
वेत्रावती । गत भदौमा आएको विनाशकारी बाढीले नुवाकोट र रसुवाको सिमानामा रहेको वेत्रावतीको प्राकृतिक सौन्दर्य, उर्वर खेत र स्थानीयको जीविकोपार्जनको आधार तहसनहस बनायो। कुनै समय धानका बाला झुल्ने, तोरीका फूलले पहेँलपुर देखिने र माघेसङ्क्रान्तिमा गोरु जुधाउने परम्पराले चर्चित वेत्रावती अहिले बगर र भग्नावशेषमा परिणत भएको छ। तर, विपत्तिले सर्वस्व गुमाएका वेत्रावतीवासीको मनोबल भने अझै ढलेको छैन। उजाडिएको बस्तीमा फेरि जीवन फर्काउने आशासहित उनीहरू पुनः उठ्ने प्रयासमा जुटिरहेका छन्।


फलाँखु खोला र त्रिशूली नदीको सङ्गमस्थलमा अवस्थित वेत्रावतीको पहिचान यहाँका उर्वर फाँट र कृषि उत्पादनसँग जोडिएको थियो। नुवाकोटको विदुर नगरपालिका र रसुवाको उत्तरगया गाउँपालिकामा फैलिएका सातबिसे र सतरे फाँट स्थानीयका लागि खेतीयोग्य जमिन मात्र नभई पुस्तौँदेखि जोडिएको जीवनशैली, संस्कृति र समृद्धिको आधार थिए।
मध्य कात्तिकदेखि मङ्सिरसम्म धान काट्ने, झार्ने र दाइँ गर्ने चटारोले यहाँका खेतबारी गुल्जार हुन्थे। त्रिशूली र फलाँखुको पानीले सिञ्चित खेतमा वर्षमा दुई बाली धान उत्पादन हुन्थ्यो। धान भित्र्याएपछि छरिने तोरीले मङ्सिरमा फाँट पहेँलपुर बनाउँथ्यो। यही फाँटमा माघेसङ्क्रान्तिका अवसरमा आयोजना हुने परम्परागत गोरु जुधाइ मेलाले वेत्रावतीलाई थप परिचित बनाएको थियो।
कृषि उत्पादनसँगै यहाँको होटल तथा आतिथ्य व्यवसाय पनि फस्टाएको थियो। स्थानीय उत्पादनबाट तयार पारिएका स्वादिला परिकार खुवाउने करिब एक दर्जन होटल सञ्चालनमा थिए। तर, गत भदौको बाढीले खेतबारी, घर, होटल र व्यवसाय मात्र बगाएन, धेरै परिवारको जीवनयापनको आधारसमेत समाप्त पारिदियो।
बाढीले पुर्याएको क्षतिको पीडा स्थानीय राजेन्द्रकुमार डङ्गोलको परिवारमा झनै भयावह बनेर आयो। त्रिशूली नदीबाट करिब पाँच सय मिटर टाढा रहेको उहाँको घर सुरक्षित ठानिएको थियो। तर, बाढीको भेल फलाँखु खोलातर्फ उर्लिएपछि उहाँले परिवारका १० जना सदस्य गुमाउनुपर्यो।
पेसाले स्कुल बस चालक रहेका राजेन्द्र विद्यालयका बालबालिका लिन उत्तरगया गएका कारण बाँच्न सफल हुनुभयो। तर, फर्किंदा उहाँको परिवार र संसार दुवै उजाडिइसकेको थियो।
एक वर्षअघिसम्म सातबिसे फाँटमा धान झारेर परालको कुन्यु लगाएको दृश्य उहाँको सम्झनामा अझै ताजै छ। “दैवले हाम्रो सर्वस्व नखोसेको भए यतिबेला हामी तोरी छरिरहेका हुनेथियौँ,” उहाँ भावुक हुँदै भन्नुहुन्छ।
अहिले आफन्तका घरमा आलोपालो आश्रय लिइरहेका राजेन्द्र दिनहुँजसो वेत्रावती पुग्नुहुन्छ। आफ्नो घर रहेको भग्नावशेष हेर्नुहुन्छ र भेटिएका आफन्त तथा छिमेकीसँग मनको पीडा साट्नुहुन्छ। यति ठूलो विपत्ति भोगे पनि उहाँलाई आफ्नो थातथलो छाडेर अन्यत्र बस्न मन छैन। बरु त्यही ठाउँमा फर्किएर घर बनाउने र खेतीपाती गर्ने उहाँको चाहना छ।
“परिवारका सबैलाई लग्यो, अब म एक्लोलाई लगे पनि के फरक पर्छ र ?” उहाँको यो भनाइले बाढीले निम्त्याएको पीडाको गहिराइ प्रस्ट पार्छ।
रसुवाको उत्तरगया–५ का सुमन रानामगरको पीडा पनि कम छैन। बाढीमा परिवार, आफन्त र पुस्तौँदेखि भोगचलन गर्दै आएको पुख्र्यौली खेत गुमाएका उहाँलाई हिजोको समृद्ध वेत्रावती अहिले सपनाजस्तै लाग्छ।
“मुरीका मुरी धान फल्ने, तोरीले पहेँलपुर हुने र गोरु जुधाइका लागि प्रख्यात सातबिसे र सतरे फाँटको अहिले नामनिसान मेटिने अवस्था आएको छ,” उहाँ दुःख व्यक्त गर्नुहुन्छ।
वेत्रावती ससुराली भएका कपिल पाण्डे पनि यहाँको बदलिएको स्वरूप देखेर मर्माहत हुनुहुन्छ। पहिले हरियाली र चहलपहलले भरिएको गाउँमा आउँदा देखिने रौनक अहिले भग्नावशेषमा बदलिएको उहाँको अनुभव छ।
विनाशले थिलथिलो बनाएको वेत्रावतीमा पुनःस्थापनाको आशा भने जीवितै छ। कतिपय स्थानीय पुरिएका घर पन्छाएर पुनः होटल सञ्चालन गर्ने तयारीमा छन् भने केही जोखिम क्षेत्रभन्दा माथि सरेर व्यापार व्यवसाय सुरु गर्ने योजनामा जुटेका छन्।
बाढीबाट ३५ करोड रुपियाँभन्दा बढीको क्षति बेहोर्नुभएका दिनेश अधिकारी पनि पुनः किराना व्यवसाय सञ्चालन गर्ने योजनामा हुनुहुन्छ। उहाँका अनुसार सरकारले आवश्यक पूर्वाधार निर्माण, नदीको गहिराइ व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि प्रभावकारी पहल गरे वेत्रावतीलाई पुरानै अवस्थामा फर्काउन सकिनेछ।
त्रिशूलीको बगरमा फेरि पहेँलपुर तोरी फुल्ने, खेतबारीमा हरियाली छाउने र बजारमा पुरानै चहलपहल फर्किने विश्वास स्थानीयले अझै गुमाएका छैनन्। तर, त्यसका लागि सरकारी सहयोग, सुरक्षित पुनर्निर्माण र दीर्घकालीन योजना आवश्यक रहेको उनीहरूको भनाइ छ।
जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरीले विपत्तिपछि पहिलो चरणमा राहत तथा उद्धारका काममा सरकारी संयन्त्र परिचालन गरिएको र अब पुनर्निर्माण तथा जीविकोपार्जनलाई प्राथमिकतामा राखेर काम अघि बढाइने बताउनुभयो।
प्रभावित नागरिकलाई पुरानै अवस्थामा फर्काउन मनोसामाजिक परामर्श, पुनर्निर्माण तथा जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्न सरकारी र गैरसरकारी निकायबीच समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो।
वेत्रावतीले आफ्नो उर्वर भूमि, ऐतिहासिक पहिचान र धेरै नागरिक गुमाएको छ। तर, स्थानीयको मनमा आफ्नो जन्मभूमि फेरि हराभरा बनाउने सपना अझै बाँकी छ। बाढीले बस्ती उजाडे पनि आशा र आत्मविश्वास बगाउन सकेको छैन। त्यसैले वेत्रावतीवासी आज पनि यही अठोटमा छन्—उजाडिएको बगरमा फेरि जीवन फुलाउने।


प्रतिक्रिया दिनुहोस