Follow

Subscribe to notifications
आज: २०८३ मंसिर २, बुधबार | Wed, 18, Nov, 2026

डेढ वर्षभित्र देशभर १ हजार ६०० टावर थपिने, सञ्चार पहुँचबाट कोही वञ्चित हुँदैनन् : मन्त्री तिमिल्सिना


  • आक्रमण न्युज
  • २०८३ मंसिर २, बुधबार मा प्रकाशित ८ घण्टा अघि
  • ४२ पाठक संख्या
  • काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशका कुनै पनि नागरिकलाई टेलिफोन तथा इन्टरनेट सेवाको पहुँचबाट वञ्चित हुन नदिने सरकारको प्रतिबद्धता व्यक्त गरेका छन्।

    सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका विभिन्न बस्ती, जुगल हिमाल तथा आधार शिविर क्षेत्रमा सञ्चार सेवा विस्तारको माग गर्दै मन्त्रालय पुगेका जनप्रतिनिधि र स्थानीय युवासँगको छलफलमा मन्त्री तिमिल्सिनाले मानव बस्ती भएका सबै क्षेत्रमा दूरसञ्चार सेवा पुर्‍याउने गरी सरकार अघि बढिरहेको बताए।

    उनका अनुसार आगामी डेढ वर्षभित्र देशभर नेपाल टेलिकमका थप १ हजार ६०० टेलिफोन टावर निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ। यसका लागि करिब १२ अर्ब रुपैयाँ बराबरको ठेक्का प्रक्रिया अगाडि बढिसकेको र निर्धारित समयभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

    छलफलमा काठमाडौं क्षेत्र नं. १० का प्रतिनिधिसभा सदस्य प्रदीप विष्ट, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) तथा जुगलका स्थानीय युवाहरूको सहभागिता थियो।

    सो अवसरमा सांसद विष्टले काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तर कमजोर रहेको गुनासो बढ्दै गएको उल्लेख गर्दै दुर्गम तथा हिमाली क्षेत्रमा सञ्चार सेवाको पहुँच र गुणस्तर सुधार गर्न सरकारको ध्यानाकर्षण गराए।

    जवाफमा मन्त्री तिमिल्सिनाले दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधार सरकारको प्राथमिकतामा रहेको स्पष्ट पारे। उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै नयाँ पूर्वाधार निर्माणलाई तीव्रता दिइएको र ग्रामीण दूरसञ्चार विकास कोषको रकमसमेत परिचालन गरेर देशभर सेवा विस्तार भइरहेको उनले जानकारी दिए।

    मन्त्री तिमिल्सिनाले टेलिफोन टावर निर्माणमा बजेट अभावभन्दा पनि प्रक्रियागत जटिलता र निर्धारित समयमा काम सम्पन्न गर्न नसक्ने प्रवृत्ति मुख्य चुनौतीका रूपमा रहेको बताए।

    उनले नागरिकका गुनासो तत्काल सम्बोधन गर्न मन्त्रालय तथा मातहतका निकायलाई निर्देशनसमेत दिए।

    ‘जहाँबाट गुनासो आएको छ, त्यहाँ तत्काल समस्या समाधान हुनुपर्छ। टावर थप्ने, क्षमता बढाउनेलगायत जे काम गरेर समस्या समाधान हुन्छ, तत्काल गर्नुहोला,’ उनले निर्देशन दिँदै भने।

    विद्युत् सुविधा नपुगेका क्षेत्रमा उच्च क्षमताका सौर्य ऊर्जा प्रणाली र ब्याट्रीको व्यवस्था गरेर टावर सञ्चालन गर्न पनि उनले निर्देशन दिए। सञ्चालनमा रहेका टावरले पूर्ण क्षमतामा सेवा दिइरहेका छन् वा छैनन् भन्ने विषयमा नियमित निरीक्षण गर्न र समस्या देखिएका स्थानमा तत्काल क्षमता वृद्धि गर्नुपर्ने उनको भनाइ थियो।

    छलफलका क्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीले जुगल गाउँपालिकामा तत्काल प्राविधिक टोली पठाएर सञ्चार सेवाको अवस्थाबारे स्थलगत अध्ययन गरिने जानकारी दिइन्।

    प्राविधिक समस्या पहिचान गरी आवश्यक सुधारका काम अघि बढाइने उल्लेख गर्दै उनले टावर निर्माण तथा सेवा विस्तारमा स्थानीय तहबाट समेत सहयोगको अपेक्षा गरिएको बताइन्।

    स्थानीय युवाहरूले जुगल हिमाल, जुगल भ्यु पोइन्ट तथा आधार शिविर क्षेत्रमा मोबाइल नेटवर्क र इन्टरनेट सेवा विस्तार गर्न माग गरेका छन्। उनीहरूले गाउँपालिकाका विभिन्न बस्तीमा गुणस्तरीय फोरजी सेवा सुनिश्चित गर्नसमेत आग्रह गरेका छन्।

    जुगल गाउँपालिकाले ‘जुगल भ्रमण वर्ष २०८३’ सञ्चालन गरिरहेको अवस्थामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गए पनि सञ्चार सुविधाको अभाव प्रमुख चुनौती बनेको स्थानीय युवाहरूको भनाइ छ।

    उनीहरूले मेलम्ची डाँडामा रहेको टेलिफोन टावरको प्राविधिक क्षमता वृद्धि तथा मर्मत गरी गुणस्तरीय फोरजी सेवा सञ्चालन गर्न र पाङ्ग्रेप डाँडामा रहेको टावर मर्मत गरेर पुनः सञ्चालनमा ल्याउन माग गरेका छन्।

    त्यस्तै, समुद्री सतहदेखि करिब ४ हजार ५०० मिटर उचाइमा रहेको जुगल भ्यु पोइन्ट तथा आधार शिविरसम्म मोबाइल नेटवर्क र इन्टरनेट सेवा पुर्‍याउन उपयुक्त स्थानमा नयाँ टावर स्थापना गर्नुपर्ने उनीहरूको माग छ।

    बोल्दे, गुम्बा, क्याङसिङ, अम्बाखर्क, तेम्बाथान र दिप्पुङलगायतका बस्तीमा भरपर्दो मोबाइल तथा इन्टरनेट सेवा सुनिश्चित गर्नसमेत स्थानीय युवाहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

    दुर्गम बस्तीमा सञ्चार सेवा विस्तारसँगै पर्यटकीय क्षेत्रलाई डिजिटल पहुँचमा जोड्न सके स्थानीय पर्यटन, आर्थिक गतिविधि र नागरिकको दैनिक जीवनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑