
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८२/८३ मा तलब, बैठक भत्ता तथा अन्य सुविधाबापत ४६ लाख ४८ हजार ९५६ रुपैयाँ बुझेका छन्। तर, राष्ट्र बैंकका पदाधिकारीमध्ये सबैभन्दा बढी रकम डेपुटी गभर्नर श्री किरण पण्डितको नाममा देखिएको छ। उनले एक वर्षमा कुल ६१ लाख ९८ हजार ९९५ रुपैयाँ प्राप्त गरेका छन्।


नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार गभर्नर पौडेलले तलबबापत १६ लाख ३२ हजार रुपैयाँ, सञ्चालक समितिको बैठक भत्ताबापत ५ लाख ६७ हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधाबापत २४ लाख ४९ हजार ९५६ रुपैयाँ बुझेका हुन्।
राष्ट्र बैंकको सञ्चालक समितिका सदस्यले प्रतिबैठक ९ हजार रुपैयाँ बैठक भत्ता पाउने व्यवस्था छ। कार्यकारी सञ्चालक अर्थात् गभर्नर र डेपुटी गभर्नरले तलबसँगै विभिन्न शीर्षकका भत्ता तथा सुविधा प्राप्त गर्छन्। उनीहरूले इन्धन, सवारी मर्मत, टेलिफोन, पत्रपत्रिका, इन्टरनेट, चालक सेवा र औषधोपचारलगायतका सुविधा पनि पाउने व्यवस्था छ।
राष्ट्र बैंकको सञ्चालक समितिका पदाधिकारीमध्ये सबैभन्दा बढी रकम डेपुटी गभर्नर श्री किरण पण्डितले प्राप्त गरेका छन्।
गत चैत २४ गते डेपुटी गभर्नर नियुक्त भएका पण्डितले कार्यकारी निर्देशकका रूपमा काम गरेको अवधिको तलब तथा सुविधासमेत जोड्दा कुल ६१ लाख ९८ हजार ९९५ रुपैयाँ बुझेका हुन्।
उनले तलबबापत १३ लाख ६५ हजार ५८० रुपैयाँ, बैठक भत्ताबापत २ लाख २५ हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधाबापत ४६ लाख ८ हजार ४१५ रुपैयाँ प्राप्त गरेका छन्।
त्यस्तै, २०८२ फागुन २५ गते कार्यकाल पूरा गरी बिदा भएका निवर्तमान डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना (तिम्सिना) र श्री बमबहादुर मिश्रले आंशिक कार्यकालको अवधिमा क्रमशः ५४ लाख १८ हजार ९७१ रुपैयाँ र ५१ लाख १६ हजार ७७१ रुपैयाँ प्राप्त गरेका छन्।
राष्ट्र बैंकका गैरकार्यकारी सञ्चालक तथा पदेन सदस्यका रूपमा रहने अर्थ सचिवले नियमित तलब नलिए पनि बैठक भत्ता र अन्य सुविधाबापत रकम प्राप्त गरेका छन्।
प्रतिवेदनअनुसार डा. रवीन्द्रप्रसाद पाण्डेले बैठक भत्ताबापत ५ लाख ७६ हजार रुपैयाँ र अन्य सुविधाबापत २३ लाख ३५ हजार २०१ रुपैयाँ गरी कुल २९ लाख ११ हजार २०१ रुपैयाँ बुझेका छन्।
त्यस्तै, सञ्चालक चिन्तामणि शिवाकोटीले बैठक भत्ताबापत ५ लाख ४९ हजार रुपैयाँ र अन्य सुविधाबापत १८ लाख ९७ हजार ९६९ रुपैयाँ गरी कुल २४ लाख ४६ हजार ९६९ रुपैयाँ प्राप्त गरेका छन्।
अर्का सञ्चालक शंकरप्रसाद आचार्यले बैठक भत्ताबापत ४ लाख ५९ हजार रुपैयाँ र अन्य सुविधाबापत १८ लाख २४ हजार ८१३ रुपैयाँ गरी कुल २२ लाख ८३ हजार ८१३ रुपैयाँ बुझेका छन्।
अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने अर्थसचिव डा. घनश्याम उपाध्यायले बैठक भत्ताबापत ५ लाख ४० हजार रुपैयाँ र अन्य सुविधाबापत ३ लाख ४८ हजार १२० रुपैयाँ गरी कुल ८ लाख ८८ हजार १२० रुपैयाँ प्राप्त गरेका छन्।
राष्ट्र बैंकको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक समितिका आठ जना पदाधिकारीलाई तलब, बैठक भत्ता र अन्य सुविधाबापत कुल २ करोड ९९ लाख १३ हजार ७९७ रुपैयाँ खर्च भएको छ।
उक्त रकममध्ये तलबबापत ४८ लाख ९६ हजार १०० रुपैयाँ, बैठक भत्ताबापत ३४ लाख २० हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधाबापत २ करोड १५ लाख ९७ हजार ६९७ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ।
समीक्षा अवधिमा राष्ट्र बैंक सञ्चालक समितिको बैठक ६४ पटक बसेको थियो।
त्यस्तै, सञ्चालक समितिका सदस्य तथा विशिष्ट श्रेणीका अधिकृत (कार्यकारी निर्देशक) समेत समेटिने मुख्य व्यवस्थापन पदाधिकारीहरूको समग्र पारिश्रमिकमा २० करोड ५५ लाख ११ हजार रुपैयाँ खर्च भएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ।
राष्ट्र बैंकका उच्च पदाधिकारीको तलब, भत्ता र सुविधासम्बन्धी सार्वजनिक विवरणले केन्द्रीय बैंकको प्रशासनिक तथा सञ्चालन खर्चबारे चासो बढाएको छ।


प्रतिक्रिया दिनुहोस