
ढल्केबर । सङ्घीय सरकारका स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मङ्गलबार जनकपुरमा मधेश प्रदेश सरकारद्वारा सञ्चालित विभिन्न स्वास्थ्य निकायको अवलोकन गर्नुभएको छ । उहाँले जनकपुरस्थित प्रादेशिक अस्पताल, रक्तसञ्चार सेवा केन्द्र र औषधि आपूर्ति कार्यालयको अवलोकन गर्नुभएको हो ।



अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री मेहताले स्वास्थ्य क्षेत्रको सेवा प्रवाहमा सुधार ल्याउन अवलोकन गरिएको बताउनुभयो । प्रादेशिक अस्पतालमा सेवा प्रवाह र सरसफाइमा कमीकमजोरी देखिएको अस्पताल प्रशासनसँग यस विषयमा छलफल भएको जानकारी भयो । मन्त्री मेहताले अस्पतालको सेवा सुधारका लागि सङ्घीय सरकारका तर्फबाट आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै अस्पताल व्यवस्थापनले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने जानकारी दिनुभयो ।
यसैगरी, अस्पतालको सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटर सेवा विस्तारको तयारी भइरहेको बताउनुभयो । उहाँका अनुसार हाल अस्पतालमा १० वटा आईसीयू शैय्या सञ्चालनमा छन् भने थप २० वटा शैय्या विस्तार गर्ने तयारी भइरहेको छ । सेवा विस्तार भएपछि गम्भीर प्रकृतिका बिरामीको उपचारमा सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
अस्पतालमा उपचारका क्रममा स्वास्थ्यकर्मीमाथि हुने हातपात तथा दुव्र्यवहारका घटनाबारे उठेको प्रश्नमा मन्त्री मेहताले स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानुनमा सुधार गर्न प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी ऐन निर्माणको विषय सदनसम्म पुगिसकेको उल्लेख गर्दै उहाँले कानुन निर्माण भएपछि स्वास्थ्यकर्मीमाथि हुने दुव्र्यवहार रोकिने बताउनुभयो ।
प्रादेशिक अस्पताल जनकपुरका निर्देशक जामुनप्रसाद सिंहले मन्त्री मेहताले प्रादेशिक अस्पतालको आकस्मिक कक्ष, प्रसूति कक्ष र प्रयोगशालाको अवलोकन गर्नुभएको बताउनुभयो । उहाँले अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र सञ्चालन गर्ने विषयमा समेत छलफल भएको बताउँदैे अस्पताल परिसरभित्र इन्डोर भवन निर्माणका लागि प्रस्ताव गरिएको जानकारी दिनुभयो । अवलोकनका क्रममा मन्त्री मेहतासँगै धनुषा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य राजकिशोर महतोको समेत सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस