
काठमाडौँ । नेपालमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव देखिएको छ। यसको प्रभावले देशका केही हिमाली क्षेत्रमा आंशिक बदली भएको छ भने तराई, उपत्यका तथा खोँचका अधिकांश स्थानमा तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको छ। तराईका विभिन्न स्थान, उपत्यका र खोँचहरूमा भने तुवाँलोको प्रभाव देखिएको छ।
आज दिउँसो कोशी र मधेस प्रदेशका अधिकांश भूभागमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
त्यस्तै, आज राति कोशी र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ भने अन्य प्रदेशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
शुक्रबार दिउँसो पनि कोशी र मधेस प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
पश्चिमी वायु र चक्रवातको आंशिक प्रभावका कारण मौसममा सामान्य उतारचढाव देखिए पनि तत्काल देशभर वर्षा हुने संकेत भने पूर्वानुमानमा उल्लेख गरिएको छैन।


प्रतिक्रिया दिनुहोस