
चितवन । प्रशासनिक प्रक्रियामा देखिएको झमेलाका कारण पूर्वनिर्धारित मिति मंसिर २ गतेदेखि सञ्चालन गर्ने भनिएको नारायणी महोत्सव केही समयका लागि स्थगित भएपछि अब मंसिर ३ गतेदेखि सञ्चालन हुने भएको छ।


महोत्सवका आयोजकले पुनः प्रशासनबाट आवश्यक सिफारिस प्राप्त भइसकेको जानकारी दिँदै मंसिर ३ गतेदेखि १८ गतेसम्म महोत्सव सञ्चालन गर्ने घोषणा गरेका छन्।
रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रा.लि., नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनको संयुक्त आयोजनामा हुन लागेको महोत्सवको मिति संशोधनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले उक्त जानकारी दिएका हुन्।
आयोजकका अनुसार महोत्सव सञ्चालनका लागि आवश्यक प्रशासनिक प्रक्रिया तथा समन्वयमा केही ढिलाइ भएपछि पूर्वनिर्धारित मिति संशोधन गर्नुपरेको हो। प्रशासनबाट पुनः आवश्यक सिफारिस प्राप्त भएपछि महोत्सव सञ्चालनको बाटो खुलेको आयोजकले जनाएको छ।
महोत्सवको मिति एक दिन पछाडि सार्नुको मुख्य उद्देश्य आयोजनास्थलमा आवश्यक भौतिक पूर्वाधार निर्माण, स्टल तथा प्रदर्शनी व्यवस्थापन, विद्युत्, खानेपानी, सरसफाइ, सुरक्षा र दर्शकहरूको सहज आवागमनलगायतका व्यवस्थापनलाई थप प्रभावकारी बनाउनु रहेको आयोजकको भनाइ छ।
त्यसैगरी, सम्बन्धित सरकारी निकाय, सुरक्षा संयन्त्र तथा सरोकारवाला संघसंस्थासँग आवश्यक समन्वय गरी महोत्सवलाई सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ। हतारमा कार्यक्रम सञ्चालन गर्नुभन्दा सम्पूर्ण तयारी पूरा गरी दर्शक, सहभागी, व्यवसायी तथा प्रदर्शकलाई गुणस्तरीय वातावरण उपलब्ध गराउनु आयोजकको प्राथमिकता रहेको छ।
नारायणी नदी किनारको पुनःस्थापना तथा सौन्दर्यीकरण, स्थानीय कला, संस्कृति र परम्पराको प्रवर्द्धन, पर्यटन विकास, स्थानीय उत्पादन तथा उद्यमशीलताको बजारीकरण र आर्थिक गतिविधिलाई प्रोत्साहन गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ।
महोत्सवमा स्थानीय उत्पादन, व्यापारिक स्टल, विभिन्न सामग्रीको प्रदर्शनी तथा मनोरञ्जनात्मक कार्यक्रममार्फत दर्शकलाई आकर्षित गर्ने लक्ष्य राखिएको छ। यसले स्थानीय व्यवसायी, उद्यमी, कलाकार तथा पर्यटन क्षेत्रसँग आबद्ध व्यक्तिहरूलाई आफ्नो उत्पादन, प्रतिभा र व्यवसाय प्रवर्द्धन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
मिति संशोधनका कारण पर्न गएको असुविधाप्रति आयोजकले व्यवसायी, प्रदर्शक, कलाकार, दर्शक तथा शुभेच्छुकहरूसँग क्षमायाचना गर्दै सबैको साथ, सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।
महोत्सवलाई सफल बनाउन सहयोग, सद्भाव र सहकार्य प्रदान गर्ने स्थानीय सरकार, प्रशासन, सुरक्षा निकाय, सामाजिक संघसंस्था, व्यवसायी, सञ्चारकर्मी तथा सम्पूर्ण शुभेच्छुकप्रति आयोजकले आभार व्यक्त गरेको छ।
नारायणी महोत्सव मंसिर ३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने भएकाले आयोजकले सम्पूर्ण चितवनवासी तथा देशभरका दर्शकलाई महोत्सवमा सहभागी हुन आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस