौँबाट आउन खोजेकी थिइन्। भेटघाट होस् भन्ने मेरो आग्रहमा  उनी आएकी पनि थिइन् तर  घोप्टेभीरमा ठूलो पहिरो खसेर सवारी आवागमन अवरुद्ध हुँदा दिनभरि बाटोमै रोकिएर अन्ततः बेलुका काठमाडौँ नै फर्कनुपर्‍यो। यस घटनाले पनि यस वर्षको तिहारलाई मेरा लागि केही खल्लो बनायो। तथापि परिवारका सदस्यबीचको आत्मीयता र भेटघाटको चाहना नै चाडपर्वको वास्तविक सुन्दरता रहेछ भन्ने अनुभूति भयो।

    हाम्रा चाडपर्वहरू केवल धार्मिक अनुष्ठान मात्र होइनन्, यी हाम्रो पहिचान, मौलिकता र सामाजिक एकताका आधार पनि हुन्। त्यसैले यिनको संरक्षण र निरन्तरता दिनु हाम्रो साझा दायित्व हो। तर पछिल्लो समय चाडपर्व मनाउने शैलीमा केही परिवर्तन आएको देखिन्छ। अनावश्यक तडकभडक, महँगा उपहार, देखावटी खर्च र क्षमताभन्दा बढी खर्च गर्ने प्रवृत्तिले चाडपर्वलाई क्रमशः खर्चिलो बनाउँदै लगेको छ।

    आर्थिक रूपमा कमजोर परिवारलाई समेत सामाजिक प्रतिष्ठा र छोराछोरीको चाहना पूरा गर्न कठिन भइरहेको छ। यस्तो अवस्थामा चाडपर्वको वास्तविक महत्त्व खर्च र प्रदर्शनमा होइन, आपसी सद्भाव, आत्मीयता र संस्कृतिको निरन्तरतामा छ भन्ने कुरा बुझ्न आवश्यक छ।

    त्यस्तै, तिहारमा खेलिने देउसीभैलो हाम्रो मौलिक सांस्कृतिक सम्पदा हो। यसका परम्परागत भाका, गीत, नृत्य र सामूहिक सहभागिताले समाजमा सद्भाव र मनोरञ्जनको वातावरण सिर्जना गर्थे। तर पछिल्लो समय केही ठाउँमा देउसीभैलोका नाममा अत्यधिक रकम माग्ने, दानदक्षिणालाई प्रतिष्ठासँग जोड्ने, जाँडरक्सी सेवन गर्ने, पटाका पड्काउने, सवारीसाधनमा अनावश्यक ध्वनि निकाल्ने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने प्रवृत्ति देखिनु चिन्ताको विषय हो। यसले चाडपर्वको वास्तविक मर्मलाई ओझेलमा पार्न सक्छ। त्यसैले यस्ता गतिविधिलाई निरुत्साहित गर्दै देउसीभैलोको मौलिकता र सांस्कृतिक गरिमा जोगाउनु आवश्यक छ।

    अर्कोतर्फ, चाडपर्वका बेला विदेशी वस्तु तथा उपभोग्य सामग्रीको प्रयोग बढ्दै जानु र अनावश्यक खरिदमा ठूलो रकम खर्चिनुले देशको अर्थतन्त्रमा पनि प्रभाव पार्छ। सकेसम्म स्वदेशी उत्पादनलाई प्राथमिकता दिने, स्थानीय वस्तुको प्रयोग बढाउने र आवश्यकताअनुसार मात्र खर्च गर्ने संस्कार विकास गर्न सके चाडपर्वले हाम्रो संस्कृति मात्र होइन, राष्ट्रिय अर्थतन्त्रलाई समेत सहयोग पुर्‍याउन सक्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑